२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनमा परितोष पौड्याल भर्सेस चन्द्रप्रसाद ढकाल, कसले मार्ला बाजी?

२०८० पुष ५, बिहिबार
नेफ्स्कूनमा परितोष पौड्याल भर्सेस चन्द्रप्रसाद ढकाल, कसले मार्ला बाजी?

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३२औं वार्षिक साधारणसभा आउन दुई दिन मात्र बाँकी छ । निर्वाचनसहितको साधारण सभा भएकाले यस पटक नेफ्स्कूनमा सरगर्मी बढेको छ ।

नेतृत्व हत्याउन हालसम्म दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन् । वर्तमान अध्यक्ष परितोष पौड्याल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । वर्तमान अध्यक्ष पौड्यालले औपचारिक कार्यक्रम नै गरी उम्मेदवारी घोषणा गरिसकेका छन् भने वरिष्ठ उपाध्यक्ष ढकालले आज घोषणा गर्ने तयारी गरेका छन् । यद्यपी ढकालले भने विगत तीन महिनादेखि नै विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्चालकमार्फत उम्मेदवारी घोषणा गरी आफ्नो अभियानलाई तिब्रता दिएका छन् ।

पौड्याल नेकपा एमाले निकट सहकारीकर्मी हुन् भने ढकाल नेपाली कांग्रेस । नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागले औपचारिक कार्यक्रम नै गरी पौड्याललाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको हो । यता वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदको उम्मेदवार ढकाल नेफ्स्कून वित्तीय कारोबार गर्ने बचत ऋण सहकारी संस्थाको केन्द्रीय अभिभावक निकाय भएका कारण राजनीतिक रूपमा टाढा राखेर काम गर्ने नेतृत्व आवश्यक रहने र सोही अनुरुप आफू अघि बढेको बताएका छन् । हालको नेतृत्वबाट विधिसम्मत रूपमा काम हुन नसकेको र फेरि पुरानै व्यक्तिले नेतृत्व लिँदा पुरानै गल्ती दोहोरिने भएकाले नयाँ नेतृत्व आवश्यक रहेको उनको भनाई छ ।

यता, पौड्यालले भने आफ्नो कार्यकालमा धेरै काम भएको र अधुरा केही काम पूरा गर्नका लागि नेतृत्व लिन तयार भएको बताएका छन् । सबै दल निकटका सहकारीकर्मीहरुसँग साझा सहमतिको प्रयास गरिएको भएपनि निष्र्कषमा नपुग्दा अध्यक्षको पदको उम्मेदवारी घोषणा गरिएको उनले बताए । अन्य पदमा उम्मेदवारी घोषणा हुन बाँकी नै रहेकाले मिल्ने जतिसँग मिलेर जान सकिने अध्यक्ष पौड्यालले बताए । साहकारी अभियानको शीर्ष व्यक्तीहरुकै उपस्थितीमा आफ्नो उम्मेदवारी घोषणा भएको उनको भनाई छ ।

कानूनी तथा नीतिगत गाँठाहरु फुकाउने, साकोस ऐनको लागि बालुवाटारदेखि सिंहदरबारमा धर्ना दिने, सञ्जाल व्यवस्थापनलाई बलियो र समावेशी बनाउने, प्रदेश र जिल्लासंघहरुलाई साथमा साथ लिएर हिड्ने र नेफ्स्कूनमाथिको गुमेको विश्वास फर्काउने आफ्नो उम्मेदवारी रहने ढकालकाे भनाइ छ ।

अभिलेख

लोकप्रिय