३ वैशाख २०८३, बिहिबार

समुदायमै जन्म, कर्म र मर्म: सहकारीको सामाजिक उत्तरदायित्वका सवालहरु

२०८० असोज १, सोमबार
समुदायमै जन्म, कर्म र मर्म: सहकारीको सामाजिक उत्तरदायित्वका सवालहरु

दिनेश गौतम
सहकारी समुदायको एक हिस्साको रुपमा स्थापित भइसकेको छ । वित्तीय सहकारीलाई त समुदायको बैंक पनि भन्ने गरिन्छ । यसले समुदायमा रहेका मानिसहरुलाई एकताको सुत्रमा बाँधेर सदस्य बनाई तिनै सदस्यहरुसँंग वित्तीय कारोबार गर्दछ भने वित्तीय कारोबारका अलावा सदस्यलाई विभिन्न किसिमका सदस्य सुरक्षा योजना अन्तर्गतका सेवाहरु प्रदान गर्नु पनि सहकारीको महत्वपूर्ण काम हो । सदस्यको विभिन्न पक्षमा सहयोग र हेरचाहले मात्र पनि पुग्दैन समुदाय र सामाजिक आवश्यकताका कामहरुमा चासो दिने र समुदाय प्रति उत्तरदायि भई काम पनि अगाडि बढाउनु पर्ने हुन्छ ।
सहकारी संस्थालाई जनताको सम्पत्तिको रुपमा पनि हेर्नु उपयुक्त हुन्छ । नेपालको संविधान २०७२ ले पनि अर्थतन्त्रका तीन खम्बा मध्ये एक खम्बाको रुपमा सहकारीलाई स्वीकारेको अवस्थामा पनि हामीले स्थानीय अर्थतन्त्रको विकास र प्रवर्धनका लागि न्यून आय भएका मानिसको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरण र विकासका लागि सहकारी अवधारणा असल र स्तरीय अवधारणा हो । तर हाल सहकारीको नाममा केही गलत प्रयोगले गर्दा कता कता यो अवधारणा र अभियान गलत पो हो कि भन्ने भ्रम पैदा हुन गएको छ । समुदायभन्दा टाढा रहेर व्यवसायिक दृष्टिबाट सोचिएका र जन्मिएका सहकारीमा सिमित व्यक्तिका स्वार्थ र व्यवस्थापनमा त्रुटिका कारण केही सहरी क्षेत्रमा छिटफुट समस्या देखिएको अवस्थालाई भने नकार्न सकिदैन ।
सहकारी संस्थाले पनि आफ्नो लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने मानवीय, आर्थिक तथा भौतिक साथै नैतिक साथ, सहयोग र सञ्चालन नै सोही समाजबाट प्राप्त गर्दछ । सहकारी समाजकै अगुवाइमा जन्मिएको हुन्छ भने यसको सञ्चालन, संरक्षण पनि त्यहि समाजका व्यक्तित्वले नै गर्ने हो । अतः समुदायकै पूँजी संकलन गरेर समुदायमै परिचालन गरी आर्थिक तथा समाजिक समुन्नतिको आधार तयार गर्ने संगठन हो सहकारी । अझ हामीले स्थानीय समुदायलाई हेर्ने हो भने बैंक तथा वित्तीय संस्थासम्म सबै मानिसहरुको पहुँच पुग्न साह्रै मुस्किल छ । ती निम्न आय भएका मानिसहरुले अपनत्व लिने समुदायको संस्था वा बैंकको रुपमा वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीलाई लिन सकिन्छ । अन्य उद्देश्य भएका संस्थाहरुले समेत सहकारी ऐन २०७४, परिच्छेद २ को २१ अनुरुप आफ्ना उद्देश्य अनुरुपका काम गर्ने हो भने श्रम, सीप, पूजीको उचित सदुपयोग भई उत्पादन, बजारीकरण, उद्योग वा परिपयोजना सञ्चालन मार्फत स्वरोजगार सिर्जना हुन गई सदस्य र समुदायको धेरै आयामको विकासमा महत्वपूर्ण भूमिका खेल्ने थियो । सहकारीले समुदायमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै गर्दा सामाजिक उत्तरदायित्वको रुपका समाजलाई प्रदुषण हुनबाट बचाउनु, वातावरणीय संरक्षण गर्नु, मानवीय तथा सामाजिक कल्याणका क्रियाकलापहरु सञ्चालन गर्नु आदि समेत जिम्मेवारीका विषय हुन ।

समाजका व्यक्तिहरुको संलग्नता, समाजको दायित्व, जिम्मेवारी पूरा गरेर मात्र सहकारी संस्थाको अस्तित्व समाजमा रहन्छ । यसर्थ सहकारी संस्थाले समुदायका धेरै भन्दा धेरै मानिसहरुको संलग्नता, नेतृत्वमा निश्वार्थ, निश्कलङ्क र सकेसम्म सर्व स्वीकार्य मानिसहरुको संलग्नता रहन सकेमा मात्र समुदायिक सुन्दरताको रुपमा सहकारी देखिन्छ । यस प्रकार सहकारीले आफ्नो क्रियाकलापद्वारा समाजका विभिन्न अंगहरु र समष्टिमा समाजप्रति कर्तव्य पालना गर्नु नै समाजिक उत्तरदायित्व बहन गर्नु हो । यसले समाजका चासोका कुराहरुलाई लक्ष्यको रुपमा लिनु पर्दछ भन्ने बुझाउँछ । विशेष गरी यस अन्तर्गत सदस्यहरुको उचित हेरचाह, सदस्यहरुलाई प्रभावकारी वस्तु तथा सेवाको निर्धारण, रोजगारी तथा तालिम र अन्य सामाजिक एवम् आर्थिक कार्यहरुका बारेमा छोटो चर्चा गरिएको छ ।

सहकारीका सामाजिक उत्तरदायित्वका क्षेत्रहरु : Areas of Social Responsibility of Cooperatives
सामाजिक उत्तरदायित्व भन्नाले संगठन आफू स्थापना भएको समाज तथा त्यहाँको सामाजिक विकास, साँस्कृतिक सम्बर्धन, ऐतिहासिक क्षेत्रहरुको सम्बर्धन र संरक्षणको लागि वहन गर्नुपर्ने जिम्मेवारी बुझिन्छ । जसले गर्दा सामाजिक मूल्य, मान्यता, तथा अपेक्षाहरु परिपुर्ति हुन गई सहकारी प्रति समाजको अपनत्व, सहभागिता, सकारात्मक धारणा निर्माण हुन जान्छ । सहकारीका आफ्ना गतिविधिहरु, कार्यहरु र निर्णयहरुले समाजको हित विरुद्ध कुनै कार्य हुँदैन भन्ने कुराको समेत सुनिश्चितता प्रदान गर्दछ । सहकारी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्वका प्रमुख क्षेत्रहरुका बारेमा निम्नानुसारको चर्चा गर्न खोजिएको छ ।

१) सदस्यहरु प्रति उत्तरदायित्व :-
सहकारीमा सदस्यहरु संस्थाका मालिक हुन । सहकारीमा सदस्यहरुको समान हैसियत रहेको हुन्छ । जात, जाति, लिङ्ग, भेषभुषा, भाषा, धर्म, राजनीति, धनी गरिब आदि केही आधारमा पनि वर्गीकरण गर्न पाईदैन । सबैलाई एकताको सुत्रमा बाँध्ने काम सहकारीले गरेको हुन्छ । क्षमताका आधारमा लगानी गरे पनि लगानीको प्रतिफल दर समान हुन्छ । एक सदस्य एक भोट अर्थात सबैले नेत्रृत्वमा आउन चाहेमा सधै बाटो खुल्ला नै रहन्छ । सदस्यहरुले आफुले लगानी गर्दछन् र प्रतिफल पनि समान दरमा सबैले वितरण गर्ने सिद्धान्तलाई अवलम्बन गर्नु पर्दछ । सदस्यहरुले प्रभावकारी सेवा सञ्चालनको अपेक्षा राखेका हुन्छन् । निरन्तर व्यवसायको विकास र बृद्धि, मुनाफा, लगानीको प्रतिफल, मजबुत संस्थागत विकास आदि सहकारीका मालिक अर्थात सदस्यको अपेक्षा रहन्छन् । यसका साथै सदस्य सुरक्षाका योजनाहरु, सदस्य राहत, सहुलियत, सम्मान आदिको अपेक्षा पनि सदस्यहरुमा रहन्छ । यी विषयहरु पूरा गर्नु संस्थाको उत्तरदायित्व हुन्छ । सहकारीको सफलता तथा असफलता सदस्यको सहभागितामा निर्भर गर्दछ । संस्थाको सफलतामा सक्रिय सदस्यको भूमिका महत्वपूर्ण रहेको हुन्छ । सदस्य सन्तुष्टि सहकारी सफलताको मुख्य आधार हो । सदस्यको हित संरक्षण गर्नु, उचित गुणस्तरको वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउनु, असल व्यवहार मार्फत आफ्ना सदस्यहरुलाई सन्तुष्ट पार्नु सहकारी संस्थाको प्रमुख उत्तरदायित्व हो ।

२) समुदायको सम्पूर्ण वर्गको सम्मान र उत्तरदायित्व :-
सहकारी ऐन २०७४ को परिच्छेद ५ को दफा ३० को व्यवस्था अनुसार संस्थाको कार्यक्षेत्रमा बसोबास गर्ने सम्पूर्ण मानिसलाई सदस्यता बन्नका लागि बाटो खुल्ला गर्नुपर्ने प्रावधान रहेको छ भने सहकारीको अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तको पहिलो सिद्धान्तको आधारमा भन्ने हो भने पनि स्वेच्छिक तथा खुल्ला सदस्यता भन्ने सिद्धान्तले समुदायका १६ वर्ष उमेर पूरा गरेका कार्यक्षेत्रमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिलाई जोड्न सक्ने आधार भएकोले सदस्यमा मात्र होइन सम्भावित सदस्यहरु प्रति पनि उत्तरदायि हुनु जरुरी छ ।

३) सरकार वा नियामक निकाय प्रतिको उत्तरदायित्व :-
कुनै पनि संस्था सञ्चालन गर्न नियामक निकायले जारी गरेका नियम पालना, निर्देशन पालनामा सजग र सम्यमित भइ अगाडि बढ्नु पर्ने हुन्छ । सहकारी संस्था सञ्चालनमा पहिलो सर्त भनेको स्वनियमन हो । तर पनि स्वनियमनले मात्र सबै पक्षहरुको सन्तुलित नियमन हुन सक्छ भन्ने नहुने रहेछ भन्ने तथ्य पछिल्लो समय समस्यामा गएका संस्थाहरु र तिनिहरुले पालना गरेका कानुनी विषय र कमजोर सुशासनले स्पस्ट पार्दछ । त्यसैले वित्तीय कारोबार गर्ने ठाउँमा वित्तीय अपराध हुन सक्छ भनी जहिले पनि सजग र सम्यमित हुनु जरुरी हुन्छ । संस्थालाई साच्चिकै सुशासनमा चलाउने हो भने सरकार वा नियामक निकाय प्रतिको उत्तरदायित्वमा सजग हुनै पर्दछ ।

पछिल्लो समय नियमनकारी निकायको कमजोर नियमन र सुपरिवेक्षणको कारण सहकारीहरुमा समस्या देखियो भन्ने किसिमको समेत चर्चा चल्न थालेको छ । यदि समुदाय र सदस्य प्रति उत्तरदायी संस्था हो भने उसले नियमनकारी निकायले जारी गरेका नीति, नियम तथा निर्देशनको खोजेरै पालना पर्दछ र गर्नु पर्दछ । कानुनको छिद्र र नियमनकारी निकायको कमजोर उपस्थितिलाई गलत काम गर्ने अवसरको रुपमा हेर्नु र क्रियाकलाय गर्नु भनेको सहकारीका नाममा आपराधिक गतिविधि हो ।

सहकारी ऐन २०४८ लाई राम्रोसंँग अध्ययन गर्ने हो भने सहकारी एउटा असल नियतका साथ समुदायको हितका लागि खोलिने संस्थाको रुपमा परिभाषित गरिएको छ । सहकारीमा गलत गतिविधि हुन सक्ने कुरालाई त्यति धेरै परिकल्पना नै गरेको थिएन । सहकारी व्यवसाय स्वनियन्त्रित, स्वनियमनमा आधारित व्यवसायकोरुपमा परिकल्पना गरेको पाइन्छ । तर पछिल्लो समय यो मर्मलाई बुझेर सबैले यसलाई सिरोधार्य गरेर प्रयोग गर्न नसक्दा अर्थात सहकारीलाई आफ्नो निजी व्यवसाय र व्यापारका रुपमा हेर्नाले केही संस्थाको समस्याले गर्दा असल अभ्यास गर्ने सहकारीले समेत कलंकको टिका भिर्नु पर्ने बाध्यता बनेको छ । प्रसँग २०७४ को सहकारी ऐनसँंग जोड्दा सहकारी संस्था पनि वित्तीय कारोबार गर्ने क्षेत्र हो र यहाँ पनि वित्तीय अपराधहरु हुन सक्दछन् भन्ने परिकल्पना गरिएको छ । स्वनियमन पहिलो सर्त हो तर यसले काम नगर्दा र गलत काम हँुदा दण्ड जरीवानामा कडै डण्डा नियमनकारी निकायले घुमाउन सक्ने अवस्था रहेको छ । तसर्थ सरकार वा नियामक निकाय प्रतिको उत्तरदायित्व महत्वपूर्ण पाटो हो ।

