विकू बचतको ३४औं वार्षिकोत्सव: रक्तदानमा ३७९ जनाको सहभागिता, १५१ नयाँ रक्तदाता
गैँडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७९ जनाले रक्तदान गरेका छन् ।
पहिलो चरणमा २ स्थानबाट गरेको बृहत् खुल्ला रक्तदानमा हर्कपूर सेवाकेन्द्र र चोरमारा सेवाकेन्द्रबाट एकैसाथ गरी ३७९ युनिट रगत सङ्कलन भएको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा १५१ जनाले पहिलो पटक रक्तदान गरेको उनले जानकारी दिए ।
हर्कपूर सेवाकेन्द्रमा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला र चोरमारा सेवाकेन्द्रमा मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरीले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदाता सबैलाई संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
विकू बचत तथा ऋण सहकारी संस्था यस क्षेत्रमा नै सर्वाधिक रक्त संकलन गर्ने संस्थाका रुपमा परिचित छ । पछिल्ला वर्षहरुमा धेरै रक्त संकलन गर्न सहयोग गरेकोमा सम्मान समेत भइसकेको छ । यसैगरी विकूले भाद्र १ गते पनि रक्तदान कार्यक्रम गर्दैछ ।

पूजा सेवा केन्द्र टाँडी चितवन, केन्द्रीय सेवा केन्द्र परिसर विजय विकास स्रोत केन्द्र गैँडाकोट र कावासोती सेवा केन्द्र कावासोती गरी तीन स्थानमा एकैपटक रक्तदान कार्यक्रम गर्न लागेको हो । संस्थाले आफ्नो ३४ औँ वार्षिकोत्सवका अवसरमा सोमबार नारायणगढ, कावासोती र टाँडीमा ट्राफिक सचेतना कार्यक्रम समेत गर्दैछ ।
त्यसैगरी वक्तृत्वकला प्रतियोगिता, सरसफाई तथा वृक्षरोपण कार्यक्रम, कर्मचारी स्तरीय विभिन्न खेलकुद कार्यक्रम गर्दैछ । भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिए ।
विसं २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार