१ फागुन २०८१, बिहिबार

सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल

२०८१ साउन २८, सोमबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल

काठमाडौं : सहकारी समन्वय सञ्जालको ५३औं बैठक राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को व्यवस्थापनमा काठमाडौंमा भएको बैठकले सहकारीका समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा सरोकारवालाहरुको भूमिका, सहकारी सम्बन्धी छलफल एवं भावी दिशानिर्देशन, सकारीका सवाल सम्बन्धी नीति संवादको आयोजनाको बारेमा छलफल गरी निर्णय गरेको छ ।

त्रैमासिक रुपमा बस्ने बैठकमा राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले सञ्जालको पृष्ठभूमिसँगै अघिल्ला बैठकहरुको प्रगति समीक्षा गरेका थिए ।

बैठकमा महासंघकी अध्यक्ष मल्लले केही सहकारीमा समस्या आएपनि प्रचार गरिएजस्तो क्षेत्र नै संकटमा परेको वा सबैनै नराम्रो नभएको दाबी गरिन् । अध्यक्ष मल्लले भनिन्, ‘नकारात्मक भाष्य चिर्न पनि यो सञ्जालको उपादेयता हुनसक्छ किनकि हामी सबैले आ-आफ्नो क्षेत्र र जिम्मेवारीबाट सहकारीका सम्बन्धमा गलत प्रचारबाजीहरु चिर्न सक्छौं र त्यसको प्रयास सबैले गर्नुपर्छ । धेरै सहकारीले गरेका धेरै राम्रा कामहरु ओझेलमा पारिएको छ । नेफ्स्कूनले आज गरेको प्रस्तुतीकरणबाट पनि सहकारी क्षेत्रको योगदान प्रष्ट भएको छ ।’

मल्लले सहकारी अभियानका विद्यमान चुनौतीहरु, समस्याहरु र अबको दिशाबोधका लागि सहज हुने दृष्टिले मुख्य सरोकारवालाहरुको बृहत् सहभागितामा महासंघले बृहत् नीति संवाद आयोजना गर्ने पनि जानकारी गराईन । बैठकमा उठेका विषयहरुको एकमुष्ट सम्बोधन गर्दै बहसपैरवीमा कुनै कसर बाँकी नराखिएको, धेरै सकारात्मक पहल भैरहेपनि नतिजा आउन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरिन । साथै उनले अभियानले पनि स्वनियमन र सुशासनलाई बिशेष जोड दिनुपर्ने, आफ्नो सक्षमता अभिवृद्धि गर्नुपर्ने, सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्नुपर्ने उल्लेख गरिन ।

बैठकमा सहकारी विभागका उप-रजिष्ट्रार टेकराज अर्यालले फोरममा प्राप्त हुने सल्लाह सुझावहरु गहन हुने भन्दै यिनलाई लिपीवद्ध गरी सहकारी विभाग तथा मन्त्रालयसम्म पनि पुर्याउँदा नीतिगत सम्बोधनमा सहज हुने धारणा राखेका थिए । अर्यालले भने, ‘प्राप्त हुने गहन सल्लाह र सुझावहरुका विषयमा महासंघ, नेफ्स्कून लगायतसँग समन्वय गरेर सम्बोधन तथा समाधानका लागि नीतिगत व्यवस्था एवम् सुधार गर्न सहज हुन्छ ।’ उनले सहकारी क्षेत्र खराब हो भन्ने नकारात्मक तथा गलत प्रचारबाजी भएकोमा दुःख व्यक्त गरेक थिए । केहीले नराम्रो गरेपनि धेरैले राम्रो काम गरेको उनको भनाइ थियो । यद्यपि, सहकारी चेतनाको कमीतर्फ भने अभियानको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैठकमा उठेका विषयहरु सहकारी क्षेत्रका साझा विषयहरु रहेको बताए । नेफ्स्कूनको तर्फबाट यो सञ्जाललाई थप सक्रिय र व्यवस्थित बनाउने दिशामा काम गरिने प्रतिवद्धता पनि जाहेर गरे ।

यसैगरी, बैठकमा सहभागीहरुले स्थानीय तहदेखि अन्तर्राष्ट्रिय निकायसम्मका सहकारी क्षेत्रसँग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने निकायको प्रतिनिधित्व रहेको सञ्जालको प्रभावकारिता वर्तमान समयमा झनै बढेको भन्दै यसमार्फत राज्य र सरकारलाई सहकारी अभियानको योगदानबारे जानकारी गराउने, सम्भावनाहरु स्पष्ट बनाउने, चुनौतीहरु चिनाउने र नीतिगत बहसपैरवीका लागि सहजीकरण गर्न सकिने दाबी गरेका थिए ।

सहकारीमा देखिएको संकटले सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने पनि अवसर पनि भएको बैठकका सहभागीहरुको भनाइ थियो ।

बैठकमा सहकारीका समसामयिक गतिविधिमा छलफल गरिनुका साथै चुनौती र सम्भावनाहरुबारे सहभागीहरुले धारणा राख्दै सहकारीलाई उत्पादनमा मात्र होइन प्रवर्धन र बजारीकरणसँग जोड्ने, उद्यमशीलता विकास गर्ने, अनुदान एवम् सहुलियत कर्जासँगै नीतिगत एवम् कानूनी बहसपैरवीलाई बलियो बनाउने, सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा सल्लाह, सुझाव तथा धारणा राखेका थिए । सहकारी क्षेत्रमार्फत भएका राम्रा काम र योगदान केही सहकारीहरुले गरेको गलत कामका कारण ओझेलमा परेको भन्दै यस क्षेत्रको गरिमा बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त भएको थियो ।

बैठकमा महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कून महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति सदस्य हेमराज विष्टसँगै प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाई, महासंघ सञ्चालक टेकप्रसाद चौलागाई, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, मौरीपालन केन्द्रीय सहकारी संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, जडिबुटी केन्द्रीय सहकारी संघसँगै विभिन्न विषयगत केन्द्रीय सहकारी संघका प्रतिनिधिहरु, नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का अध्यक्ष काजी श्रेष्ठ, हेफर इन्टरनेशनल, जीआईजेड नेपाल, विश्व खाद्य कार्यक्रम नेपाल लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरु, पशु सेवा विभाग, गाउँपालिका महासंघ नेपाल, लगायतका निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

अभिलेख

लोकप्रिय