२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून सदा झैँ सुरक्षित छ, पूर्णरुपमा विश्वस्त भई ऐक्यबद्धता कायम राख्न आग्रह

२०८० चैत २८, बुधबार
नेफ्स्कून सदा झैँ सुरक्षित छ, पूर्णरुपमा विश्वस्त भई ऐक्यबद्धता कायम राख्न आग्रह

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कूनले) ‘घाटा हुँदाहुँदै नाफा लेखाङ्कन’ गरेको भन्ने शिर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज प्रेस विज्ञप्ति जारी गरी ३२औं वार्षिक साधारणसभाबाट पारित लेखापरीक्षण प्रतिवेदनको सन्दर्भ उल्लेख गरी कुनै पनि वित्तीय विवरण सहि ढंगले नराखिएको भन्ने भ्रमपूर्ण टिप्पणी, टिप्पणी गर्नका लागि पनि योग्य नभएको बताएको छ ।

नेफ्स्कूनले आबद्ध सम्पूर्ण सदस्य संघ/संस्था, सम्बद्ध सरोकारवालाहरु, सञ्चारकर्मी लगायत सञ्चार माध्यमलाई विद्यमान वित्तीय एवम् व्यवस्थापकीय अवस्थाको बारेमा प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

समाचारमा उल्लेखित सन्दर्भ गत आ.व.को भएकोले संघको विद्यमान वित्तीय अवस्थामा उल्लेख्य सुधार आइसकेको संघका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर अधिकारीले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ । तरलता स्तर सहज अवस्थामा रहेको र सुरक्षित व्यवस्थापन गरिएको विज्ञप्तिमा भनिएको छ।

वित्तीय बजारमा परेको प्रभाव सम्बोधन गर्न र वित्तीय बजार व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि गरेको नीतिगत सहजीकरणको सन्दर्भ अनुरुप संघले आफ्ना सदस्य संघ संस्थाहरुलाई नीतिगत सहजीकरण गरेको तर सो सम्बन्धमा सहकारी विभागबाट हुनै मापदण्ड नतोकिएको हुँदा लेखापरीक्षकले संघको आन्तरिक नीतिगत व्यवस्थालाई स्वीकार नगरेको कारण भाखा नाघेको ऋण रकम अधिक रहेको नेफ्स्कूनले जनाएको छ ।

त्यस्तै संघले आन्तरिक नीति, कार्यविधि अनुसार एकै संस्थामा संस्थाको जम्मा सम्पत्तिको २० प्रतिशत नाघ्ने गरी ऋण लगानी नगरिएको बताएको छ । गत असारमा भाखा नाघेको जनाईएका अधिकांश ऋण हाल नियमित भईरहेको र नियमित हुन नसकेका ऋणको हकमा संघमा राखिएको धितो लिलाम बिक्री मार्फत असुली भइरहेको विज्ञप्तिमार्फत जनाएको छ। सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका कुनै पनि पदाधिकारी एवम् सदस्यहरुले प्रतिनिधित्व गर्ने कुनैपनि संघ संस्थामा भाखा नाघेको ऋण नरहेको स्पष्ट पारेको छ । त्यसैगरी मीरा ईआरपीको निर्धारित १० वटा मोड्युल मध्ये चारवटा मोड्युलको निर्माण भई प्रयोग भइरहेको र बाँकी मोड्युल निर्माणको क्रममा रहेको जनाएको छ । सम्झौता बमोजिम कार्यसम्पादनस्तरका आधारमा प्रणाली विकासको भुक्तानी गर्दै आएको संघले बताएको छ ।

‘संघले आ.व. २०७१/०७२ पछिका वर्षहरुमा आन्तरिक राजश्व कार्यालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघबाट परीक्षण समेत गराउँदै आएको छ । जहाँसम्म वित्तीय विवरणहरुको शुद्धतामा लेखापरीक्षक र लेखापरीक्षकको सन्दर्भ जोडेर प्रकाशित समाचार दुवै स्वतन्त्र पक्षका विश्लेषण भएको र दुबै पक्ष धरातलीय यथार्थ भन्दा भावनात्मकरुपमा प्रस्तुत भएको अवस्था हो । स्वतन्त्र निकायले गर्ने यस्ता टिप्पणीको सन्दर्भमा संघले प्रतिवाद गर्न आवश्यक ठानेका छैनौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

पर्याप्त ऋण जोखिम व्यवस्था खर्च नलेखेको भन्ने सन्दर्भमा नेफ्स्कूनले भनेको छ, ‘संघ सदस्य संघ संस्थाहरुको प्रवर्द्धन, विकास र संरक्षण समेतको दायित्व बोकेको संस्था हो । विश्वव्यापी कोभिड–१९ महामारीसँगै नेपालको वित्तीय क्षेत्रमा समेत परेको प्रभावलाई सम्बोधन गर्न २०७७ वैशाख महिनामा महामारीमा सेवा निरन्तरता सम्बन्धी मार्गदर्शन जारी गरी ऋण असुलीको लागि बन्दावन्दी अवधि बराबरको समय लगानी गर्दाको अवधिको समयमा थप गरी असुल गर्न सकिने भनिएको र संघले समेत सोहि अनुरुप कार्यान्वयन गर्दै अवधि थप गरेको । साथै, २०८० जेष्ठमा संघको नीतिगत व्यवस्थामा परिमार्जन गरी आ.व.२०७९/०८० मा केहि संस्थाहरुमा सदस्यको बचत फिर्ताको दवावलाई मध्यनजर गर्दै चालु आ.व. को ब्याज पूर्णरुपमा भुक्तान गर्ने संस्थालाई सावाँ भुक्तानीको लागि दवाव नदिइ त्यस्ता संस्थाहरुको भाखा नाघेकोमा गणना नगर्ने निर्णय भई सोहि बमोजिम कार्यान्वयन भएको । सो निर्णय गत साधारणसभाबाट पारित समेत भइसकेको र ती मध्ये हालसम्म अधिकांश संस्थाको नियमित भइरहेको र केहि संस्थाको धितो लिलामीमार्फत असुली प्रक्रिया अगाडि बढिरहेको छ । समाचारमा उल्लेख गरिएको लेखापरीक्षण प्रतिवेदन गत असार मसान्त (२०८० असार मसान्त) को भएको र उल्लेखित प्रतिवेदनमा देखिएको लगानीमा रहेको ऋण मध्ये चालु आ.व.मा ३६० करोड भन्दा बढि असुल भई नियमित बचत ऋण कारोबारका लागि संघको वित्तीय अवस्था सन्तुलित, पर्याप्त तरलता सहित सदस्यको बचत सुरक्षित रहेको छ ।’

त्यस्तै मीरा ईआरपीको सन्दर्भमा भनिएको छ, ‘यस संघले नेपालका सबै सहकारी संघ संस्थाहरुको उच्च प्राविधिकीकरण गर्नका लागि निर्माण गरिरहेको समग्र प्राविधिक व्यवस्थापन प्रणाली (ईन्टरप्राइजेज रिसोर्स प्लानिङ्ग ईआरपी) यस संघले समेत २०८० जेष्ठ देखि आफ्ना सम्पूर्ण कार्यालयहरुको वित्तीय अभिलेख व्यवस्थापन गरिरहेको र हाल १६० वटा विभिन्न सहकारी संस्थाहरुमा प्रविधि सञ्चालनमा रहेको छ । ईआरपी निर्माणको लागि सम्झौता मार्फत लगानी भई उक्त सम्झौता बमोजिम उल्लेखित समयभन्दा केहि ढिलाई भएको भनि सोको प्रगति अवस्था समेत उल्लेख गरी संघले २०८० चैत्र १९ गते विज्ञप्ती मार्फत जानकारी समेत गराइएको स्मरण गराउन चाहन्छौं ।’

समग्र अर्थतन्त्रमा आएको विचलन, आर्थिक प्रणालीको बाह्य प्रभाव, बचत तथा ऋणको अपेक्षित परिचालन नभएको अवस्थामा आबद्ध सदस्य संघ संस्थाहरुका साथै समग्र सहकारी अभियानको छवि संरक्षण र विकास गरी समुदायमा वित्तीय पहुँच विस्तार एवम् सदस्यको बचत सुरक्षणमा सदैव क्रियाशिल यस संघ वित्तीय मापदण्ड कायम राख्न सचेत रहेको स्पष्ट पारेको छ ।

संघ सदा झैँ सुरक्षित रहेको समेत विज्ञप्तिमार्फत जनाएको छ । समाचारबाट बिचलित नभई पूर्णरुपमा विश्वस्त भई ऐक्यबद्धता कायम राख्न समेत संघले आग्रह गरेको छ ।

 

अभिलेख

लोकप्रिय