२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनको निर्वाचन: यस्तो छ विनियममा व्यवस्था

२०८० पुष ५, बिहिबार
नेफ्स्कूनको निर्वाचन: यस्तो छ विनियममा व्यवस्था

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३२औं वार्षिक साधारणसभा आउन दुई दिन मात्र बाँकी छ । साधारण सभाको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन कार्यतालिका अनुसार पौष ७ गते ३:१५ देखि ५ बजेसम्म उम्मेदवारको दरखास्त समय रहेको छ । नयाँ नेतृत्वका लागि पौष ८ गते १ बजेदेखि मतदानको कार्यक्रम रहेको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था गरिएकाले समयमै मत परिणाम आउने नेफ्स्कूनले जनाएको छ ।

विनियम अनुसार नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एक/एक जना चुनिन्छन्  । वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । अन्य १४ जना सञ्चालक सदस्य निर्वाचित हुन्छन् । सञ्चालक समितिमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना सदस्य समितिमा आउनुपर्छ । चार जना सञ्चालक खुलाबाट निर्वाचित हुन्छन् भने तीन जना सञ्चालक महिलाका लागि आरक्षण गरिएको छ । त्यस्तै तीन सदस्यीय लेखा समितिमा एक जना महिला अनिवार्य गरिएको छ ।

साथै सहकारी ऐन २०७४ ले सञ्चालक समितिमा कम्तीमा ३३ प्रतिशत महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

नेफ्स्कूनको पदाधिकारीमा निर्वाचित हुन कम्तिमा एक कार्यकाल सञ्चालक समिति वा लेखा सुपरीवेक्षण समितिमा रहेर काम गरेको हुनुपर्नेछ व्यवस्था छ । त्यस्तै सञ्चालक समिति वा लेखा सुपरीवेक्षण समितिकाे सदस्यमा आउन नेफ्स्कूनको सदस्य रहेको संस्थामा कम्तिमा एक कार्यकाल पदाधिकारी रहेर काम गरेको हुनुपर्ने व्यवस्था छ ।

सहकारी ऐनमा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था छ । कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वत नरहने समेत सहकारी विभागले जनाएको छ । केही समय अघि सहकारी विभागले सोही अनुसार नेफ्स्कूनलाई पत्राचार गरेको थियो । विभागको पत्र अनुसार नै कानुन कार्यान्वयन गराउने तयारी नेफ्स्कूनको छ ।

अभिलेख

लोकप्रिय