१५ वैशाख २०८२, सोमबार

‘सरकारको ‘सर्पोट’ विना सहकारी बाँच्न सक्दैन’

२०८१ असार २२, शनिवार
‘सरकारको ‘सर्पोट’ विना सहकारी बाँच्न सक्दैन’

अन्तर्राष्ट्रिय सहकारी दिवसको महत्व के छ ?
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) मा विश्वभरका ११२ वटा देशका ३१८ वटा संस्थाहरु आवद्ध छन् । महासंघले विश्वभर जुलाई महिनाको पहिलो शनिबार ‘अन्तर्राष्ट्रिय सहकारी दिवस’ को रुपमा मनाउँदै आएको छ । सहकारी अर्थतन्त्रको मेरुदण्ड हो । आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय परिवर्तनमा सहकारीको मूमिका महत्वपूर्ण छ । सहकारी क्षेत्रलाई विश्वभर पहिचान बनाउन पनि यो दिवसको विशेष महत्व छ ।

सहकारीको विश्व परिवेशमा नेपालको सहकारी अभियान कहाँ छ ? कस्तो अवस्थामा छ ?
विश्व परिवेशमा नेपालको सहकारी इतिहास छोटो छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ जन्मेको धेरै वर्षपछि मात्रै हाम्रो देशले सदस्यता लिएको हो । छिमेकी मुलुक भारतमा १९०४ मा सहकारी ऐन बनिसकेको थियो । नेपालमा २०१३ सालबाट सहकारीको सुरुवात भएको भएपनि २०४८ सालको सहकारी ऐनपछि मात्रै अभियानले फड्को मारेको पाइन्छ । त्यस भन्दा अघि साझा सहकारीहरु मात्रै थिए । तर, छोटो समयमा पनि नेपालले अन्तर्राष्ट्रिय सहकारी महासंघमा प्रतिनिधित्व गर्ने अवसर पाईसकेको छ । महासंघमा विश्वभरबाट १५ जना बोर्ड मेम्बर निर्वाचित हुने व्यवस्था छ । त्यो स्थानमा नेपाल पुगिसकेको छ । जबकी छिमेकी मुलुक भारत नेपालभन्दा २ वर्ष अघि मात्रै त्यो स्थानमा पुगेको थियो । म स्वंय आँट गरेर निर्वाचनमा उठेको थिए । ११ वटा देशलाई हराएर नेपाल त्यहाँ पुगेको थियो । यसका साथै, महासंघको एसिया प्यासिफिक रिजनमा पूर्व अध्यक्ष केशवप्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कडेलले काम गरिसक्नु भएको छ । महासंघको उपाध्यक्ष खेम पाठक, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका पूर्व अध्यक्ष लगायतका धेरै सहकारीकर्मीले अन्तर्राष्ट्रिय संस्थामा बसेर काम गरिसक्नु भएको छ । विश्व परिवेशले नेपालको सहकारी अभियान बुझ्ने अवस्थामा पुगेको छ ।

सहकारीको विश्व मञ्चमा पुग्ने तपाई पहिलो नेपाली हुनुहुन्छ र त्यसमाथि महिला पनि । अहिले फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ ? के गरियो र के गर्न सकिएन भन्ने लाग्छ ?
सांसद हुँदा भन्दा पनि अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड मेम्बरमा निर्वाचित हुँदा गौरव महशुस गरेको थिए । मेरो २ मिनेटको भाषणले खोजी खोजी भोट हाल्ने वातावरण बन्यो । २६ जना उम्मेदवार थिए, त्यतिबेला । ११ वटा देशलाई हराएर १५ जनाको बोर्डमा आउनु चानचुन कुरा थिएन । ४ वर्षे कार्यकालमा कोभिडका कारण साढे चार वर्ष काम गर्ने अवसर पाएँ । प्रिन्सिपल र गभर्नेन्स कमटीमा समेत बसेर काम गर्ने अवसर पाएँ । अनुशासित र एक्टिभ मेम्बरको रुपमा आफूलाई स्थापित गराएको थिएँ । तर, मलाई दुःख लागेको विषय के हो भने हरेक बोर्ड मिटिङपछि बेलुकी बिजनेश डिलिङ मिटिङ हुन्थ्यो । आफ्नो देशमा सहकारीले उत्पादन गरेको वस्तु अर्को देशले किन्ने डिल हुन्थ्यो त्यहाँ । महासंघ सहकारीले उत्पादन गरेको वस्तु तथा सेवाको खरिद विक्रि गर्ने प्लेटफर्म पनि हो । तर, त्यस्तो मिटिङमा कहिल्यै पनि भाग लिन पाईन । त्यतिबेला महासंघमा नेपाल पुग्ने बेला भएको रहेनछ भनेर फिल भयो । यदी मेरो देशका सहकारी पनि उत्पादनमा भएको भए म भाग लिन पाउने थिए । उत्पादन विश्वभर पठाउन सकिने थियो । अहिले पनि उत्पादनको ब्राण्डिङको लागि दौडिरहेका छौं । सहकारीले उत्पादन गरेकोवस्तु निजी कम्पनीको ब्राण्डमा बेच्नु पर्ने अवस्था छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ डोनेशन, कार्यक्रम दिने निकाय हैन । महासंघको कुल बजेट मध्ये ५१ प्रतिशत खर्च सदस्यता शुल्कबाट, २० प्रतिशत सोही देशको सरकारबाट र बाँकी चाँही अनुदान चल्छ । नेपाल सरकारले सहकारी अभियानलाई नटेरी रहेको अवस्था छ । हाम्रो समस्या महासंघमा राख्यौं भने हाम्रो सरकारसँग डिलिङ उनीहरुले गर्छ । हाम्रो समस्या हामीनै समाधान गर्छौं भनेर लागिरहेका छौं । मैले गर्न सकिन भन्दा पनि गर्न पाईन । सञ्चालक भएर जाँदा पनि मेरो देशलाई त्यो किसिमा उभ्याउन सकिने भन्ने हो । नेपालमा मान्छे मिहेनती, एक्टिभ र अनुशासित हुँदो रहेछ भनेर नाम लेखाउन सफल सके भन्ने लाग्छ ।