४) काम र उद्देश्य प्रतिको उत्तरदायित्व :-
सहकारी संस्था स्थापना हुनुको उद्देश्य र काम महत्वपूर्ण कुरा हो । हाल कतिपय संस्थाको मुख्य उद्देश्य र काम एकातिर देखिन्छ भने गतिविधि अर्काेतिर देखिदै आएको छ । सबै उद्देश्यका संस्थाको मुख्य काम आज बचत तथा ऋण रहेकोे छ जबकि बचत तथा ऋणको उद्देश्य भन्दा बाहेकका अन्य संस्थाको मुख्य काम बचत ऋणको भन्दा पनि अर्कै हुन्छ । तर मुख्य क्रियाकलाप बचत तथा ऋण बन्नु पनि आफैमा जोखिम हो । एक पाटोबाट सहकारी ऐन अनुसार विश्लेषण गर्दा कानुनी जोखिम हो भने अर्को पाटोबाट हेर्दा कार्यगत जोखिम हो । एक काम र उद्देश्य भनेर संस्था स्थापना गर्ने तर कार्य भने मुख्य उद्देश्यमा गर्न नसक्ने । त्यसैले संस्था स्थापनाको उद्देश्य र कार्य भन्दा फरक ढंगबाट संस्था सञ्चालन भएको हो भने उद्देश्य तिर केन्द्रित हुनु जरुरी छ । सदस्य ज्यूहरुलाई मुख्य उद्देश्यका बारेमा जानकारी गराउने र सोहि अनुसारका गतिविधिहरु सञ्चालन गर्ने हो भने समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा भ्यालु चेन सहितको सन्तुलित र प्रभावकारी विकास हुन सक्दछ । त्यसैले सहकारी संस्था सञ्चालन गर्दा आफ्नो विनियममा उल्लेखित मुख्य उद्देश्य र कार्यहरुको बारेमा उत्तरदायित्व निवार्ह गर्नु जरुरी विषय हो ।

५) समाजप्रति उत्तरदायित्व :-
सहकारी समुदायको अंग हो भन्ने विषय माथि पनि उल्लेख भएकै छ । सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरू मध्येको सातौँ समुदायप्रति चासो र बचत तथा ऋण सहकारी सञ्चालन सिद्धान्तको नवौँ सामाजिक दायित्वले सहकारीको प्रभावकारीतालाई समुदायमा सहकारीले दिएको चासो र सामुदायिक परिवर्तनलाई हेर्न खोजेको छ । सहकारी संघ/संस्थाहरुले समुदायको दिगो विकासका लागि काम गर्ने उद्देश्य लिएका हुन्छन । समुदाय र सहकारी संस्थाका सदस्यहरुको हित अन्तरसम्वन्धित हुन्छन भने यिनीहरुको सम्वन्ध गहिरो र भावनात्मक हुन्छ । यसर्थ सहकारी संस्थाहरुले समुदायको हितप्रति सदा चासो राख्नुपर्छ र समर्पित रहनु पर्दछ । सामाजिक न्यायमा आधारित भएर व्यवसाय विस्तार र उत्पादकत्व वृद्धिमा जोड दिनु पर्दछ । सामाजिक उत्तरदायित्वको सन्दर्भमा सहकारी क्षेत्र अरु क्षेत्र भन्दा अलग छ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मन्त्रले सहकारीलाई समाज र परिवर्तनसँग गाँसेको छ र उत्तरदायि बन्न अभिप्रेरित गरेको छ । नेपालका सन्दर्भमा समुदाय प्रति चासो भनेर विभिन्न अभ्यासहरु सञ्चालनमा छन् । समुदायलाई सचेत, संगठित र एकताबद्ध बनाउने, वित्तीय सन्दर्भमा साक्षरता र उद्यमशीलता प्रवद्र्धन साथै गरिबी न्यूनीकरण र स्वरोजगार सिर्जना गर्नु सामाजिक उत्तरदायित्वका प्राथमिक उद्देश्यहरू हुन् । उनीहरूले आधारभूत तहमा आर्थिक, सामाजिक र व्यवसायिक चेतनाहरू विस्तारित गरेका छन्।

सदस्य संस्थाका मालिक र समुदाय संस्थाको आधार सोचेर सञ्चालित समुदाय केन्द्रित सहकारी संस्थाहरुले सामाजिक न्याय क्षेत्रमा रचनात्मक क्रियाकलाप, सामाजिक सम्मान र सुरक्षा क्षेत्रमा आम रूपले काम गरिरहेका छन् । स्वास्थ्य शिविर, रक्तदान, अंगदान, सरसफाइ, छात्रवृत्ति, पुरस्कार, सम्मान, बृक्षारोपण, पाटि पौवा, प्रतिक्षालय निर्माण आदि रचनात्मक क्रियाकलाप सहकारीले सम्पादन गरिरहेका छन । यिनै क्रियाकलापले स्थानीय तहमा सामाजिक र गैरसरकारी संस्थाको भूमिकामा सहकारीहरू स्थापित भएका छन । त्यस्तै सामाजिक न्याय क्षेत्रमा सामाजिक विकृति, बेथिति र हिंसाका घटना न्यूनीकरणको लागि सहकारीहरूले अभियान चलाएका छन । यी र यस्ता जिम्मेवारीप्रति सजग र सम्यमित हुन सकेमा मात्र वास्तविक अर्थमा सहकारीको मूल्य समाज जोड्ने सियो धागोको रुपमा चित्रण हुन सक्दछ । यी विविध विषय वस्तुका अलावा कार्यक्षेत्र भित्रको अशिक्षा, बेरोजगारी, कुरीति आदि सामाजिक समस्याहरुलाई अन्त्य गर्नका लागि ठोस योजना सहित काम गर्नुपर्ने आवश्यकता छ ।

६) दिगो विकास लक्ष्य प्राप्ति प्रति उत्तरदायित्व :-
सन् २०१५ को संयुक्त राष्ट्र संघको ७० औँ महासभाबाट सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न १७ वटा लक्ष्य र १६९ वटा सहायक लक्ष्य भएको विश्वव्यापी ऐजेन्डा पारित गरेको छ । दिगो विकास लक्ष्यले ५ वटा P अर्थात People, Planet, Prosperity, Peace र Partnership लाई समेटेको छ । पारित एजेन्डा मध्ये आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकास लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाएको छ । सहकारीले पनि समुदाय र समुदायको आर्थिक र सामाजिक विकास र प्रगतिलाई जोड दिइ काम गर्ने हुँदा आफ्नो ठाउँबाट योगदान गर्नु अहम् जिम्मेवारी हो ।

नेपाल सरकारले चौधौँ योजनामा दिगो विकास लक्ष्य हासिल गर्न सहकारी क्षेत्रबाट समेत योगदानको अपेक्षा गरेको छ । सहकारी क्षेत्रले पनि दिगो विकास लक्ष्य हासिल गर्ने खालका कार्यक्रमहरु बनाई सक्रियतापूर्वक अगाडि बढ्नुपर्ने देखिन्छ । केहि सहकारीहरुले योजना बनाई सञ्चालक, कर्मचारी तथा सदस्यहरुको समेत जिम्मेवारी तोकि कार्य अगाडि बढाइरहेको देखिन्छ । सहकारी क्षेत्रले वातावरणीय संरक्षण, सुशासन, न्यायोचित श्रम सम्बन्ध, कृषिको व्यवसायिक विकास, सीप विकास, रोजगारीको अवसरको श्रृजना, लैङ्गिक समानता, उर्जा उत्पादनमा लगानी र प्रवर्धन मार्फत दिगो विकास लक्ष्य हासिल गर्न राज्यका विभिन्न निकायहरुसंँग सहकार्य गरेर कार्य गर्नुपर्ने देखिन्छ ।

७) स्व नियमन र सुशासन प्रति उत्तरदायित्व :-
समुदायमा छरिएर रहेको श्रम, सीप र पूँजीको सहि र प्रभावकारी परिचालन समुदायकै मानिसहरुको सहभागितामा सामुहिक लक्ष्य हासिल गर्नका लागि सञ्चालन गरिने सहकारी स्वभावैले सामूहिक समृद्धिको सपना देख्ने थलो हो । सदस्यका आवश्यकता र आकांक्षा पूरा गर्न सामूहिक स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणद्वारा सञ्चालन हुने भएकोले यस क्षेत्रमा सरकारको नियमन र हस्तक्षेप भन्दा पनि प्रवद्र्धनात्मक भूमिकाको अपेक्षा गरिन्छ । सुशासन र स्वनियमन भन्ने वित्तिकै खुला, पारदर्र्शी र पूर्ण जवाफदेही भएर सञ्चालन हुने संस्था भएकोले राज्यको नियमन र नियन्त्रणको आवश्यकता नै हुँदैन भन्ने मान्यता छ । सहकारीमा हुने गतिविधिको जिम्मेवार र अपनत्व सबै पक्षलाई हुने किसिमको एक अर्कालाई सन्तुलन र नियन्त्रण कायम हुने व्यवस्था छ । जस्तै सहकारी संस्थाको साधारणसभा नीति निर्माण र महत्वपूर्ण निर्णयका लागि संस्थामा आवद्ध बहुमत सदस्यले आफ्नो संस्था सञ्चालनका लागि आवश्यक निर्णयहरु गरिदिने गर्दछन् । सहकारी ऐनको व्यवस्था अनुरुप प्रत्येक ४ वर्षमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन हुन्छ यसमा चुन्ने र चुनिने अधिकार संस्थाको नीति पालना गर्ने सबै सदस्यहरुलाई समान अवसर हुन्छ । प्रत्येक वर्ष संस्थाको लेखा परिक्षण गर्न लेखा परिक्षक तोक्ने अधिकार पनि साधारणसभाको हुन्छ । मतलब सदस्यहरुकै हुन्छ । यसरी हेर्दा स्व नियमन गर्ने सबै संरचना छ । तर हामीले आआफ्नो जिम्मेवारी पूरा गरेर सुशाासन प्रवर्धनमा कति भूमिका निर्वाह गर्न सक्यौ भन्ने प्रधान कुरा हो ।

यदि साधारण सभाले इमान्दार, योग्य, अनुभवी, समुदाय र संस्था प्रति जवाफदेही सञ्चालक समिति निर्वाचित गर्ने हो भने लेखा व्यवस्थापन तथा संस्थाको नीति कार्यान्वयन र सहकारीको मूल्य मान्यता अनुरुप काम गरेको वा नगरेको हेर्न पहिचान गर्न, सुझाव दिन सक्ने क्षमताको लेखा सुपरिवेक्षण समितिको गठन गर्न सकेमा सदस्यको पहिलो जिम्मेवारी पूरा हुन्छ । संस्थाले तय गरेका नीति कार्यक्रम, वित्तीय प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन उपर चासो र सल्लाह सुझाव दिदै साधारणसभामा सक्रिय सहभागी हुनु सदस्यको दोस्रो जिम्मेवारी हो । पहिलो र दोस्रो जिम्मेवारीले म यो संस्थाको मालिक हुँ वा यो संस्था हामी सदस्यको हित र हाम्रो आवश्यकताका लागि हो होइन यति भएपछि प्रस्ट हुन्छ । साधारणसभामा सदस्यलाई छलफलको वातावरण बनाउने, सुझाबहरु सुन्ने, कार्यान्वयन गर्ने आदि काममा सञ्चालक जवाफदेही देखिँदा संस्थाका सदस्यले म यो संस्थाको मालिक हुँ भन्ने अनुभूती गरेर संस्थाका नीति कार्यक्रम पूरा गर्न सञ्चालक समितिलाई सकेको सहयोग गर्ने, संस्थाको वित्तीय तथा गैर वित्तीय कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने तेस्रो काम सदस्यको हो ।

