३ वैशाख २०८३, बिहिबार

नेफ्स्कून नयाँ सञ्चालक समिति: पहिलो रिपोर्ट कार्ड चैत २० को प्रतिक्षा

२०८० पुष १९, बिहिबार
नेफ्स्कून नयाँ सञ्चालक समिति: पहिलो रिपोर्ट कार्ड चैत २० को प्रतिक्षा

काजी श्रेष्ठ
सहकारी अभियानमा लागेको करिब ३ दशकपछि अन्तत: चन्द्र प्रसाद ढकाल नेफ्स्कूनको अध्यक्ष बन्न सफल भएका छन् । ठूलो रस्साकस्सी पछि उनी नेफ्स्कूनको नेतृत्वमा पुगेका छन् । ‘काम गरेर देखाउन नेतृत्वमा नपुगी हुँदोरहेनछ’ भन्ने निष्कर्षसहित निर्वाचनको महासंग्राममा पूर्व तयारीका साथ होमिएका ढकाल अब काम गर्ने कुर्सीमा पुगेका छन् । नेपालका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कूनको पुस ७ र ८ गते सम्पन्न ३२औं वार्षिक साधारण सभाले ढकालको नेतृत्वमा १९ सदस्यीय सञ्चालक समिति तथा इन्द्रज्योति पौडेलको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति गरी २२ जना निर्वाचित गरेको छ ।
यो पटक नेफ्स्कूनमा दुबै समितिका सबै पदमा निर्वाचन नै भयो । निर्वाचन रोचक पनि भयो, घोचक पनि भयो अनि वर्षौ नबिर्सने थुप्रै किस्साहरु पनि निर्माण भए । इतिहासको कठघरामा ती किस्साहरु कसरी उभ्याइन्छ त्यो त समयलेनै बताउनेछ । जेहोस्, नेफ्स्कूनको सर्वोच्च निकाय साधारण सभाले नेतृत्व परिवर्तनमार्फत साकोस अभियानको रुपान्तरण, सुशासन र शुद्धीकरणको ढकालको चुनावी संकल्प र प्रतिबद्धतालाई ‘गो अहेड’ भनेर ‘ग्रीन सिग्नल’ दिएको छ ।
ढकाल नेफ्स्कूनको सातौं अध्यक्ष बनेका छन् । चुनावमा गठबन्धन गरेर होमिएका उनी ऋषिराज घिमिरेपछि लोकतन्त्रवादी कित्ताबाट संघको नेतृत्व गर्ने अध्यक्ष बनेका छन् । सहकारीवृत्तमा ‘नेकपा एमाले बचत तथा ऋण सहकारी संघ लि.’ भनेर चिनिने नेफ्स्कूनको खासगरी नेतृत्वमा चन्द्रको उदयलाई बडो अर्थपूर्ण रुपमा हेरिएको छ । उनको विजयले सहकारी क्षेत्रमा बलियो पकड बनाएका कम्युनिष्टहरुलाई साँच्चिकै रन्थन्याएको छ । यसले थुप्रै संकेतहरु देखाएको छ र भविष्यमा ती स्पष्ट हुँदै जाने आँकलन गर्न सकिन्छ । ढकालको विजय पछाडि खासगरी ३ महिना लामो चुनावी दौडधुप, पार्टीका तर्फबाट निर्विकल्प उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जालको सुव्यवस्थित अनि रणनीतिक सदुपयोग, व्यापक प्रचारप्रसार, गठबन्धन, उद्देश्य र विषयवस्तु केन्द्रित सवालहरुको उठान, आफ्नो जितको सुनिश्चितताका अभिव्यक्तिहरु र अनवरत सक्रियता नै प्राथमिक कारण बने । अनि उत्तिकै प्राथमिक कारणहरुमा, निवर्तमान नेतृत्वको आत्मकेन्द्रित कार्यशैली, अभियानको छविमाथि बढ्दो प्रश्न चिन्हहरु, सुशासनका विषयमा देख्दा स-साना लाग्ने तर बढो अर्थपूर्ण कामहरु, पारदर्शिता र इमानदारी आदि रहे । यीनै विषयलाई मुद्दा बनाएर ढकालले न्यू मिडियाको बुद्धिमत्तापूर्ण प्रयोगमार्फत आफ्ना संकल्प, योजना र प्रतिबद्धताहरु निर्वाचनका प्रतिनिधिसँगै सहकारी अभियानसम्म पुर्याए, जसले उनको जितमा भूमिका खेल्यो ।
नेफ्स्कूनको चुनावले परिणाम त देखायो तर परिणाम प्रगतिमा बदलिन्छ कि बदलिँदैन त्यो चुरो कुरा हो । अनि परिणाम खादा, माला, शुभकामना र सम्मानले तय गर्ने होइन । नेफ्स्कून नवनिर्वाचित सञ्चालकहरुले मनन् गर्नैपर्ने कुरा भनेको के हो भने ‘तपाईंहरुको यात्रा मात्र आरम्भ भएको हो, अन्त्य भएको होइन । यात्रा सुरु गर्दा सामान्य दही सगुन खाने हो, विजयोत्सव मनाउने होइन । तपाईंहरु प्रतिस्पर्धाका लागि छनौट हुनुभएको हो, प्रतियोगितामा विजयी हुनुभएको होइन ?’ ‘साकोस अभियान कप’ का लागि खेलाडी छनौट भएको मात्र हो ? विजेता बनेको होइन ? काम फत्ते गरेपछि सम्मान लिने हो, सुरु गर्दै होइन ।
नेफ्स्कून सञ्चालक समितिमा अघिल्लो सञ्चालक समितिका ७ जना दोहोरिनुभएको छ । एक जना त उही पदमा दोहोरिनुभएको छ । तपाईंहरूले अघिल्लो ४ वर्षमा के काम गर्नुभयो? सदस्य हितका के कस्ता काम गर्नुभयो? आफ्नो नेतृत्वको उपसमिति वा कुनै कार्यदलमा बसेर के काम गर्नुभयो जसको जस तपाईंलाई लिँदा गर्व लाग्छ? आत्मसमीक्षा गर्नुभएको छ? यदि, गर्नुभएको छ भने तपाईंहरु फेरि निर्वाचित (दलगत भागवण्डाबाट) भएको भोलिपल्टै माला खादा र सम्मान ग्रहण गर्दै हिड्न थाल्नुभयो? त्यो पनि आफ्नै संस्थामा, चिनेजानेका र साथीसर्कलका संस्थाहरुमा प्रायोजित तवरले? अनि आफ्नै शाखाहरुमा कर्मचारीहरुबाट खादा टीका र सम्मान थापेर? केही नयाँ गर्छौ भनेर आश देखाउने सञ्चालक समितिले सुरु गर्ने र देखाउने काम यी हुन्?

