२२ कात्तिक २०८३, आईतवार

राष्ट्रिय सहकारी महासंघमा चुनावी सरगर्मी बढ्यो, नविकरणको समयसीमा पौष २३ सम्म

२०८० पुष १९, बिहिबार
राष्ट्रिय सहकारी महासंघमा चुनावी सरगर्मी बढ्यो, नविकरणको समयसीमा पौष २३ सम्म

काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको ३१औं वार्षिक साधारण सभा यही पौष २७ र २८ गते हुँदैछ । साधारण सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । चुनावी साधारण सभा भएका कारण महासंघमा यतिबेला चुनावी सरगर्मी बढेको छ ।

महासंघको विनियम २०५० (संशोधन सहित) अनुसार २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । सञ्चालक समितिमा २४ जना निर्वाचित हुन्छन् भने निवर्तमान अध्यक्ष पदेन सञ्चालक रहने व्यवस्था छ । विनियम अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष एक/एक जना निर्वाचित हुने व्यवस्था छ । त्यस्तै उपाध्यक्ष ३ (एक महिला अनिवार्य), हरेक प्रदेशबाट एक/एक जना सञ्चालक, खुलातर्फ ९ जना, केन्द्रीय संघबाट ३ जना निर्वाचित हुने व्यवस्था छ ।त्यसैगरी लेखा समिति संयोजक १ र सदस्य २ जना निर्वाचित हुने व्यवस्था छ ।

महासंघले सदस्यता नविकरण र आवश्यक कागजात बुझाउने समयसीमा पौष २३ गतेसम्म मात्रै तोकेको छ । उक्त समयभित्र नविकरण र आवश्यक कागजात नबुझाउने सदस्यले साधारण सभामा भाग लिन नपाउने महासंघले जनाएको छ ।

महासंघको देशभर ३ सय १८ सदस्य छन् । आजसम्म करिब १ सय २५ सदस्यले मात्रै नविकरण गरी साधारण सभाका लागि योग्य भएका छन् ।

सदस्यता नविकरणको लागि सदस्य सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण प्रतिवेदन, महासंघको विनियम २०५० (संशोधन सहित) को दफा १२ (२) बमोजिम सदस्यता शुल्क, राष्ट्रिय प्रतिनिधि मनोनयन सम्बन्धी साधारण सभा वा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि र राष्ट्रिय प्रतिनिधि तोकि पठाउँदा राष्ट्रिय प्रतिनिधि विवरण फारम पूर्ण रूपमा भरी पठाउनुपर्ने महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले जानकारी दिईन ।

एक भन्दा बढी प्रतिनिधि पठाउनेको सहकारी संस्थाको हकमा मताधिकार प्रयोग गर्ने राष्ट्रिय प्रतिनिधि तोकि पठाउनु पर्ने महाप्रबन्धक सुब्बाले जानकारी दिईन ।

महासंघको विनियम अनुसार एउटा सदस्य सहकारी संस्थाबाट बढीमा ५ जना प्रतिनिधि आउन पाउँछ । तर, मताधिकार भने एउटा सदस्य सहकारी संस्थाबाट एक जनाको मात्रै हुन्छ ।

महासंघको अन्तिम बोर्ड बैठक पौष २५ गते बस्दैछ । २३ गते कार्यालय समयभित्र नविकरण भएका सदस्यको प्रमाणीकरण बोर्ड बैठकले गर्नेछ । उक्त बोर्ड बैठकले निर्वाचन निर्देशिका समेत पारित गर्नेछ।

अभिलेख

लोकप्रिय