२२ कात्तिक २०८३, आईतवार

कर्णाली साकोसका सचिव भुपाल बस्नेतको बदमासी, संस्थाको पैसा सुटुक्क आफ्नो खातामा

२०८० पुष ११, बुधबार
कर्णाली साकोसका सचिव भुपाल बस्नेतको बदमासी, संस्थाको पैसा सुटुक्क आफ्नो खातामा

काठमाडौं : झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिव भुपाल बस्नेतले बदमासी गरेको भेटिएको छ । सचिव बस्नेतले संस्थाको पैसा आफ्नो खातामा सुटुक्क सारेर बदमासी गरेका हुन् । सचिव बस्नेतलाई तत्काल कारबाही गर्न सदस्यहरुले सञ्चालक समितिलाई निवेदन समेत दिएका छन् । संस्थाका ५३ जना सदस्यहरुले दिएको निवेदनको बोदार्थ झापा जिल्ला सहकारी संघ र प्रदेश रजिष्ट्रारलाई समेत पठाएका छन् ।

सचिव बस्नेतले स्वास्थ्य शिविरमा बचेको रकम व्यक्तिगत खातामा राखेको बदमासी गरेका हुन् । आर्थिक वर्ष ०७८/७९ को बजेटबाट कर्णाली बचत तथा ऋण सहकारी संस्थालाई बनियाँनी क्षेत्रमा चेतना मुलक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न २ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेट रकम कचनकवल गाउँपालिकामार्फत ०७९ असार २० गते प्राप्त भएको थियो । कर्णाली सहकारी संस्थाका सचिव भुपाल बस्नेतको संयोजकत्वमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश सरकारबाट प्राप्त २ लाख रुपैयाँ मध्ये गाउँपालिकाको कार्यालयले १.५ प्रतिशत टिडिएस काटेर १ लाख ९७ हजार रुपैयाँ संस्थाको गरिमा विकास बैंकमा रहेको खातामा जम्मा गरेको थियो ।

स्वास्थ्य शिविरमा १ लाख ३६ हजार ८ सय २० रुपैयाँ खर्च भएको थियो । शिविरमा खर्च गरेर बाँकी रहेको ६० हजार १ सय ८० रुपैयाँ रकम संस्थाका सचिव बस्नेतले सहकारी मै रहेको आफ्नो खातामा जम्मा गरेको प्रमाण सहकारीखबरले प्राप्त गरेको छ । कार्यक्रम सञ्चालनका लागि संस्थागत निर्णय समेत भएको छैन । संस्थाको नाममा बजेट परेको तर कार्यक्रमबाट बचेको पैसा सचिवले संस्थाबाट आफ्नो खातामा सारेर बदमासी गरेका हुन् ।

कार्यक्रममा खर्च भई बाँकी रहेको रकम संस्थाकै आम्दानीमा राख्नुपर्नेमा व्यक्तिको खातामा जम्मा गरिएको भन्दै सदस्यहरुले छानविनको माग गरेका हुन् । सदस्यहरुले तत्कालिन लेखा समितिले समेत शिविरको हिसावबारे वेवास्था गरेको भन्दै संयोजकलाई बर्खास्त गर्नुपर्ने माग अघि सारेका छन् ।

उक्त विषयमा छानविन नभए कानुनी उपचारको बाटो रोज्ने चेतावनी समेत सदस्यहरुले दिएका छन् ।

 

अभिलेख

लोकप्रिय