सहकारी अभियानसँग समस्याहरुको सगरमाथा छ । बचत फिर्ता गर्न नसकेका सहकारीका समाचारहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । छवि खस्कँदो छ, सहकारीको नाम मात्र पनि लिँदा भय र त्रासको वातावरण सृजना हुने परिस्थिति छ, अर्थतन्त्र संकुचनमा छ । विश्व बैंकदेखि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२४ मा आर्थिक वृद्धि दर खस्कने बताइसकेको छ । यस्तो अवस्थामा असरल्ल अभियानले स-सानादेखि रुपान्तरणकारी परिवर्तन खोजेको छ । कैयौं अनुत्तरित प्रश्नहरुको उत्तर खोजेको छ । अभियानले आश गरेको छ । आफ्नो अमूल्य मतसँगै असीम विश्वास तपाईंहरुलाई बुझाएको छ ।

त्यसैले, मापनयोग्य, अनुभवयोग्य, तारिफयोग्य परिणामहरु नआउञ्जेल सम्मान, माला र अभिनन्दनमा अघाउँने हक तपाईंहरुलाई छैन । प्रायोजित सम्मानका ‘समारोह’हरु बन्द गर्नुहोस् । तालिम, शिक्षा र प्राविधिक विषयका कार्यक्रममा उद्घाटन र समापन भनेर अटाइनअटाइ अतिथिहरुको लाइन लगाउने, बत्ती बाल्ने, माला लगाउने, खादा लगाउने, लम्बेतान भाषण गर्ने परिपाटी आजैबाट बन्द गर्नुहोस् । हिजोको गल्तीबाट पाठ सिक्नुहोस् । हिजो, निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पाम कार्यक्रमहरु भाषण गर्ने, भोट माग्ने थलो बने । एउटा विशुद्ध प्राविधिक कार्यक्रममा ४ देखि ५ जना सञ्चालकहरु अतिथि बनेर अशोभनीय आसन जमाए अनि त्यसैमा गर्व गरेर सामाजिक सञ्जालमा पोष्ट गरे । त्यो गल्ती अब नदोहोरियोस् । अन्यथा ‘रामराम’ भन्नुबाहेक केही गर्न सकिन्न ।

कम बोल्नुस्, नसक्ने कुरा नबोल्नुस् र थोरै बोलेका कामहरु भविष्यमा गुनासो सुन्न नपर्ने गरी पूरा गर्नुस् । सुरुवात साना काम बाट गर्ने हो, स-साना कामहरुको गठजोडले ठूलो नतिजा दिन्छ । अब तत्कालका लागि साकोस अभियानको ध्यान नेफ्स्कूनको आगामी बोर्ड बैठकतिर गएको छ । अबको सञ्चालक समितिको बैठकले के कस्ता निर्णय लिन्छ, के कस्ता कदम चाल्छ, के कस्ता खाका बुन्छ, त्यसले यसको सुरुवाती छनक दिन्छ । सदस्य अपेक्षा गरेर बसेका छन्, हात थापेर बसेका छन्, व्यग्र प्रतिक्षामा छन् । आफ्ना सेवासुविधा र खर्चहरु के कति कटौती गर्छ र सदस्यहरुलाई के-कस्ता सेवा सुविधा थप्छ ? अभियानका मुद्दाहरुमा नेफ्स्कून बोर्ड साझा बुझाइ बनाइ एक भएर अघि बढ्न सक्छ कि सक्दैन ? एक भएको जस्तो गर्छ कि साँच्चिकै एक हुन्छ । व्यवस्थापनको सहयोग कत्तिको हुन्छ ?

अनुभवी, निष्कलंक र सादगी छविका इन्द्रराज ज्योति पौडेल नेतृत्वको लेखा सुपरिवेक्षण समितिले काम कसरी गर्छ ? बोर्डको ‘एसम्यान’ बन्छ कि साँच्चिकै ‘वाचडग’ बनेर खबरदारी र पहरेदारी गर्छ ? बोर्डलाई व्यवस्थित गर्छ कि लथालिङ्ग छोड्छ ? त्यो पनि हेर्न बाँकी छ ।

नेफ्स्कूनको सञ्चालक समिति बोली र व्यवहारमा आर्दश बन्नुपर्छ । तपाईंहरुको खुवाइ, लवाइ, हिडाइ, बोलाइ र व्यवहार आर्दश बन्नुपर्छ, । तपाईंहरुले कतिपय कार्यक्रम, कतिपय व्यक्ति र कतिपय संस्था, कतिपय योजनालाई ‘नाइ’, ‘हुँदैन’, ‘यस्तो गर्न मिल्दैन’, ‘अब त हुँदै हुँदैन’, ‘हामीबाट यस्तो काम हुँदैन’ भन्न सक्नुपर्छ । तपाईंको जीवन पद्धति अनुसरणयोग्य बन्नुपर्छ । तपाईंहरु सच्चिएमात्र साकोस अभियान सच्चिन्छ । त्यो सुधार्ने, सच्चाउने, बनाउने, कतिपय कुरा बिनिर्माण गर्ने जिम्मा तपाईहरुको काँधमा छ । अब पार्टीको पछि होइन पद्धतिको पछि लाग्नुहोस् ।

नेफ्स्कूनले अब अल्पकालीन, मध्यकालीन र दीर्घकालिन योजना बनाउनुपर्छ । महत्वाकांक्षी योजना होइन धरातलीय यथार्थ बुझेर उपलब्धि हात लाग्ने र प्राप्य रणनीतिक कार्यक्रमहरु तय गर्नुपर्छ । सुशासनका विषयमा ‘स्ट्रिक्ट’ बन्नुपर्छ । खर्चमा कटौती गर्नुपर्छ, सदस्य सेवामा बढोत्तरी गर्नुपर्छ । प्रत्येक तीन महिनामा ‘मीट द प्रेस’ गरेर आफना उपलब्धि, कमजोरी र योजनाहरुबारे सञ्चारमाध्यमार्फत सुसूचित गराउनुपर्छ । हरेक सञ्चालक समितिको बैठकले सदस्य संघ संस्थाको हितका लागि गरेका निर्णयहरु बुँदागत रुपमा प्रबक्तामार्फत जानकारी गराउने परिपाटी विकास गरिनुपर्छ ।

नेफ्स्कून सञ्चालक समिति साँच्चिकै सम्मानको हकदार त्यतिबेला हुनेछ, जब यसले माथि भनिएका कामहरु गर्न सक्नेछ । त्यतिमात्र होइन, तपाईंहरुकै भाषामा जब साकोस ऐन संसदबाट पास गराउन सक्नुहुन्छ । जतिबेला अभियानले खोजेको कर्जा सूचना केन्द्र गठन भएर काम सुरु हुन्छ, जतिबेला ऋण असुली न्यायाधिकरण बन्छ, जतिबेला स्थिरीकरण कोषको संरचनागत परिवर्तनसँगै तपाईंहरुका ४६ सय बढी सदस्यले योगदान गर्छन् । विश्व अभियानले तपाईका गतिविधिहरुलाई प्रचार सामाग्री बनाउँछन् । अनि तपाई सम्मानको हकदार बन्नुहुनेछ ।

तपाईंहरु असली सम्मानको हकदार त्यतिबेला हुनुहुन्छ, जब साकोस अभियानले खोजेको, रोजेको र बहुप्रतिक्षा गरेको साझा एकीकृत प्रविधि तयार हुन्छ, जब साकोस भवन बिना कुनै बाह्य दायित्व बन्छ, जब अभियानका कुराहरु एक आपसमा बाझिँदैनन् । जब सदस्य संघ संस्थाहरु सबल हुन्छन्, समस्यामा पर्दा तुरुन्त तपाईंहरु उपस्थिति देखाउन सक्नुहून्छ, जिम्मेवारी लिन सक्नुहुन्छ, राष्ट्र बैंकले अन्य बैक तथा वित्तीय संस्थाहरुलाई ‘टेकओभर’ गरे जस्तै नेफ्स्कूनले पनि समस्यामा परेका संस्थाहरुको ‘टेकओभर’ गर्न सक्छ, सञ्जाल सम्बन्धमा स्पष्टता आउँछ, जब संस्थाका गतिविधिहरु एकीकृत रुपमा प्रत्यक्ष अनुगमन तथा सुपरिवेक्षण (लाइभ मनिटरिङ एण्ड सुपरभिजन) गर्न सक्नुहुन्छ । केन्द्रीय तरलता कोष निर्माण भएर जब बलियो बन्छ । माला खादा र सम्मान त्यतिबेला ग्रहण गर्नुहोस् जतिबेला तपाईंको अन्तरआत्माले ठान्नेछ ‘मैले साँच्चिकै केही राम्रो काम गरेँ ।’ मानिसले अरुलाई ढाट्न सक्छ तर आफैलाई सक्दैन । तपाईको प्रत्येक कामको मूल्याङ्कन इतिहासले पक्कै गर्नेछ ।

बाहिरबाट देखिने नेफ्स्कूनका आन्तरिक चुनौतीहरु पनि थुप्रै छन् । सञ्चालकहरुको सेवा सुविधा र भत्तामा भारी कटौती, सेवा केन्द्रहरुको व्यवस्थापन, नातावाद र कृपावादको भरमा जागिर खाएका (अधिकांश) कर्मचारीहरुको कार्यबोझ मिलान, आदि हुन् । नेफ्स्कूनले प्रत्येक वर्ष ‘वितरण’ गर्ने (खासमा ‘प्रदान’ गर्नुपर्ने) पुरस्कारको विधि र प्रक्रियाका विषयहरु प्रति पनि सर्वत्र चासो पाइन्छ । ‘कसलाई कुन आधारमा कसरी र किन पुरस्कृत गरियो ’? भनेर बैज्ञानिक, निष्पक्ष र विधिसम्मत् मापदण्ड बनाउनुपर्ने र सार्वजनिक गर्नुपर्ने आवश्यकता छ । मनलागेका र आस्थाको आधारमा पुरस्कार बाँढ्दा सम्मानको गरिमा रहँदैन । पुरस्कारका मापदण्डहरु र मार्किङ ‘स्किम’ सार्वजनिक गर्नुहोस् ताकि काठमाडौंदेखि कोहलपुरसम्मका साकोसहरुले घरमै बसेर फलानोले यो पटक नेफ्स्कूनको यो पुरस्कार यसकारण यति अंकभार पाएर प्राप्त गर्यो भनेर आफै निष्कर्ष निकाल्न सकुन् । गतल गर्ने कर्मचारीलाई कारबाही गरेको र असल काम गर्नेलाई पुरस्कृत गरेको सुन्न हेर्न देख्न पाउन् ।

यसैगरी, संघले अन्तर्राष्ट्रिय सम्बन्धहरुबाट अधिकतम लाभ लिन सक्नुपर्दछ । तालिम र शिक्षालाई सदस्योपयोगी, सर्वसुलभ र सहज बनाउँदै स्तरीकरण कार्यक्रमको खस्कदो स्तरको ख्याल राख्नुपर्ने आवश्यकता पनि नेफ्स्कूनसँग रहेको छर्लङ्ग छ । अर्को भनेको, सञ्चालक समिति र कर्मचारीको अनुशासन र सार्वजनिक छवि सुधार नेफ्स्कूनमा आवश्यक छ । सामाजिक सञ्जालमा अभियन्ताहरुले दलगत विषयहरु पोष्ट गर्ने, (नयाँ सञ्चालक समितिबाट पनि त्यही काम भएको), कसैलाई गाली र आक्षेप लगाउने, कसैको सत्तोसराप गर्ने आदि नभई अभियानलाई मार्गनिर्देशित गर्ने, उत्प्रेरित गराउने, सचेत र सजग गराउने अनि सिक्ने र सिकाउने कुराहरु पोष्ट र सेयर गर्ने अनुशासन कायम गर्नुपर्ने आवश्यक छ । अनि, व्यवस्थापन र बोर्डको फेसबुक जुहारी पनि आगामी दिनमा नचल्ने अनुशासन आवश्यक छ ।

झट्ट हेर्दा, यो पटकको नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिको बनोट बढी समावेशी देखिन्छ । अघिल्लो समितिभन्दा यो समितिमा महिला सहभागिता बढेको छ । अनपेक्षित तर प्रतिनिधित्वको हिसाबले आउनुपर्नेहरु आएका छन् । विचारको विविधता पाइन्छ । अनुभवी र नयाँको सम्मिश्रण पनि छ । तर, सँगै चुनावमा गरेको गठबन्धनको असर सञ्चालक समितिको बैठकमा कुन रुपमा देखा पर्छ ? त्यो भने हेर्न बाँकी छ ।

जे होस्, नेफ्स्कून नेतृत्वमा लागेको ‘चन्द्र’ ग्रहण हटेको छ । हिजो अरुलाई औंला उठाउने, प्रश्न गर्ने र सामाजिक सञ्जालमार्फत तातो प्रतिक्रियामा उत्रने ढकालले अब ती अवसर अरुका लागि दिन्छन् कि उनीहरुको मुखमा बुजो लगाउन सक्छन् त्यो भने हेर्न बाँकी छ । नयाँ सञ्चालक समितिको ‘हनिमुन पिरियड’ कस्तो रहन्छ पहिलो साँचो समीक्षा त्यो बेलासम्म सम्भव भैसक्नेछ । संयोग कस्तो परेछ भने नेफ्स्कूनको नयाँ सञ्चालक समितिले पदबहाली गरेको १ सय दिन नेपालको सहकारी अभियानले राष्ट्रिय सहकारी दिवस मनाउँदै हुनेछ । नेफ्स्कूनको नयाँ सञ्चालक समितिको पहिलो ‘रिपोर्ट कार्ड’ पनि त्यतिञ्जेल सम्म तयारी भैसक्नेछ । त्यो रिपोर्ट कार्ड हामी सार्वजनिक गर्नेछौं । अब प्रतिक्षा २०८० साल चैत २० गतेको ।

(लेखक सहकारीखबरका सम्पादक हुन्)

अभिलेख

लोकप्रिय