नेफ्स्कूनको निर्वाचन पछिको सहकारीका दायित्वहरु
– डा. दामोदर रेग्मी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३२ औं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु भर्खरै निर्वाचित भएका छन् । सहकारी संघ/संस्थाहरुको सामयिक रुपमा साधारण सभा हुनु र नियमित निर्वाचन हुनु सकारात्मक प्रक्रिया हो । विभिन्न तहका सहकारी संस्थाहरुमा यस कार्यले समेत नियमितता नपाइ रहेको सन्दर्भमा यो आफैमा राम्रो कदम हो । यसपटकको यो साधारण सभा र निर्वाचनको विशिष्ट महत्व रहेको छ ।
निर्वाचनमा को विजेता भयो र को पराजित भयो भन्दा पनि सहकारी अभियान विजयी भयो वा भएन? कि कतै निर्वाचनको क्रममा देखिएको राजनैतिक गन्ध कतै सहकारी अभियान माथि हावी हुने हो कि? सहकारीका मूल्य, मान्यता र आदर्श सुदृढ गर्ने इच्छाशक्ति सवल भैरहेको छ छैन? सहकारी अभियान भित्र नजानिदो तवरले बिग्रदै गएको संस्थागत सुशासनको आयाममा गलत तत्वलाई हावी हुन नदिने र सो को निराकरण गर्न स्वयं अभियान नै तत्पर र सक्षम छ छैन? भन्ने प्रश्नहरु भने जिउँदै छन् । यो प्रश्न विजेता माथि मात्र होइन पराजित प्रति पनि तेर्सिएको छ । सहकारी अभियान आफैमा समुदायको उत्थान गर्दै सामाजिक सौहार्दता कायम गर्न सामाजिक न्यायको प्रबर्ध्दन गर्न र समग्रमा सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्र निर्माणमा योगदान गर्न सक्ने सामर्थ्य भएको अवधारणा हो । यो गुरुत्तर दायित्व निर्वाह गर्न हाम्रा अभियन्ता र समग्र अभियान कति सक्षम छ त्यसको व्यवहारिक उत्तर खोज्ने समय पनि अहिले हो । सहकारी अभियानकर्मी मात्र होइन यस प्रति चासो राख्ने सबै सरोकारवालाहरुले आशावादी भविष्यको परिकल्पनामा उत्तर खोजिरहेका छन् ।
सहकारी संस्थाले सदस्यको बचत फिर्ता नगरेको, संचालकहरू फरार भएको वा सहकारी संस्था डुबेको भन्ने जस्ता समाचार आउने गरेको र यो समस्या विकराल बन्दै गइरहेको सन्दर्भमा नेपाल सरकारले केही महिना अगाडी सहकारी समस्या समाधान सुझाव कार्यदल समेत गठन गरेको थियो र यस्ता कार्यदलहरु यसपूर्व समेत गठन भएका थिए । देशको अर्थतन्त्रको एउटा खम्बा सामाजिक न्यायको प्रवद्र्धनमा योगदान पुर्याइरहेको वित्तीय साक्षरता, वित्तीय पहुँच एवं वित्तीय समावेशीकरण, महिला सशक्तीकरण, लोकतान्त्रिक अभ्यास एवं सामाजिक पूँजी निर्माणमा धेरै ठूलो भूमिका खेलेको सहकारी संस्था विशेष गरि बचत तथा ऋण सहकारी संस्थाहरुमा बचतकर्ताको बचत सुरक्षा हुन नसकेको र माग गरेका बखत बचत फिर्ता नभएका घटनाहरुले समग्र सहकारी अभियान माथि विश्वासको संकट पैदा हुन पुग्यो । यस्तो वातावरणले सहकारीको मूल्य र मान्यता प्रति प्रतिबध्द रहेका र अनुशासनको परिपालना गरेका सहकारी संस्थाहरु अन्यायमा पर्न पुगे ।
मूलत: सहकारी अभियान गलत थिएन यसका सिध्दान्त मूल्य र मान्यताहरु गलत थिएनन् । तर यसका केही पात्रहरुको गलत प्रवृत्तिका कारणले समग्र सहकारी अभियान प्रतिरक्षात्मक स्थितिमा पुगेको छ यसलाई यथास्थितिमा ल्याइ पुनर्जीवन दिने दायित्व वर्तमान नेतृत्व र अभियन्ताहरु समक्ष रहेको छ । यसमा नियामक निकाय सहकारी विभाग पनि प्रभावकारी भूमिका सहित अगाडी बढ्नु आश्यक छ । एकात्मक राज्य प्रणालीमा रहेको सकारी विभागको तत्कालीन भूमिकामा संकुचन आएको भएपनि संघीय संरचनामा यसका दायित्वहरु थप विस्तार भएका छन्। सो अनुरुपको भूमिका निर्वाह गर्न सहकारी विभागको सकारातमक भूमिकाको अपेक्षा सरोकारवालाहरुले गरिरहेका छन् । अहिले पनि समुदायमा आधारित, सुशासनमा संचालन भएका सहकारी संस्थाहरूले आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । तर, पछिल्लो समय कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि समग्र सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ । समग्र सहकारी क्षेत्रको नै विश्वसनीयता गुम्न थालेको छ । राम्रा काम गर्नेहरु पनि गलत काम गर्नेको कारणबाट सशंकित हुनु पर्ने वातावरण सिर्जना हुनु किमार्थ राम्रो होइन ।सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्ने परिपाटीको अन्त्य गर्न राम्रा लाई प्रोत्साहन र नराम्रालाई कानूनी दायरामा ल्याउन सक्नु पर्दछ । यस कार्यमा समेत सहकारी अभियानको सकारात्मक भूमिका रहनु आवश्यक छ ।
सहकारी क्षेत्रको आन्तरिक अनुशासन, नियामक निकायवाट हुने अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । सहकारी क्षेत्रको आन्तरिक अनुशासन कायम गर्नमा नेफ्स्कूनको वर्तमान नेतृत्व समक्ष अव ढिलो गर्ने सुविधा छैन । समग्र सहकारी संस्थाको ठूलो हिस्सा वित्तीय कारोबारमा संलग्न रहेका छन् । बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबारकै प्राधान्यता रहेको छ । यस्ता कारोवारको जोखिम न्यूनीकरणका उपकरणहरुको प्रयोग हुन नसक्नु अर्को कमजोरीको क्षेत्र हो । नियमन पक्ष कमजोर र आन्तरिक अनुशासनको परिपालनामा सजगता नदेखाउने सहकारी संस्थाहरुको सहकारी मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदै गएको देखिएको छ । यस्ता कमीकमजोरीहरुको न्यूनीकरण गर्न नेफ्स्कूनको वर्तमान नेतृत्व प्रोएक्टिभ हुनु आवश्यक छ ।
सहकारी संस्थाहरुमा स्वस्अनुशासनको परिपालना हुन नसकेको क्षेत्र एकै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन नसक्ने प्राबधानको पूर्ण कार्यान्वयन हुन नसक्नु पनि हो यस्ता कमीकमजोरी वा गलत प्रवृत्तीलाई बढावा दिने वा चूपचाप बस्ने छुट वर्तमान नेतृत्वलाई छैन।
केही सहकारी संस्थाहरुमा कायम हुन नसकेको संस्थागत र स्व अनुशासनको कारणले समग्र सहकारी अभियानमा जसरी प्रश्न उठेको छ यसमा सहकारी संस्था र संचालकहरु तथा नियामक निकायहरु संवेदनशील बन्नु अपरिहार्य छ । यसका लागि सहकारी संघ/संस्थाहरूको सुसंचालन तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप सहकारी आन्दोलनलाई सशक्त बनाउंदै सहकारी संस्कृतिको निर्माण तथा उद्देश्य प्राप्तिका लागि बल पुर्याउन संघ/संस्थाको पदीय दायित्वमा रहने समिति/उपसमितिका सदस्यहरू, साधारण सदस्यहरू र कर्मचारीहरूको क्रियाकलापलाई जिम्मेवारीपूर्ण इमान्दार, अनुशासित, पारदर्शी सुशासन एवं मर्यादित बनाउन तयार गरिएको आचार संहिता र सहकारीमा सुशासनको अवधारणाको पूर्ण परिपालना हुनु आवश्यक छ । सहकारी क्षेत्रले केही विषयहरुमा दिगो नीतिको सम्बोधन खोजिरहेको छ । स्थिरीकरण कोषको प्रबर्ध्दन, बचत र कर्जा सुरक्षण कोषको निर्माण, कर्जा सूचना केन्द्रको स्थापना वित्तीय सहकारी संस्थाहरुको विशिष्ट संचालन प्रणाली, सम्पत्ती शुध्दीकरणबाट मुक्त सहकारी संस्था निर्माण तर्फ अग्रसरता अर्थतन्त्रको एउटा कमजोर खम्बा होइन सामाजिक उर्जा र सामाजिक सौहार्दताको प्रखर संभावना सहितको विश्वासिलो खम्बा बनाउने जस्ता पक्षहरुमा व्यापक मात्रामा नीतिगत सम्बोधनको आवश्यकता छ । यी विषयहरुमा समग्र सहकारी अभियान र अभियन्ताहरुवाट सकारात्मक पृष्ठपोषणको आश्यकता छ । यी नीतिगत पक्षहरुको तर्जुमा कार्यान्वयन र परिपालनाको आयामलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने वारेमा अभियान भित्रै विज्ञहरुको अध्ययन कार्य समूहको पनि आवश्यकता देखिन्छ ।
निर्वाचन पछि प्राप्त हुने विजयमाला, फूलगुच्छा, खादा र अवीर हरुले यी दायित्वहरु सुम्पेका हुन्छन् । यी दायित्व विजयीहरुमा स्वभावत बढी नै हुन्छ तर पराजित पक्ष संग पनि ठूलो मत रहेको हुन्छ ।यसर्थ यी दायित्वहरु पराजित पक्षका पनि साझा दायित्व बन्न पुग्दछन् । यी कार्यहरुमा नेफ्स्कूनको वर्तमान नेतृत्व र समग्र सहकारी अभियान पक्कै पनि सहकारी क्षेत्रको गुम्दै गएको साखलाई पुनर्जीवन दिने कमर्यमा दत्तचित्त रहनु आश्यक छ । राजनीतिक वा विभेदलाई प्रश्रय दिने वादवाट प्रभावित नभै आर्थिक सामाजिक र सामुदायिक उन्नतिको साझावाद सहकारी अभियानको साझा अवधारणा बनाउनु पनि उत्तिकै आवश्यक छ ।
यसरी पालना गरिनु पर्ने क्षेत्रहरु निम्नानुसार रहेका छन् ।
– सहकारिताका मूल्य, मान्यता र सिद्धान्तहरूलाई व्यवहारमा उतार्न र सहकारी संघ/संस्थालाई सशक्त रूपमा सुसंचालन गर्दै सहकारी आन्दोलनलाई प्रभावकारी र आदर्श बनाउने,
– सहकारी संघरसंस्थामा आवद्ध सदस्यहरूको व्यक्तिगत एवं सामाजिक क्रियाकलापलाई मर्यादित एवं आदर्श युक्त बनाउने,
– संघरसंस्थाका क्रियाकलापलाई नियमित, व्यवस्थित, अनुशासित एवं पारदर्शी बनाउदैं सुशासन र सहकारी संस्कृतिको निर्माण गर्ने ,
– सदस्य तथा पदाधिकारीहरूको काम कारवाही उत्तरदायी एवं जवाफदेही बनाउने,
– संघरसंस्थाको व्यवसायिक कारोवार तथा व्यवस्थापनमा सुधार ल्याउने ।
– सहकारी संघरसंस्थामा पदिय दायित्व वहन गर्ने सदस्यहरूलेसहकारी मूल्य, मान्यता, सिद्धान्तहरू तथा सहकारी ऐन, नियम, विनियम, नियमावली, निर्णय र सम्झौताको अनिवार्य पालना गर्नुपर्ने,
– दलगत राजनीति, धर्म, जात, जाति, लिंग, वर्ण, भाषा आदिका आधारमा भेदभाव रहित व्यवहार गर्नु पर्ने,
– संस्थाको व्यवसायिक कारोवारको सिलसिलामा कुनै किसिमको उपहार, दान, दातव्य, घुस, चन्दा आदि लिन/दिन नहुने,
– संघ/संस्था तथा अन्य सरोकारवाला व्यक्तिहरूको स्वाभिमान तथा आदर्शको सम्मान गर्दै निस्पक्ष एवं समानताको आधारमा नम्र व्यवहार गर्नु पर्ने,
– नियम विपरित काम गराउनका लागि भनसुन गर्न, दवाव दिन र दवाव स्वीकार गर्न नहुने,
– आफ्नो दायित्व इमान्दारीपूर्वक समयमानै सम्पन्न गर्नु पर्ने र सम्बन्धित पक्षरव्यक्तिरसमूहलाई सहयोग गर्नु पर्ने,
– आफ्नो पदीय दायित्वको दुरूप्रयोग गरी व्यक्तिगत लाभ लिन वा दलगत राजनैतिक स्वार्थ पूर्ति गर्न नहुने,
– संघ/संस्थाको उद्देश्य अनुरूप कार्य योजनाहरूको तर्जुमा गरी कार्य संचालन गर्नु गराउनुपर्ने,
– जानी जानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संघ/संस्थाको आदर्श तथा हित विपरित हुने कुनै पनि क्रियाकलापमा संलग्न हुन नहुने,
– संघ/संस्थासंग कुनै पनि प्रकारको सापटी लिन नहुने, बुझाउनु पर्ने पेश्की, ऋणरकिस्ता समयमानै चुक्ता गर्नु पर्ने र कुनै पनि प्रकारको हिनामिनामा संलग्न हुन नहुने,
– संघ/संस्थासंग नियमित कारोवार गर्नु तथा सम्भव भएसम्म संघरसंस्थाबाट उत्पादित वस्तु र सेवाहरूको प्रयोगमा प्राथमिकता दिने,
– संघ/संस्थाको अहित हुने गरी प्रतिस्पर्धी हुने खालको कुनै व्यक्तिगत व्यवसाय वा कारोवार संचालन गर्न नहुने,
– सांस्कृतिक एवं पारिवारिक रितिरिवाज अनुसार सम्पन्न गरिने सामाजिक व्यवहारलाई शिष्ट, सामान्य र मितव्ययी बनाई समाजमा नमुनाको रूपमा रहन प्रयत्नशिल रहने,
– व्यक्तिगत लाभ आर्जन हुने गरी आफु आवद्ध रहेको संघरसंस्थासंग कुनै प्रकारको शर्त, सम्झौता, करार गरी कुनै ठेक्का, पट्टा वा योजना संचालन गर्न नहुने,
– राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघहरू तथा राष्ट्रिय सहकारी बैंकको पदिय दायित्वमा रहेको सदस्यहरूले आफु सम्बद्ध रहेको संघबाट व्यक्तिगत ऋण लिन नहुने,
– पदीय दायित्व वहन गर्ने सदस्यहरूले कुनै बैंक, वित्तीय संस्था तथा सहकारी संघरसंस्थामा भाखा नघाई ऋण नतिर्ने ऋणीहरूको सूचीमा सुचिकृत हुनु नहुने ।
– सहकारी संघरसंस्थाका सदस्यहरूले सहकारीका मूल्य, मान्यता, सिद्धान्त तथा सहकारी ऐन, नियम, विनियम, नीति निर्णयहरूको पूर्ण पालना गर्नु पर्ने,
– संघ/संस्थाको साधारण सभा तथा अन्य कार्यक्रमहरूमा सकृयतापूर्वक सहभागिता जनाउनु पर्ने,
– संघ/संस्थामा नियमित कारोवार गर्ने तथा संघ/संस्थाको व्यवसायिक कारोवारमा क्षमता अनुसार सहभागिता जनाउने,
– संघ/संस्थाको हैसियत प्रयोग गरी नाजायज फाईदा लिन नहुने,
– संघ/संस्थालाई बुझाउनु पर्ने पेश्की, ऋण, किस्ता तथा आफुले बुझाउन कवुल गरेको रकम तोकिएको समयमा नै भुक्तानी गर्नुपर्ने,
– सेवाग्राही सदस्य समेतलाई धर्म, जात, जाती, लि·, वर्ण, भाषा, दलगत राजनीति आदिका आधारमा भेदभाव गर्न नहुने र हरेक व्यक्तिसंग नम्रता तथा आदरपूर्वक व्यवहार गर्नुपर्ने,
– प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संघरसंस्थाको उद्देश्य तथा हित विपरित हुने कुनै पनि क्रियाकलापमा संलग्न हुन नहुने,
– संघ/संस्थाबाट संचालन गरिन सामुदायिक विकास निर्माणका कार्यहरूमा आवश्यकता र निर्णय अनुसार सहयोग प्रदान गर्ने,
– सहकारी संघ/संस्थाबाट प्रदान गरिने सेवाहरू तथा उत्पादित वस्तुहरूको प्रयोग गर्ने बानी बसाल्ने ।
– वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुले परम्परागत बैंकिंग अवधारणा अनुरुपको कार्य नगरी विशिष्ट बैंकिंग अवधारणा अनुरुपको कार्यमात्र गर्ने ।
– वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुले सम्पत्ति शुध्दीकरणका संभावित जोखिम नियन्त्रण गर्न आवश्यक सचेतना अपनाउने ।
– सहकारी संस्थामा आन्तिरक नियन्त्रणको प्रभावकारी व्यवस्था मिलाउने ।
– सहकारी संस्थामा संस्थागत सुशासनको व्यवस्था मिलाउने ।
नेपाल सरकार अन्तर्गतको सहकारी विभाग, प्रदेश र स्थानीय तहका सहकारी क्षेत्र हेर्ने निकायले सहकारी क्षेत्रलाई अनुशासनयुक्त र विश्वासिलो संस्था बनाउनमा आवश्यकता अनुसार नियमन र सहजीकरण गर्नु आवश्यक देखिन्छ । अर्थतन्त्रको एउटा खम्वा समुदाय सशक्तिकरणको प्रखर संभावना बोकेको र सामाजिक सौहार्दतामा आधारित अर्थतन्त्रको धरोहरको रुपमा रहेको सहकारी अभियान समक्ष अब अभियानमा भित्रिएका विकृतिहरुको नियन्त्रण गरि यसको साख र भूमिकालाई पुनर्जीवन दिनु आवश्यक छ । सहकारी संस्थाहरु र सञ्चालकहरु अनुशासनको आयाममा आफै अग्रसर र अनुकरणीय बन्नु आवश्यक छ। जसरी शरीर सफा राख्न टाउको देखिनै नुहाउनु पर्दछ त्यसरी नै नेतृत्व बाटै सदाचारितार अनुशासनको परिपालनाको शुरुवात हुनु आवश्यक छ साथै नियामक निकायहरुको पनि नियमन र अनुगमन क्षमता प्रभावकारी हुनु आवश्यक छ ।
(डा. दामोदर रेग्मी अर्थ र प्रशासनविद् तथा गीतकार हुन्)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार