२२ भदौ २०८३, सोमबार

जिल्ला सहकारी संघ कास्कीको ५०औं साधारण सभा: सदस्यलाई १८ प्रतिशत लाभांश

२०८० पुष १५, आईतवार
जिल्ला सहकारी संघ कास्कीको ५०औं साधारण सभा: सदस्यलाई १८ प्रतिशत लाभांश

पोखरा : जिल्ला सहकारी संघ, कास्कीको ५०औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । संघकी अध्यक्ष सावित्रा कोइरालाको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभा उद्घाटन गर्दै कंडेलले सहकारी क्षेत्रमा देखिएको समास्या समाधानमा सबैले हातेमालो गर्नुपर्ने बताए । उनले एउटाको बद्मासीले समग्र सहकारी क्षेत्र नै बद्नाम हुने अवस्था आएको भन्दै यस्तो हुन नदिन सबै सहकारीका सञ्चालकहरु सचेत हुन आवश्यक रहेको बताए ।

अध्यक्ष कंडेलले समुदायमा आधारित भइ ऐन नियम भित्र रहेर सुशासन कायम गर्दै सहकारी सञ्चालन हुनुपर्ने भन्दै सहकारीमा लागेकाहरुले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले स्वनियमबाट सहकारी सञ्चालन हुनुपर्ने खाँचो औंल्याए । उनले सहकारी ऐन, नियम, नीति र विधिबाट सञ्चालन गर्नुपर्ने भन्दै स्वार्थ केन्द्रित भएर सहकारी सञ्चालन गर्दा विभिन्न खालका समस्या निम्तिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष सावित्रा कोइरालाले संस्थाको वार्षिक गतिविधि र भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लेखा समिति सदस्य चन्द्र कुमारी पराजुली, सप्तगण्डकी दुग्ध उत्पादक संघका अध्यक्ष पूण्यप्रसाद पौडेल, सहकारी म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइराला, नेफ्स्कुनका सञ्चालक कमला गिरी लगायतले सहकारीहरुको पछिल्लो समस्या समाधान गरेर अघि बढ्नुपर्ने र सहकारी क्षेत्रमा देखिएका विकृति, विसंगति अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

संघकी अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्विका गौतमले सहकारी सिद्धान्त वाचन र महासचिव दीपक बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

साधारण सभाले आर्थिक वर्ष २०७९८०को मुनाफाबाट सदस्यलाई १८ प्रतिशत लाभंश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

अभिलेख

लोकप्रिय