अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार

केशवप्रसाद दाहाल
International Cooperative Alliance (ICA) ले प्रतिपादन सहकारीका सात सिद्धान्त मध्येको पाँचौ सिद्धान्त शिक्षा, तालिम र सूचना । जसमा सामान्य अवस्थामा सहकारीहरुले आफ्ना सदस्यहरु, निर्वाचित प्रतिनिधिहरु एवम् व्यवस्थापक वा कर्मचारीहरुलाई आफ्नो संस्थामा प्रभावकारी रुपले योगदान दिनसक्ने तुल्याउन शिक्षा र तालिम प्रदान गर्नेछन् । सहकारीहरुले सर्वसाधारण खास गरी युवाहरु र बौद्धिक व्यक्तित्वहरुलाई सहकारीको बिषयमा र सहकारीताको फाइदाका बारेमा जानकारी गराउने छन् (Cooperatives provide education and training for their members, elected representatives, managers, and employees so they can contribute effectively to the development of their co-operatives. They inform the general public – particularly young people and opinion leaders – about the nature and benefits of co-operation) भन्ने कुरा उल्लेख भएको छ । प्रत्येक सहकारी संस्थाहरुको दर्ताको बखत संस्था सञ्चालन गर्न बनेको विनियममा शिक्षा तथा तालिम उपसमितिको परिकल्पना गरेको छ । सहकारी ऐन २०७४ को दफा ७१ को उपदफा (१) को गरेको व्यवस्था बमोजिम सहकारी नियमावली २०७५ को नियम २७ को उपनियम १ (क) मा सहकारी शिक्षा कोषको अनिवार्य व्यवस्था गरेको छ तर हामीले नेपालको सन्दर्भमा यो सिद्धान्तलाई खासै महत्वमा राखेका छैनौं । सिद्धान्तको कार्यन्वयनमा नै चासो नभएपछि संस्थामार्फत सदस्यहरु, निर्वाचित प्रतिनिधिहरु र व्यवस्थापक एवम् कर्मचारीहरुलाई शिक्षा तथा तालिम प्रदान गर्ने विषय ओझेलमा पर्नु स्वभाविक नै हो ।
सफल रुपमा सहकारी सञ्चालन गरेका मुलुकहरुको सहभागितामा भएको अक्कु फोरम २०२३ मा सहभागी १९ राष्ट्रहरु मध्ये दक्षिण कोरियाको अभ्यासलाई हेर्दा हामीले सहकारीको तालिम र शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नु पर्ने अवस्थाको महशुस गरायो । दक्षिण कोरिया र उत्तर कोरिया बीच सन् १९५० जुन २५ देखि १९५३ जुलाई २७ सम्म युद्ध चलेको थियो । सो युद्धमा उत्तर कोरियालाई चिन र सोभियत संघले तथा दक्षिण कोरियालाई अमेरिका र अन्य राष्ट्र हरुले सहयोग गरेका थिए । त्यस बेला द्धन्दका कारण दक्षिण कोरियाको आर्थिक अवस्था गम्भिर संकटमा रहेको थियो । आर्थिक क्षेत्र सुधारका लागि दक्षिण कोरियालाई चुनौती नै थियो । नागरिकहरु गरिबीको भूमरीमा थिए । त्यही गरिबीको अन्तको लागि दक्षिण कोरियामा सन् १९६० को मे महिनामा अमेरिकी नागरिक एक चर्चकी नन, सिष्टर मेरी गेब्रियलाले बुसान शहरमा मेरीकोनल अस्पताल र क्याथोलिक राहत सेवाहरुमा कार्यरत २७ जनाबाट पहिलो सहकारी स्थापना गरेकी थिइन । सोही वर्षको जुन महिनामा अर्का चर्चका फादर चाङ डे इकले क्याथोलिकहरु मिलाएर केन्द्रिय केडिट यूनियनको स्थापना गरेको इतिहाँस देखिन्छ यसरी हेर्दा दक्षिण कोरियाको सहकारीले ६३ वर्षको मात्र इतिहास बोकेको छ । अहिले दक्षिण कोरियाको सहकारी अभियानलाई सबैले नमूनको रुपमा प्रस्तुत गर्ने गरिएको छ । त्यसको मूल कारण त्यहाँको सरकारले केन्द्रिय केडिट यूनियनलाई गरेको विश्वास जिम्मेवारी प्रदान तथा केन्द्रिय क्रेडिट युनियनका रुपमा रहेको National Credit Union Federation of Korea (NACUFOK) ले पाएको जिम्मेवारी सफल र व्यवस्थित कार्यन्वयन नै हो ।
