सहकारी क्षेत्रलाई व्यवस्थित नगरी आर्थिक विकास सम्भव छैन: उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै विद्यमान समस्या समाधान गर्नु पर्ने बताएका छन् । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन र विकासको प्रक्रियालाई तिब्र पारेर अगाडि बढ्नका लागि जति नीजि क्षेत्रको आवश्यकता छ त्यति नै सहकारीको समेत आवश्यकता रहेको उनले औल्याए ।
राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राज्य अन्तर्राष्ट्रिय सहकारी दिवस र ३१ औं राष्ट्रिय सहकारी महासंघ स्थापना दिवस मनाउन आयोजित विशेष समारोहलाई शनिबार गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । ‘नेपालमा सहकारी आन्दोलनलाई व्यवस्थित रुपमा अगाडि बढाएर मात्रै नेपालको आर्थिक विकासलाई तिव्र पार्न र सहि दिशामा लैजान सकिन्छ भने हामीले गरिराईका साथ बोध गर्न जरुरी छ’, उनले भने, ‘सहकारीको महत्वलाई आत्मसाथ गर्ने र त्यसको निम्ति जे जे व्यवस्था गर्नुपर्ने हो त्यस दिशामा जानका लागि अझै पनि मिहेनत गर्नुपर्ने आवश्यक देखिन्छ ।’

सरकारमा सहकारीको विषयमा ठूलो बहस भएको समेत उनले बताए । ‘केही सहकारीमा मात्र समस्या देखा परेको हो । त्यसले निश्चित रुपमा अर्थतन्त्र र जनजिवनमा समस्या पैदा ग¥यो । त्यसलाई सम्बोधन गर्ने सन्दर्भमा सरकारमा बहस अगाडि बढेको छ’, उनले भने, ‘सहकारीका साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन ? सहकारीविना नेपालमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन सक्छ ? नेपालको अहिलेको आवश्यकता आर्थिक बृद्धि र समृद्धिको प्रक्रिया सहकारी विना सम्भव छ त ? छैन भन्ने निस्कर्षलाई गहिरो गरि आत्मसाथ गर्नुपर्ने निस्कर्षमा हामी छौं ।’
उनले सहकारीलाई पुर्न परिभाषित गर्नुपर्ने, मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्नुपर्ने, अनुगमन प्रभावकारी गर्नुपर्ने, बचत तथा कर्जा सुरक्षण कोष बनाउनुपर्ने, समस्या छिटो छानविन गरेर बाँकी छानविनका लागि सिआइबीलाई पठाइहाल्नुपर्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा प्रयाप्त जनशक्ति उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय समेत गरेको बताए । सहकारीमा पनि समस्या आउनुमा राजनीतिको भूमिका रहेको समेत बताए ।
उक्त समारोहको अध्यक्षता गरेकी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी आफै पिल्सिएको अवस्थामा रहेको बेला नियामक निकायले समेत अधिकार प्रयोगका नाममा डण्डा चलाउन खोजेको गुनासो गर्दै केही औलामा गन्न सकिने सहकारीहरुले गलत गरे भन्दैमा सिङ्गो सहकारी अभियानप्रति नै पूर्वाग्रही हुन नमिल्ने बताईन ।
पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालले सहकारी जागरण अभियान बढाउनुपर्ने आवश्यकता औल्याउँदै संयुक्त राष्ट्र संघले अगाडि सारेको दीगो विकास लक्ष्य हासिल गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा महासंघका सल्लाहकार खगराज अधिकारीले सरकारी नियामक निकायल सहकारीकर्मीहरुलाई तर्साउने बदनियतले आदेशहरु जारी गर्न नहुने बताउँदै सहकारी क्षेत्र संवेदनसील भएकाले गम्भिर रुपमा उपचार गर्नुपर्ने बताए । साथै उनले सहकारी आफ्नै सिद्धान्त, मूल्य, मान्यता र आदर्शबाट सञ्चालन हुने सहकारीको नाममा केही सहकारी संस्थाहरुले गरेको बदमासिले अभियान नै बदनाम भएको प्रति सबै सरोकारवालाहरु सचेत हुनुपर्ने बताए ।
महासंघका सल्लाहकार लीलामणि पोखरेलले नेपालको सहकारी अभियानले राष्ट्रिय पुँजी निर्माणमा पु¥याएको योगदानलाई नजर अन्दाज गर्न नमिल्ने बताए । साथै उनले समस्या आयो भन्दैमा डराएर भागिहाल्नुपर्ने अवस्था नरहेकाले सहकारीको सुद्धिकरण र सुदृढीकरणमा लाग्नुपर्ने बताए । महासंघका सल्लाहकार देबेन्द्र कंडेलले सहकारीले समाजको तल्लो वर्गलाई दिएको वित्तीय सेवालाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताउँदै राजनीतिक दलहरुले न्यायका लागि काम गर्न बन्द गरेकाले देशमा आर्थिक अराजकता बढेको विचार व्यक्त गरे । साथै उनले ऋण असुली गर्न र पीडितको बचत फिर्ता गर्न सरोकारवालाहरु सबै लाग्नुपर्ने बताउँदै सहकारीको सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई जोगाउन अभियान लाग्नुपर्ने बताए ।
एनडीपीको आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडालाबेले सहकारी क्षेत्र तत्ला बर्गको उत्थानका लागि महत्वपूर्ण क्षेत्र रहेको बताईन । महासंघका सञ्चालक सुमन नेपालले सञ्चालन गरेको उक्त समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष लगायतका वक्ताहरुले आ–आप्mनो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समारोहमा संयुक्त राष्ट संघ, युएनडिपीका प्रतिनिधि, महासंघका सल्लाहकारहरु लगायतका विशिष्ठ सहकारीकर्मीहरुको उल्लेखित उपस्थिति थियो ।
जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार