सहकारी डिजिटल कन्क्लेभका सकारात्मक सन्देशहरु

-डा. दामोदर रेग्मी
विकासमा नागरिक वा समुदाको सहभागिता शासकीय प्रणालीको आदर्श तथा नवीन अवधारणा हो । यसै मान्यता अनुरुप सहकारी क्षेत्रलाई समुदायको उत्थान र समुदायको उन्नतिद्वारा शासन प्रणालीलाई जनमैत्रीय बनाउने काममा सहभागी गराउन सकिन्छ । सहभागितामूलक विकास र समुदायमा आधारित विकासलाई सार्थकता प्रदान गर्ने व्यवहारिक अभ्यासमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । स्थानीय रुपमा छरिएर रहेका पूँजीको परिचालनद्वारा स्थानीय साधन स्रोत र प्रविधिको परिचालन गरि स्थानीय आवश्यकताको सम्बोधन गर्न सहकारी क्षेत्रको सदा सर्वदा महत्वपूर्ण योगदान रहँदै आएको छ ।
देशको सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको छ । सहकारी बिस्तार भएका ठाउँमा तुलनात्मक रुपमा बढी मात्रामा आर्थिक, सामाजिक क्षेत्रमा सुधार भएको देखिन्छ। मानव विकास सूचाकांकमा सुधार ल्याउन पनि सहकारीले उल्लेख्य योगदान दिएको छ । सहकारी क्षेत्रले नेतृत्व विकासमा समेत टेवा पुर्याएको छ । स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुगेको छ। सहकारीको माध्ययबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन पनि सहकारीले भूमिका खेलेको छ। यसर्थ सहकारी क्षेत्र समुदाय उत्थानको लागि उर्जा हो ।
अर्थतन्त्रमा सहकारी बलियो खम्बा र सुखी नेपाल सम्मृद्ध नेपाल निर्माणमा महत्वपूर्ण टेवा पुगेको छ । दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी रहेको देखिन्छ । सहकारी क्षेत्र सामजिक अर्थतन्त्रको सवलीकरणद्वारा राष्ट्रिय अर्थतन्त्रको सवलीकरण गर्ने र सामाजिक न्यायको प्रवर्द्धन गर्ने सामर्थ्य राख्ने बलियो संयन्त्र पनि हो । यिनै विशेषताहरुका कारणले सहकारी क्षेत्र सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्र निर्माण गर्ने संयन्त्र पनि हो । सहकारी क्षेत्रमा सामाजिक अन्तरआव्द्धताको भावना छ यसैले यो सामाजिक उर्जाको माध्यमद्वारा सामाजिक न्यायको प्रवद्र्धन गर्ने र समृद्धि हासिलमा सहयोग गर्ने सामर्थ्य भएको संयन्त्र पनि हो । सहकारी क्षेत्रले विकासका नवीनतम अवधारणा विशेष गरि दिगो विकास लक्ष्य प्राप्ति र यसको स्थानीयकरण तथा आन्तरिकीकरणमा समेत महत्वपूर्ण योगदान दिने सामर्थ्य राख्दछ ।
यस क्षेत्रले वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको छ । समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । तर, पछिल्लो समय कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ । बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाहरु पनि बचत र ऋण तर्फ केन्द्रित हुने र बचत र ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको संख्यात्मक बढोत्तरीको साथसाथै यी संस्थाहरु विषयगत बैंकिङ्गको मूल्य मान्यता भन्दा परम्परागत बैंकिङ्गका मूल्य मान्यतातर्फ आकर्षित हुने तर परम्परागत बैंकिङ्गका आधारभूत आवश्यकता र यसका अवसर तथा चुनौतीहरुको सन्दर्भसँग अनुकुलित हुने क्षमताको अभाव तथा आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको भिन्न कार्यक्षेत्रमा संलग्न हुँदा यसमा समस्या आउनु स्वभाविकै हो । यति हुँदा हुँदै पनि स्व-अनुशासन र स्वनियमनको भावनाबाट अभिप्रेरित कैयन बचत तथा ऋण सहकारी संस्थाहरुले सकारात्मक काम गरिरहेको र सहकारीको मूल्य मान्यता र आदर्शलाई कायम राख्न सकेको देखिन्छ ।
बचत संकलनको नाममा सहकारीको मान्यता विपरित सदस्यहरुको संख्या वृद्धि, क्षणिक आकर्षणको लागि बैंकिङ्ग क्षेत्रले दिएको भन्दा बढी व्याज दिने आकर्षक योजना, बचत लगानी र तरलतावीच सामञ्जस्यताको अभाव, लगानी फिर्ताको सुनिश्चितताको अभाव, कारोवारहरुमा सदस्यहरुवीच पारदर्शिताको अभाव कैयन बचत तथा ऋण सहकारी संस्थाहरुको समान प्रकृतिका समस्याहरु देखिन थाले ।
अर्कोतर्फ बैंकिङ्ग प्रणाली बुझेका र वुद्धिजिवीहरु नै क्षणिक लाभको आकर्षणमा बैंक वा वित्तीय संस्थामा रहेको रकम झिकि सहकारी संस्थामा रकम राख्ने प्रवृत्ति बढेको र यस्ता सहकारी संस्थाहरुमा समस्या नआउँदासम्म चूप लागेर वस्ने सानातिना समस्या आउँदा त्यसको ढाकछोप गर्ने र समस्या भुसको आगो झै बढिसकेपछि मात्र बचत फिर्ताको माग गर्ने प्रवृत्ति पनि कायमै रहे । केही सहकारी संस्थाहरुमा सञ्चालकहरुलाई साधारण सभाले बढि अधिकारसम्पन्न बनायो जसबाट सञ्चालकको हित केन्द्रित हुने किसिमबाट लगानीहरु हुन थाले । यस्ता प्रवृत्ति हुर्कनुमा सम्बन्धित सहकारी संस्थाहरुको कमजोरी त रहन नै गयो यसको अतिरिक्त सहकारी अभियन्ताहरु र यसका नेतृत्वकर्ताहरुमा सामयिक संवेदनशीलताको अभाव देखिन गयो । गलत कार्य गर्ने सहकारी संस्थाहरु र यसका सञ्चालकहरुलाई सही बाटोमा ल्याउन सहकारी संस्थाहरुका छाता संस्थाको भूमिका अवश्य नै प्रभावकारी वन्दथ्यो तर यो भूमिका त्यति अनुभूत हुने गरि उजागर हुन सकेन । नियामक निकायहरुको पनि यो मामिलामा कमजोर देखियो ।
अहिले केही सहकारी संस्थाहरु बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यसको नकारात्मक प्रभाव सवैजसो बचत तथा ऋण सहकारी संस्थाहरुमा पर्न गएको छ। यसले समग्र सहकारी अभियानमाथि नै प्रश्न उठिरहेको छ।
सहकारी क्षेत्रको आन्तरिक अनुशासन, नियामक निकायवाट हुने अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । समग्र सहकारी संस्थाको ठूलो हिस्सा वित्तीय कारोबार गर्दछ। बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबारकै प्राधान्यता रहेको छ । यस्ता कारोवारको जोखिम न्यूनीकरणका उपकरणहरुको प्रयोग हुन नसक्नु अर्को कमजोरीको क्षेत्र हो। नियमन पक्ष कमजोर र आन्तरिक अनुशासनको परिपालनामा सजगता नदेखाउने सहकारी संस्थाहरुको सहकारी मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदै गएको देखिएको छ ।
यिनै पृष्ठभूमिमा भर्खरै प्रथम सहकारी डिजिटल कन्क्लेभ समापन भएको छ । ‘डिजिटाइजिङ्ग को-अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ रष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक-आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न प्रथम सहकारी डिजिटल कन्क्लेभ सार्थक पहल हुन सक्ने देखिन्छ । सहकारी क्षेत्रलाई सन् २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्ने उद्देश्य सहकारी डिजिटल कन्क्लेभले लिएको छ । सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माण सुनिश्चित गरिनु पर्ने आवाज उठनु एउटा सकारात्मक कदम देखिएको छ ।
डिजिटल कन्क्लेभले सहकारीका सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन साझा दृष्टिकोण निर्माण गर्नु पर्ने कुरामा जोड दिएको छ ।
नेपालको सामाजिक-आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न गरिएको सामूहिक प्रतिवद्धतामा निम्न विषयहरु समावेश भएका छन् ।
१) डिजिटलाइजेसन प्रति प्रतिबद्ध: दक्षता, पारदर्शिता र समावेशीतालाई आत्मसाथ गर्दै सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न हामी प्रतिबद्ध छौं ।
२) नीति वकालत: सहकारी डिजिटलाईजेशन र नविनताका लागि अनुकुल वातावरण निर्माण गर्न हामी राष्ट्रिय स्तरमा सूचना, संचार र प्रविधि (आईसीटी) नीतिहरूको विकास र कार्यान्वयनको लागि वकालत गर्न प्रतिबद्ध छौं ।
३) सीप आदानप्रदान र क्षमता विकास: सदस्य र नेतृत्वलाई डिजिटल साक्षरतामार्फत आवश्यक सीप र स्रोतहरूबाट सुसज्जित गरी समुदायहरूमा सहकारी डिजिटलाइजेशनसँग सम्बन्धित ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न प्रतिबद्ध छौं ।
४) साइबर सुरक्षा: सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्न प्रतिवद्ध छौं ।
५) सहयोग र साझेदारी: सहकारीमा डिजिटल रुपान्तरणको गतिलाई तिव्र बनाउन सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवाला निकायहरुबीचसँग सहयोगात्मक साझेदारीलाई अभिबृद्धि गरी पारदर्शिता र जवाफदेहितामार्फत स्वनियमन र सुशासनलाई मजबुद बनाउन प्रतिबद्ध छौं ।
६) सशक्तिकरण र निरन्तर सुधार: सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन प्रतिबद्ध छौं ।
७) समावेशी र दिगो विकास: अभियानको इकोसिस्टमभित्र समावेशीता, लैङ्गिक समानता, युवा उत्प्रेरणा र वातावरणीय दिगोपनका विषयलाई प्राथमिकतामा राखी सहकारी डिजिटलाइजेसनमार्फत प्राप्त हुने लाभलाई समानुपातिक रूपमा सदस्यहरुमा वितरण गर्न प्रतिबद्ध छौं ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार