१३ माघ २०८१, आईतवार

सहकारीका असल अभ्यास, चुनौती र अबको बाटो विषयमा विज्ञसँग संवाद गर्दै विजय विकास

२०८१ असार २५, मङ्गलबार
सहकारीका असल अभ्यास, चुनौती र अबको बाटो विषयमा विज्ञसँग संवाद गर्दै विजय विकास

गैंडाकोट : विजय विकास स्रोत केन्द्रले आफ्नो स्थापना दिवसका अवसरमा सहकारीका सन्दर्भमा अन्तक्रिया कार्यक्रम गर्ने भएको छ । संस्थाले अषाढ २६ गते (भोली) स्थापना दिवसमा “सहकारीमा सुशासन: असल अभ्यास, चुनौतीहरु र अबको बाटो” विषयमा प्यानल छलफल गर्न लागेको हो ।

समूह छलफलमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर अच्युत वाग्ले, सहकारी एवं लघुवित्त विज्ञ नम्रता शर्मा, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद गुरागाईं रहेका छन्।

छलफलको टिप्पणी कर्तामा सामाजिक एवं राजनीतिक विश्लेषक हरि शर्मा र सहजकर्तामा सहकारी विज्ञ केशवप्रसाद सापकोटा रहनेछन् । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक फुलमाया मोक्तानले सहकारीका असल अभ्यासका सन्दर्भमा प्रस्तुती राख्नेछन् ।

समूह छलफल कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाका सहकार्य संस्थाको रुपमा रहेका छन् । सहकारीका विषयमा हुने छलफल कार्यक्रमको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो विजय एफएममा र विजय एफएमको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ ।

४६ औँ स्थापना दिवशका अवसरमा विहान ७ बजे कालिका संस्कृत विद्यापीठको परिसरमा वृक्षरोपण कार्यक्रम समेत गरिने विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले जानकारी दिए ।

४५ वर्षअघि २०३६ सालमा सामाजिक विकास संस्थाका रुपमा स्थापित केन्द्रले सामाजिक हित र स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको छ । यसले प्रवद्र्धन गरेका संस्थाहरुले पाएको ख्याती, केन्द्रले गरेका काम र सिकाई समाजका लागि अनुकरणिय रहेका छन् ।

संस्थाले विभिन्न संस्थागत चरणहरु पार गर्दै सर्वाङ्गिण सामुदायिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यो गैरनाफामूलक, गैर राजनैतिक, सदस्यतामा आधारित र स्वयंसेवी भावनाले अभिप्रेरित भएको नागरिक समाजको प्रतिनिधिमूलक संस्था हो । विजय विकास स्रोत केन्द्रले समतामूलक, समृद्ध र मर्यादित समाजको परिकल्पना गरेको छ ।

अभिलेख

लोकप्रिय