अब फेरि आईसीएमा नेपाल कहिले जान सक्ला ?
राष्ट्रिय सहकारी महासंघ लि. नेपालमा अध्यक्ष बन्ने सपना पहिले देखिनै थियो । अध्यक्ष बन्नकै लागि आईसीएमा पुनः उम्मेदवार नबनेको हुँ । केशव बडाल र मिनराज कडेललाई उम्मेदवारी दिनुस् भनेको थिए । उहाँहरु दुबै जना उठ्नु भएन । आँट पनि चाहिने रहेछ । म उठ्दा नेपालले जित्छ कसैले भनेका थिएन । एशियाबाट कोही पनि महिला त्यो जिम्मेवारीमा पुगेको थिएन । आगामी दिनको कोही तयार पक्कै हुनुहुन्छ होला । तर, सजिलो भने पक्कै छैन । त्यतिबेला म संविधान सभाको सदस्य पनि थिए । त्यसैले पनि सर्पोट भयो ।

पछिल्लो समय नेपाली सहकारी अभियान एकदमै तरल छ । यस्तो बेला १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा सहकारी क्षेत्रलाई माया गर्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
सहकारीकर्मी भन्ने वित्तिकै ठग, फटाह हो भन्ने गरिन्छ । त्यसरी हचुवाको भरमा मूल्यांकन नगरिदिनुु् भन्न चाहन्छु । सहकारी क्षेत्र अहिले पिडित छ । बदमासी गर्नेलाई कारबाही गर्न महासंघले पनि सर्पोट गर्छ । तर, जसले राम्रो तरिकाले काम गरिरहेको छ उसलाई साथ चाहिएको छ । सरकारको सर्पोट विना सहकारी बाँच्न सक्दैन । सहकारीकर्मी रोडमा पुगिसकेको अवस्था छ । सरकारले पनि जिम्मा लिएर अगाडी बढ्नु पर्ने अवस्था आएको छ । सरकारले पनि आफूले बोलेको कुराहरु पुरा गरेर सहकारीकर्मीहरुको मन जित्नुपर्छ । गलतलाई गलत भनिदिनुस् । तर, समग्र सहकारीलाई एउटै नजरले हेरेर अभियानलाई बदनाम बनाउने काम नगर्नुहोस् । सहकारीलाई सदस्यको विश्वास र माया चाहिएको छ जसरी विगतमा गरिदिनु भएको थियो ।

यो वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिमले के सन्देश वा भाव बोकेको छ ? किन यो थिम तय गरियो होला ?
अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारीले सबैका लागि समुन्नत समाज निर्माण गर्दछ’ तय गरेको छ । यो थिम निकै मार्मिक र महत्वपूर्ण पनि छ । सबै नागरिकहरुको भविष्य बनाउने माध्यम सहकारी हो भन्ने सन्देश दिन खोजेको छ । सहकारीलाई सहकारी जसरी नचलाउँदा केही समस्या आएको छ ।

सहकारी र अन्य व्यवसाय फरक हुन् । सहकारीको मूल्य मान्यता अनुसार चल्नु पर्दछ । सहकारीकै माध्ययमबाट सबै मानिसको जीवन बनाउँछ । हरेक वर्ष थिमको विषयमा कार्यपत्र प्रस्तुत गर्दै आएका थियौं । यस पटक भने अहिलेको अवस्थाले गर्न सकेनौं । सम्मान तथा पुरस्कारको मात्रै कार्यक्रम गर्दै छौं । तर, दिवसको थिमलाई लिएर तल्लो तहसम्म जाँदै छौं । राष्ट्रिय सहकारी दिवसको थिमसँग पनि तालमेल हुन्छ ।

सन् २०२५ को अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइरहँदा नेपाली सहकारी अभियानले के कस्तो प्रगति गर्ने विश्वास लिनुभएको छ ?
अहिले विश्वले आर्थिक मन्दीको सामना गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाको पनि सन्तोष जनक प्रगति गर्न सकिराखेको छैन । बैंक तथा वित्तीय संस्थाको पछाडी नेपाल राष्ट्र बैंक छ । तर, सहकारी अभियानको त्यस्तो निकाय कुनै छैन । सरकारले लक्ष्य अनुसारको राजश्व पनि उठाउन सकेको छैन । सहकारी क्षेत्रले महत्वकांक्षी लक्ष्य बनाउने अवस्था पनि छैन । अहिलेको प्रमुख कुरा भनेको सदस्यलाई सहकारी बुझाउनु छ । यसका लागि सबै पक्ष लाग्नु पर्ने अवस्था छ । सहकारीहरु बचत तथा ऋणको मात्रै कारोबार गर्ने होईन । सहकारीले उत्पादन क्षेत्रमा जानुको विकल्प छैन । उत्पादनमा जाने सहकारीलाई सफ्ट लोनको लागि पैरवी गरिरहेको छ । सहकारी ऐनसँग बाझिएका ऐन संशोधनको क्रममा छौं । विदेशिएका युवालाई नेपालमा रोक्नु पर्नेछ ।

अभिलेख

लोकप्रिय