NACUFOK ले सहकारी संस्थाहरुको विकासका लागि पाँचौ सिद्धान्त कार्यन्वयनलाई प्रमुख जिम्मेवारीको रुपमा लिएको देखियो जसको प्रभावले कोरिया सरकारले कानुनी व्यवस्था नै गरेर रहरले र लहैलहैमा नभई आवश्यक्ता र क्षमताको आधारमा मात्र सहकारी संस्था सञ्चालन गर्न सक्ने व्यवस्था गरिदियो । यस कुराको पुष्टी कोरियाको NACUFOK मा भएको प्रगतिले सावित गरिदिएको छ । NACUFOK को स्थापना सन् १०६० मा भए पनि NACUFOK ले पाँचौ सिद्धान्तको कार्यन्वयनका लागि NACUFOK तालिम केन्द्र सन १९८१ मा स्थापना गरेको थियो । उक्त तालिम केन्द्र स्थापना भएको हाल ४२ वर्ष मात्र भएको छ तर हाल NACUFOK को तालिम केन्द्रसंग भौतिक रुपमा पढाउने ४० वटा पाठ्यक्रमहरु र दुर शिक्षा वा अभौतिक रुपमा पढाउने १८३ वटा पाठ्यक्रमको विकास भएको छ । अझ रोचक कुरा त कुनै संस्थाको सञ्चालक समितिमा निर्वाचित हुन NACUFOK ले तोकेको पाठ्यक्रम कम्तीमा ३० घण्टा वा ५ दिन भौतिक रुपमा र अभौतिक रुपमा सम्पत्ति शुद्धिकरण सहित सरकारले तोकेको अनिवार्य ५ वटा पाठ्यक्रम कोरियाका सहकारीका सञ्चालहरुले अनिवार्य लिएको हुनु पर्ने व्यवस्था रहेको छ । सहकारीको ऋण अधिकृत बन्नका लागि तोकिएको पाठ्यक्रमको ५६ घण्टा वा ९ दिनको तालिम लिई कम्तीमा ७० प्रतिशत अंक ल्याई उतीर्ण भएको हुनु पर्दछ । अहिले कोरियामा भौतिक ४० वटा पाठ्यक्रम मध्ये प्रत्येक पाठ्यक्रहरुको वार्षिक न्यूनतम २ देखि ७ पटकसम्म सञ्चालन हुने गर्दछ भने नयाँ प्रवेशीहरु (सञ्चालक समिति) का लागि वर्षमा कम्तीमा ७ पटक तालिमको आयोजना गर्ने व्यवस्था गरेको छ । तालिमका लागि सुविधासम्पन्न तालिम केन्द्र जहाँ एकै पटक ४०० जनासम्मको आभास क्षमता सहित सुविधा सम्पन्न तालिम कक्षहरुको व्यवस्था रहेको छ ।
शुरुवातको हिसाबले नेपालको सहकारी अभियान दक्षिण कोरिया भन्दा ४ वर्ष जेठो छ तर राज्यको राजनीतिक परिवर्तन र सहकारी प्रति हेर्ने दृष्टीकोणको कारण सबल र सक्षम बनेको छैनन् जसको कारण सहकारी अभियानको शुद्धिकरण र सुदृढीकरणको अवस्था कमजोर रहेको छ । सरकारले अभियानलाई जिम्मेवारी तोकेर कार्यान्वयन गर्न दबाब दिन सकेको छैन भने अभियान आफ्नै ढंगमा आफ्नो गतिमा अघि बढिरहेको छ । सहकारी संस्थाको सञ्चालक बन्नु देशको संविधानले दिएको स्वतन्त्रताको अधिकारको प्रयोगको रुपमा परिभाषित गर्नाले न्यूनतम सहकारी संस्थाहरुले पालना गर्नु पर्ने मानकहरुको समेत कार्यन्वयन गराउन नसक्दा सहकारी प्रति नै आमनागरिकको विश्वासमा कमी हुँदै आएको छ ।
यतिबेला त सबैको प्रयन्त पैसा जम्मा गर्ने र परिचालन गर्ने, कसले कति नाफा गर्ने र अधिकतम मुनाफा वितरण गर्ने कुरामा मात्र केन्द्रित छ । सदस्यलाई केन्द्रमा राखेर, सदस्यहरुका लागि उनीहरुको जीवनमा सार्थक परिवर्तनका लागि हामीसँग दुरदृष्टी छैन र भोलिको चिन्ता भन्दा वर्तमानको कृतिम सम्बृद्धिको हुनहुटी हामीमा चलेको छ । यसले हामीलाई सही गन्तब्यमा पुर्याउन सक्दैन ।
अबको नेपालको सहकारी अभियान सुदृढ बनाउनका लागि सात सिद्धान्त मध्येको पाँचौ सिद्धान्तमा अभियानको वृहत लगानी हो । सदस्य, सञ्चालक र कर्मचारी शिक्षित भए मात्र सहकारी अभियानको सुदिृढिकरण सम्भव छ । अब कोरियाबाट यही सिक्ने हो कि? त्यसका लागि अभियानमा हामीले केन्द्रिय संघलाई श्रोतकेन्द्रको रुपमा स्थापित गर्नु र श्रोत केन्द्रले विकास गरेको तालिम शिक्षाका पाठ्यक्रम अनुसार निश्चित पाठ्यक्रमहरुको तालिम लिएपछि मात्र समितिमा निर्वाचित हुन सक्ने प्रावधान बनाई लागू गर्नु पर्दछ जसले गर्दा छोटो समयमा नै अभियानको सुद्धिकरण र सुदृढीकरण गर्न सम्भव छ ।
(दाहाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत हुन्)
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार