मधेश प्रदेशको सहकारी अभियानलाई थप सशक्त बनाउन नेफ्स्कून प्रतिबद्ध छ: ढकाल
पर्सा : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्सा र बारा जिल्लाका सहकारीकर्मीहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् ।
छलफलमा स्थानीय अभियानकर्मीहरुले सहकारीमा कर वृद्धि, जिल्लासंघ साझेदारी र सम्बन्ध, ऋण लगानी तथा असुलीमा देखिएका विविध समस्या, आदिबारे जिज्ञासा र सुझावहरु प्रस्तुत गरिएको थियो । छलफलमा नेफ्स्कून अध्यक्ष ढकालले कर वृद्धिको विषय सम्बोधनका लागि अर्थ मन्त्रीसँग व्यक्तिगत तवरमा र अभियानको तर्फबाट पनि प्रयास भैरहेको जानकारी गराए ।
यस्तै, जिल्ला संघहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लाने नेफ्स्कूनको मनसाय स्पष्ट पारे । उनले साकोस ऐनको विषयमा जिल्ला संघहरुबाट पनि आवाजहरु थप मुखरित भएर आउनुपर्ने बताए । त्यस्तै नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा आवद्धता र स्थिरीकरण कोषमा योगदानको विषय पनि आफ्नो धारण राखेका थिए ।
नेफ्स्कूनको नयाँ सञ्चालक समितिले मधेश प्रदेशको सहकारी अभियानलाई थप सशक्त बनाउन कुरामा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता ढकालले व्यक्त गरे । ‘मधेश प्रदेशको सहकारी अभियानलाई साथै लिएर नेफ्स्कून हिड्छ, ‘अध्यक्ष ढकालले भने, ‘हाम्रा बहसपैरवीहरुमा ऐक्यबद्धता र कार्यक्रमहरुमा यहाँहरुको दरिलो साथ र समर्थन आवश्यक पर्दछ ।’
एक अर्को प्रसङ्मा ढकाले ऋण तिर्नु सबैको दायित्व भएको उल्लेख गर्दै यस विषयलाई मनन् गर्न आग्रह समेत गरेका थिए । वित्तीय कारोबार संवदेनशील हुने भन्दै अध्यक्ष ढकालले समयमै किस्ता बुझाइ असल ऋणी बन्न सदस्यहरुलाई सबैले सिकाउनुपर्ने र संघहरुले पनि यो विषयलाई हेक्का राख्नुपर्ने सुझाए ।
छलफलमा नेफ्स्कूनका सञ्चालक सदस्य शोभा कुमारी राउत र निवर्तमान सञ्चालक हरेराम पटेल, राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित सञ्चालक सदस्य शम्भु गुप्ता, जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित, महासचिव जिस्नु बराल, जिल्ला बचत संघ बाराका अध्यक्ष सत्येन्द्र ठाकुर, लगायत विभिन्न साकोसका अध्यक्ष र व्यवस्थापकहरु पनि सहभागी थिए ।