नयाँ यात्रा शुरु गर्न अब मात्र दुई दिन बाँकी छ: चन्द्रप्रसाद ढकाल
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाका लागि अब मात्र सात दिन बाँकी छ । नेपालको बचत तथा ऋण सहकारी अभियानकै भविष्यसँग गाँसिएको आगामी निर्वाचनसहितको साधारण सभा सर्वत्र चासोको विषय बनेको छ । त्यसमाथि निर्वाचनसहितको साधारण सभा भएकाले पनि अभियान ‘अटेन्सन’ को अवस्थामा छ । अब आजबाट सात दिनको काउन्टडाउन सुरु भएको छ ।
यसै सन्दर्भमा नेफ्स्कूनको नेतृत्व परिवर्तन किन आवश्यक छ ? सहकारी अभियानले खोजेको नेफ्स्कूनको नेतृत्व कस्तो हो ? नेफ्स्कूनको बलियो इतिहासको संरक्षण गर्न नेतृत्वमा के कस्ता गुण आवश्यक छ ? किन अहिलेको नेतृत्व सहकारीका मूल्य, मान्यता र सिद्धान्तबाट स्खलित भयो भन्ने सन्दर्भमा विगतमा नेफ्स्कूनको नेतृत्व गरिसक्नुभएका अग्रजहरुको अभिमत पनि आइसकेको छ । जसरी परिवर्तन अवश्यम्भावी छ, नेफ्स्कूनको नेतृत्व पनि यसपटक अवश्य परिवर्तन हुन्छ । म ढुक्क छु । नयाँ नेतृत्व नयाँ विचार बोकेर आउँछ । नयाँ विचारले नयाँ बहस जन्माउँछ । नयाँ बहसले नयाँ आशाका किरणहरु छर्छ । त्यसैले पनि अन्धकारमा फसेको साकोस अभियानलाई प्रकाश छर्न नयाँ नेतृत्व आवश्यक छ ।
म विगत २४ वर्षदेखि अभियानभन्दा अलग भएको छैन, बेदाग र निस्वार्थ छु । कर्म गर्न पछि परेको छैन । असहजताकाबीच पनि अवसरहरुको खोजी गरी देशभरका साथीहरुसम्म पुगेको छु । उहाँहरुको सुख दुःखमा साथ दिएको छु । म सुखभोगी छैन । दुःखहरुसँग भिजेको छु । अभियानका आवश्यकताहरुको बोध छ । खाली बोध मात्र होइन समाधानका बाटाहरु पनि मैले देखेको छु । अब खाली यात्रारम्भ गर्न बाँकी छ । त्यो नयाँ यात्रा शुरु गर्न अब मात्र सात दिन बाँकी छ । निर्वाचन अगाडिका मेरा प्रतिबद्धताका पोकाहरु निर्वाचित भएको ‘डे वन’ देखि नै फुकाउन थाल्छु । किनकि ४ वर्षभित्र मैले थुप्रै काम गर्नुछ ।
साकोस अभियानको नेतृत्व लिएपछि काम गर्ने हो, अहोरात्र खट्ने हो । अहिले पनि तपाईहरुले देखिरहनुभएको छ, मैले व्यक्तिगत रुपमा देशभर पुगेर अभिमत संकलन गरेको छु । साथीहरुका अपेक्षाहरु बुझेको छु, उहाँहरुको चाहना र नेतृत्वको व्यवहारमा किन आकाश जमिनको फरक भयो थाहा पाएको छु । तिनै चाहना र अपेक्षाहरु अबको नेफ्स्कूनको रणनीतिमा प्रतिविम्बित हुन्छ । ४ वर्ष काम गर्छु । यसबीचमा उत्तराधिकार योजना तयार पारेर अर्को सक्षम नेतृत्वलाई हस्तान्तरण गर्छु । एकपटक अवसरको आग्रह गरेको हुँ । पटकपटकका लागि होइन । म पदलोलुप होइन । नेपालको साकोस अभियानको लागि अमिट छाप छोड्ने काम गर्ने धित छ । साकोस अभियानले बोलीमा होइन नीति विधि र प्रविधमा सारुप्यता खोजेको छ । त्यसका लागि महत्वाकांक्षी योजना होइन वास्तविकतासहितको दिशाबोध आवश्यक छ । मसँग बोली होइन व्यवहार छ ।
असरल्ल साकोस अभियानलाई एक ढिक्का बनाउनु मेरो पहिलो काम हुनेछ । नेफ्स्कूनको नेतृत्व केवल चन्द्र प्रसाद ढकालको चाहना होइन, मुलुकको साकोस अभियानको आवश्यकता हो । एकमुष्ट आवाज हो । यो आवाज दिनप्रतिदिन शसक्त बन्दैछ । यस्ता आवाजहरु प्रत्यक्ष भेटघाट, औपचारिक कार्यक्रम, अनौपचारिक छलफल, सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सुनेको छु, एक एक प्रतिक्रियाहरु पढेर, सुनेर टिपोट गरेको छु । अभियानका अग्रजहरुको आशिर्वाद लिएको छु, सरोकारवालाहरुको ढाडस पाएको छु र सबैभन्दा मुख्य भनेको देशैभरका सदस्य संघ संस्थाका प्रतिनिधिहरुको व्यापक साथ र समर्थन पाएको छु । वास्तवमा म निक्कै उत्साहित छु । नेफ्स्कूनको निर्वाचन जति नजिकिदो छ, उति विजयको चित्र प्रष्ट बन्दैछ ।
बितेको ४ वर्ष मुलुकको साकोस अभियानले के पायो ? सहकारी ऐनले पनि संशोधनको स्वाद चाख्न पायो ? साकोस ऐन पायो ? खोजेको जस्तो स्थिरीकरण कोष पायो ? प्रविधिको चमत्कार पायो ? प्रदेश र जिल्ला संघहरुको प्रेम पायो ? ब्राण्डिङ कार्यक्रमले विश्वास पायो ? तालिम र शिक्षा कार्यक्रमले नवीनता पायो ? वासलातको वृद्धि पायो ? सीमापारको सञ्जाल सम्बन्ध सबल भयो ? नेतृत्वको आचरण र व्यवहारमा समावेशिता पायो ? सञ्चारमाध्यमको साथ पायो ? आफ्नो गोजीबाट पैसा तिरेर चिया खाने अग्रजहरुले बनाएको नेफ्स्कूनमा सुशासन किन निक्कै परको विषय बिन्यो ? बचत ऋण सहकारीहरु भगुवा हुन् भन्ने भाष्य किन र कसरी निर्माण भयो ? भाषणमा सञ्जाल सम्बन्धको चर्को विषय उठाउने तर झन् झन् सञ्जाल छिन्नभिन्न कसरी भयो ? यस्ता प्रश्नहरुको उत्तर खोजेर मात्र साथीहरुले मत प्रकट गर्नुहुन्छ भन्नेमा म निश्चिन्त छु । त्यसैले अभियान अहिलेको नेतृत्वबाट अघाइसकेको छ । उकुसमुकुसमा छ । निस्सासिएको छ । अब निकास खोजेको छ र त्यो निकास भनेको स्वाभिवक रुपमा मेरो नेतृत्वको नयाँ सञ्चालक समिति हो ।
तपाईहरुलाई थाहै छ, म नेफ्स्कूनको प्रबक्ता छु अहिलेसम्म पनि । तर, प्रबक्ताको माध्यमबाट नेफ्स्कूनको सञ्चालक समितिले अभियानको हितमा गरेका कामहरु मिडियामार्फत सार्वजनिक गर्न पाएको छैन । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रबक्ताले देश र जनताको हितका लागि भएका निर्णयहरु प्रबक्तामार्फत सार्वजनिक गरेको हामीले देखका छौं । यत्रो देशभर सञ्जाल भएको र करिब ३६ लाख सदस्यको हितमा भएका निर्णयहरु मैले कहिल्यै सार्वजनिक गरेको यहाँहरुले देख्नुभएको छ । मैले भन्दै आएको छु, बरिष्ठ उपाध्यक्षको थपना म भएँ । म मात्र होइन सञ्चालक समितिका सबै जनाको हालत यही छ तपाईहरुले देखिरहनुभएको छ । कथा र व्यथाहरु सामाजिक सञ्जालमार्फत छताछुल्ल भएका छन् । हामी किन खिसिट्युरीको पात्र बन्नुपर्यो ? सदस्य सन्तुष्टि र कर्मचारी सन्तुष्टि पाउनुभएको छ । नेफ्स्कूनमा सिईओदेखि कर्मचारी टर्न ओभर कस्तो छ ? हिजोको सीइओलाई काम गर्न दिइएन । लामो समयसम्म हाँत बाँधेर कामुको भरमा अल्झाइयो । १९÷२० वर्ष नेफ्स्कूनमा नुनको सोझो गर्नेहरु अपहेलित भएर निस्कनुपर्यो । फरक विचारमाथि बन्देज लगाइयो । दीर्घ योगदानको लागि दीर्घसेवा पदक पाउनुपर्ने अभियानकर्मी र कर्मचारीहरु कुनामा पर्नुभयो । अनि हामीले खोजेको यस्तै नेतृत्व हो ? किन यस्तो भयो ? उत्तर सबैलाई थाहा छ, नेतृत्व कमजोर भएर ।
मैले गाली गर्नका लागि गरेको होइन । वास्तविकता बताएको हुँ । आगामी निर्वाचनको लागि प्रतिनिधि मनोनयन फारम बुझाउने काम हिजो सकिएसँगै अब साकोस अभियान पूर्ण रुपमा निर्वाचनमा होमिएको छ । अबको एक साता देशभरका प्रतिनिधि साथीहरुको लागि एकदमै महत्वपूर्ण समय हो । वास्तविकता बुझ्ने, विवेकसम्मत् निर्णय गर्ने समय हो । हिजोसम्म केही अलमल र दोधारमा रहनुभएका साथीहरुले साँच्चिकै छातीमा हात राखेर आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ, ‘के चार वर्षअघिको मेरो निर्णय सही थियो ? मैले जे अपेक्षा गरेर अभिमत जाहेर गरेको थिएँ त्यो पाए ? अब फेरि त्यही गल्ती गरे भने अर्को चार वर्ष समय खेर जान्छ । समय अमुल्य छ, अभियान असरल्ल छ, हिजो गरेको गल्ती सच्च्याउने मौका छ । म यो पटक दुरगामी महत्व राख्ने निर्णय गर्छु जसले नेपालको साकोस अभियानको भविष्य निर्माण गर्नेछ ।’ बाटो बिराएको अभियानलाई दिशाबोध गराउन मसँग सुस्पष्ट योजना छ । मैले प्रतिबद्धता पत्र पनि सार्वजनकि गरेको छु । कानूनी तथा नीतिगत गाँठाहरु फुकाउने, साकोस ऐनको लागि बालुबारदेखि सिंहदरबारमा धर्ना दिने, सञ्जाल व्यवस्थापनलाई बलियो र समावेशी बनाउने, प्रदेश र जिल्लासंघहरुलाई साथमा साथ लिएर हिड्ने र नेफ्स्कूनमाथिको गुमेको विश्वास फर्काउने मेरो प्रमुख काम हुन् । गर्न नसक्ने काम म भन्दिन र भनेको काम नगरी छोड्दिनँ ।
भनिन्छ, निर्वाचन केवल अर्को एक निर्वाचनसम्मको लागि मात्र प्रतिस्पर्धा होइन, अर्को पुस्तासम्मको लागि प्रतिस्पर्धा हो । एउटा निर्वाचनको विजय पराजयले केवल अर्को निर्वाचनसम्म मात्र होइन अर्को पुस्तासम्मलाई असर पार्दछ । हिजोको निर्वाचनमा गरेको गल्तीका बाछिटाहरु अर्को पुस्तासम्म पुग्नेछ । त्यसैले साथीहरुलाई सादर अनुरोध गर्दछु, संयमित भएर निर्णय गर्ने बेला यही हो । मलाई विश्वास छ, पुस ८ गतेको अभिमतले यही पुष्टि गर्नेछ ।
(नेफ्स्कूनको आसन्न निर्वाचनमा अध्यक्ष पदका दाबेदार ढकालसँग गरिएको संवादमा आधारित)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार