२१ भदौ २०८३, आईतवार

जोर्डन पुगेर सहकारी मन्त्रीले भने- सदस्यको विश्वसनीयता चुनौतीका रुपमा देखियो

२०८१ वैशाख १७, सोमबार
जोर्डन पुगेर सहकारी मन्त्रीले भने- सदस्यको विश्वसनीयता चुनौतीका रुपमा देखियो

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अति कम विकसित मुलुकको समुहबाट माथि उठ्नको लागि विभिन्न पहल गरिरहेको बताएका छन् ।

जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृषि मन्त्रालयको संयुक्त आयोजनामा आईतबारबाट सुरु भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा बोल्दै उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि गरिब, अल्पसंख्यक तथा पिछडिएका समुहहरुको मूल प्रवाहीकरण आवश्यक भएको र त्यसका लागि सहकारी उपयुक्त माध्यम हुने बताए ।

जनताको जीवनस्तर सुधारमा उल्लेख्य भूमिका निर्वाह गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान पुर्याएका गरेका कारण सहकारीलाई समाजवाद उन्मुख अर्थव्यवस्थाको महत्वपूर्ण स्तम्भका रुपमा मान्यता प्राप्त भएको बताए । नेपालको सहकारी अभियानको चर्चा गर्दै मन्त्री अधिकारीले पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको उतारचढावको प्रतिकुल असर नेपालको सहकारी क्षेत्रमा पनि परेको बताए ।

सहकारी क्षेत्रमा सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय सुशासन तथा सदस्यको विश्वसनीयता चुनौतीका रुपमा देखिएको भन्दै मन्त्री अधिकारीले यिनको समाधानका लागि संस्थागत सुधार, सदस्यहरुमा सहकारी शिक्षा तथा जागरण, आन्तरिक नियन्त्रण प्रणाली, नियमन क्षमता, प्रविधिकरणको आवश्यकतासँगै सरकार र अभियानबीच दरिलो सम्बन्ध र सहकार्य आवश्यक भएको पनि बताए ।

‘एशिया प्रशान्त, मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा सहकारी दिगो विकास र समावेशी वृद्धिका लागि सरकार र सहकारी अभियानबीच साझेदारी’ विषयक यो पटकको थिम अत्यन्त सान्दर्भिक भएको बताउँदै उनले सम्मेलनले द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे । सम्मेलनले सहकारी र अभियनको सम्बन्धको आयाममाथि पुनर्विचार गरी नयाँ दिशा निर्दिष्ट गर्न सहयोग पुर्याउने विश्वास मन्त्री अधिकारीले व्यक्त गरेका छन् ।

सन् २००२ मा नेपालमा सम्पन्न छैठौं सहकारी मन्त्रीस्तरीय सम्मेलनको चर्चा गर्दै उनले नयाँ सहस्राब्दीमा सहकारी क्षेत्रमा आवश्यक एवम् सान्दर्भिक कानूनी तथा नीतिगत प्रबन्ध निर्माणको दिशामा एकीकृत पहल गर्ने गरी काठमाडौं घोषणापत्र जारी गरिएको स्मरण गरे । सहकारीका जल्दाबल्दा विषयमा साझा धारणा बनाउन आयोजना गरिएको सम्मेलनमा नेपाललाई पनि सहभागी हुने अवसर प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरेका थिए ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालयका सहकारी महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटा, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लर नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत सहभागिता रहेका छ ।

अभिलेख

लोकप्रिय