७ वैशाख २०८२, आईतवार

सहकारीको दायित्व व्यवस्थापनमार्फत जोखिम न्यूनीकरण

२०८१ साउन २८, सोमबार
सहकारीको दायित्व व्यवस्थापनमार्फत जोखिम न्यूनीकरण

दायित्व व्यवस्थापन
सहकारी संस्थाको दायित्व व्यवस्थापन भनेको समय सिमाभित्रै दायित्व भुक्तानी गर्न नसक्दा हुनसक्ने क्षतिको जोखिम कम गर्नका लागि संस्थाको सम्पत्ति र नगद प्रवाहलाई उचित तरिकाले व्यवस्थापन गर्ने प्रक्रिया हो । दायित्व व्यस्थापनले सहकारी संस्थासँग भएको सम्पत्ति र दायित्वको परिपक्व हुने अवधिलाई उचित तरिकाले व्यवस्थापन गर्दछ ।

सम्पत्ति परिपक्व भनेको त्यसलाई तुरुन्तै नगदमा रुपान्तरण गर्नु हो भने दायित्व परिपक्व हुनु भनेको कसैलाई निश्चित रकम मागेकै बखतमा फिर्ता दिनु हो । वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको मुख्य समस्या यही हो । दायित्व व्यवस्थापनमा सहकारी संस्थाले कम महत्व दिएको जस्तो देखिएको छ । वित्तीय कारोबार गर्ने सहकारी संस्थाको मूख्य दायित्व बचत निक्षेप हो र यसको आकार कुल वासलातको ८० प्रतिशतको हाराहारीमा हुने गर्छ । यद्यपी सरकारलाई बुझाउन बाँकी कर तथा अन्य दायित्वहरुको पनि चर्चा गर्न सकिन्छ । समयमा नै दायित्व राफसाफ गर्ने क्षमता भएका सहकारीहरुमा कहिल्यै समस्या आउँदैन ।

सहकारी संस्थाको वासलातमा रहेको पुँजी तथा दायित्व अन्र्तगतका शिर्षकहरुमा पुँजी र दायित्व छुट्ट्याएर पहिला बुझ्नु जरुरी छ । शेयर पुँजी र सबै प्रकारका कोषहरुलाई एक मुष्ठमा पुँजीको रुपमा लिनुपर्छ र बाँकी सबै दायित्व हुन्छन् । तर सहकारी ऐन, नियमावलीले सहकारीको सदस्यले चाहेको बखतमा शेयर फिर्ता लिएर सदस्यता त्याग्न सक्ने व्यवस्था गरेको हुँदा शेयर पुँजीलाई पनि एक प्रकारले दायित्व सरहनै मान्नुपर्ने अवस्था रहेको छ ।

यद्यपी, अन्य दायित्व जस्तो शेयर पुँजीको रकम फिर्ता गैहाल्ने अवस्था हुँदैन । यसका लागि अघिल्ला वर्षहरुमा सदस्यता त्याग्ने सदस्यको तथ्यांकका आधारमा आगामी वर्ष पनि शेयर फिर्ता हुन सक्ने अनुमान गर्न सकिन्छ । पुँजी तथा दायित्व शिर्षक भित्र शेयर पुँजी र कोषहरु पश्चात् मुख्यगरी बचत निक्षेपलाई सधैँभरि फिर्ता गर्न सक्नेगरी वित्तीय व्यवस्थापन गर्न सक्षम हुनुपर्छ ।

दायित्वका शिर्षकहरुको व्यवस्थापन
वित्तीय कारोबार गर्ने सहकारीहरुको मूख्य दायित्व बचत निक्षेप भएको हुँदा सहकारीको बचत निक्षेपको मिश्रण गर्दा छाटो अवधिदेखि दिर्घकालीन अवधिसम्मको बनाउन सक्नुपर्छ । सहकारीको बचत निक्षेपलाई तीन भागमा वर्गिकरण गर्न सकिन्छ । सामान्यतया सहकारीहरुमा चल्ती खाताहरु हुँदैनन् । त्यसैले सहकारीको बचत निक्षेपलाई नियमित (अनिवार्य) बचत, ऐच्छिक बचत र आवधिक बचत गरी वर्गीकरण गर्नुपर्छ । यसमा नियमित बचत भनेको सदस्यले न्युनतम एउटा निश्चित रकम लामो अवधिका लागि मासिक रुपमा जम्मा गर्दै जानेखालको हुन्छ । यसको मुख्य उद्देश्य भनेको सदस्यमा बचत गर्ने बानीको विकास गर्ने र छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने हो । यस्तो बचत कुल बचत निक्षेपमा ३० प्रतिशत माथि भएको राम्रो मानिन्छ र यो एकैपटक फिर्ता जाने बचत होइन । यसमा सबै सदस्यको अनिवार्य सहभागिता रहन्छ र सबै सदस्यहरु एकैपटक यो बचत फिर्ता माग्न आउने सम्भावना रहन्न । आवधिक बचत पनि २० प्रतिशतभन्दा कम भएको राम्रो हुन्छ । यसको मुख्य दुई कारण छन्, एउटा त यसको लागत अरु बचतको भन्दा बढि हुन्छ भने अर्को आवधिक बचत फिर्ता गर्ने समयमा तरलतामा चाप पर्न जान्छ ।

बाँकी अनुपात ऐच्छिक बचतभित्र आउन सक्छ । ऐच्छिक बचतका धेरै प्रकार हुन सक्छन् र यो सहकारी संस्था रहेको क्षेत्र, सदस्यको वर्गीकरण, सामाजिक आर्थिक परिवेश आदिमा निर्भर रहन्छ । सदस्यको एकाघरमा रहेका बालबालिकाहरुको लागि पनि बचतका प्रोडक्टहरु बनाउनुपर्छ र ऐच्छिक बचतभित्र यसलाई एउटा मुख्य बचतको रुपमा लिनुपर्छ । यसले सहकारीको बचत मिश्रणलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।

सहकारीको अर्को मुख्य दायित्व वाह्य ऋण एक हो । बचत ऋणको कारोबार गर्ने सहकारीले आफ्नो तरलता व्यवस्थापनका लागि मात्रै बाह्य ऋण लिनुपर्छ । बचत ऋणको कारोबार नगर्ने सहकारी हो भने बाह्य ऋणको परिचालन व्यवसायमै गर्नुपर्छ । बाह्य ऋण लिएर सहकारी संस्थामा नकमाउने सम्पत्तिहरु खरिद गर्ने, विभिन्न शिर्षकमा खर्चहरु गर्ने, घर, गाडी आदि खरिद गर्नु हुँदैन । उत्पादनमा संलग्न सहकारीहरुले बाह्य ऋण लिनुपूर्व विस्तृत परियोजना बनाउनुपर्छ । ऋणले अनिवार्य कमाउनै पर्छ भन्ने मान्यताका साथ मात्रै यस्ता सहकारी संस्थाले ऋण लिनुपर्छ । ऋण प्रदान गर्ने निकायले पनि यी विषयहरुको राम्रोसँग विस्तृत विश्लेषण गर्नुपर्छ । सहकारीलाई थोक ऋण प्रदान गर्ने ऋण सेवा प्रदायकहरुले अबका दिनमा यी विषयहरुमा ध्यान नदिने हो भने ऋण लिने दिने दुबै पक्षलाई भविष्यमा अप्ठ्यारो पर्न सक्छ । बाह्य ऋण लिनुपूर्व संस्थाले सदस्यलाई प्रदान गरेको अधिकतम् ब्याजदरभन्दा बढि हुनेगरी लिनु राम्रो मानिदैँन ।

दायित्व व्यवस्थापनमा देखिएको अर्को एउटा जोखिम हो भुक्तानी दिनबाँकी सरकारी कर तथा शुल्कहरु । सरकारलाई भुक्तानी गर्नुपर्ने दायित्वहरु निश्चित मितिभित्र भुक्तानी नहुँदा पहिलो कुरा त सहकारी संस्थाको विश्वसनियतामा कमी आउँछ भने अनावश्यक रुपमा विभिन्न जरिवानाहरु भुक्तानी गर्नुपर्ने हुन्छ । विभिन्न कारोबारका अग्रिम करहरु, बुझाउन बाँकी मूल्य अभिवृद्धि कर, आयकर आदि समयसिमाभित्रै भुक्तानी गर्नुपर्छ । यसका अलावा भुक्तानी दिन बाँकी रकमहरुको समयसिमाको अधिकतम दिनभित्र भुक्तानी गर्न सक्षम हुनुपर्छ । उत्पादन वा व्यापार गर्ने सहकारी संस्थाहरुको भुक्तानी दिन बाँकी शिर्षकहरु अन्र्तगतका रकमहरु धेरै हुन सक्छ र यो स्वभाविक पनि हो, तर भुक्तानी दिन बाँकी रकमहरु वासलातमा बाँकी रहने तर त्यसबाट कमाई भैरहेको छैन भने त्यसले पनि जोखिम निम्त्याउँछ र फलस्वरुप संस्था घाटामा जान सक्छ ।

दायित्वका प्रत्येक शिर्षकको लागत लाग्दछ र यस्तो लागत प्रति दिनको हिसाबले जोडिएर रहन्छ । कुनै शिर्षकको लागत नलाग्ने पनि हुन सक्छ र त्यस्ता दायित्वको फरफारक अन्तिम समयसिमाभित्र गरिदिनुपर्छ । दायित्वका शिर्षकहरुमा लाग्ने लागतको प्रत्येक महिना औषतमा गणना गरेर हेर्दै जानुपर्छ र सोही बमोजिम व्याजदरहरुको समायोजन गर्दै लानुपर्छ । सहकारी संस्थाको दायित्व भनेको संस्था सञ्चालनको जिम्मा लिएको सञ्चालक समिति र व्यवस्थापनको जिम्मेवारीमा (कस्टोडियन) रहेको हुनाले संस्थाको दायित्व सिमित (लिमिटेड) भएपनि जिम्मा लिने वा निर्णय गर्ने व्यक्तिको दायित्व असिमित (अनलिमिटेड) रहेको अवस्थामा त्यस्ता व्यक्तिहरुको एकाघरको सम्पत्ति समेत सरकारले जफत गरेका, रोक्का राखेका परिघटनाहरु अहिले हामीले देखिरहेका छौं । सहकारीको सदस्य जो निर्णय प्रक्रियामा संलग्न हुँदैनन् उनिहरुको मात्रै दायित्व सिमित रहने देखियो । दायित्व व्यवस्थापनमा इमान्दारिता, निश्चित शिप र जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता आवश्यक पर्दछ ।

दायित्वको परिचालन विभिन्न शिर्षक अन्र्तगतका सम्पत्तिमार्फत गरिन्छ र यसैका आधारमा सहकारी संस्थाको लाभदायकता (प्रोफिटाविलिटि) निर्धारण हुन्छ । त्यसैले सहकारी संस्थाको सम्पत्ति दायित्व व्यवस्थापनका लागि आवश्यक पर्ने शिप हासिल गर्नका लागि पर्याप्त अध्ययन, तालिम, ज्ञानको प्रसार आदिको लागि समय छुट्याउनुपर्छ । सहकारी संस्थाको विश्वसनीयता दायित्व भुक्तान गर्न सक्ने सक्षमतामा निर्भर रहेको हुनाले संस्थाको नेतृत्व र व्यवस्थापन सधैँ यसमा चनाखो भैरहनुपर्छ । वित्तीय व्यवस्थापनका सुत्र, सिद्धान्त एवं मान्यताहरुलाई नीतिगत रुपमा व्यवस्थापन गरेर कार्यान्वयन गर्नुपर्छ ।
(लेखक सहकारी क्षेत्रसँग सम्बद्ध छन्)

अभिलेख

लोकप्रिय