सञ्चालक समितिले साधारणसभाले दिएको जिम्मेवारी अधिकार प्रति सजग भई सदस्य र समुदायको हितका लागि कार्य अगाडि बढाउने, योग्य र दक्ष कर्मचारी नियुक्ति गर्नु पर्छ । त्यस्तै कानुन पालनालाई ध्यान दिने, आवश्यक निर्णय तथा नीतिको तर्जुमा, सदस्यका कुराहरु सुन्नु पर्छ । साथै नियमनकारी निकायको निर्देशनको पालना गर्ने, कर्मचारीको गतिविधिको सुक्ष्म अध्ययन र अनुगमन गर्ने काम सञ्चालक समितिको मुख्य कामहरु हुन । लेखा सुपरिवेक्षण समितिले संस्थाको वित्तीय तथा गैर वित्तीय गतिविधिहरुको अनुगमन गरी सुझाव प्रस्तुत गर्ने । स्वतन्त्र व्यक्तिको रुपमा अर्थात सदस्यको हितमा काम भयो भएन, कर्मचारीको व्यवसायिकता, सञ्चालकको जवाफदेहिता सम्बन्धमा सुक्ष्म अध्ययन गरि यथार्थ सुझाव प्रस्तुत गर्ने । कर्मचारीहरुले संस्थाको नीति, निर्णय र संस्थाको समग्र लक्ष्य हासिलका लागि जिम्मेवार ढंगले कार्य गर्ने गर्नु पर्दछ । सबै सदस्यलाई समान व्यवहार प्रदान गर्ने , नीति र निर्णय भन्दा बेगर कुनै प्रभाव वा दवावमा काम नगर्ने हो भने स्व नियमन र सुशासन कायम हुने कुरामा दुई मत नहोला । संस्थामा यी सबै पक्षहरुको भूमिका नभएका कारण पछिल्लो समय सहकारीहरुमा सुशासनको विषयमा प्रश्नहरु उठ्ने गरेको छ । तर, कतिपय सहकारी स्थापना गर्दै गलत मनसाय र सोचले खोलिएका छन र सञ्चालन अपारदर्शी  छ । आफ्ना जिम्मेवारी प्रति सजग छैनन बस सदस्यका हितका लागि भन्दा पनि कसरी आफ्नो व्यक्तिगत हित हुन सक्छ भन्ने सोच र व्यवहारले समग्र सहकारी अभियानले कता कता कलंकको टिका लगाउन बाध्य छ । स्वनियमन र सुशासन प्रति सजग र सम्यमित र सजग हुनु जरुरी छ ।

सारांश 
प्रथमतः सहकारीलाई नीति, विधि र प्रविधि सहित गुणस्तीय सेवा र सामाजिक उत्तरदायित्व प्रति सजग र सम्यमित भइ समुदायको हित प्रवर्धन गर्ने ढंगले अगाडि बढाउनु जरुरी छ । सहकारी समुदायको एउटा अंश रहेकोले त्यहाँका मानिसहरुको अपनत्व र सहभागिता वेगर यसको परिकल्पना गर्न सकिदैन । त्यसैले सामाजिक उत्तरदायित्वप्रति सचेत, जिम्मेवार र क्रियाशील बनाउनु पर्दछ ।

सहकारी मार्फत गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा, वातावरणीय संरक्षण र मानवीय विकासमा समेत राज्यको तर्फबाट ठोस योजना तथा विधिहरु तय गरी अगाडि बढ्न सकेको खण्डमा स्थानीय अर्थतन्त्रको विकास र प्रवर्धनमा टेवा पुग्ने थियो । हाल सहकारी क्षेत्रमा भएका केहि गलत गतिविधिका कारण संस्थाहरु समस्यामा परेको अवस्थामा राज्यको तर्फबाट यथार्थ अनुगमन गरी सहकारी मूल्य, मान्यता र समुदाय प्रतिको उत्तरदायित्वबाट विमुख भएको कारण समस्या हो भने स्पस्ट कुरा सदस्य र समुदायलाई गर्नु जरुरी छ । समुदाय केन्द्रित असल अभ्यास गरेका संस्थाहरुलाई राज्यले थप हौसला र सहजिकरण गर्नु जरुरी छ । सहकारीका राम्रा कामको प्रवद्र्धन, विकृति र जोखिम न्यूनीकरण एवम् प्रभावकारी अनुगमनको व्यवस्था र संयन्त्र विकास गरेर सामाजिक उत्तरदायी बनाउन सहयोग पुग्नेछ । आर्थिक समृद्धि, सामाजिक एकता र न्यायसहितको बृहत्तर विकासको लागि सहकारीको पूँजी, संगठन र सम्भावना सदुपयोग गर्न सकेमा सहकारी अभियान प्रति सकरात्मक भावनाको विकास हुन गई आम मानिसहरु यो अभियानमा एकाकार हुने अवस्था सिर्जना हुन सक्दछ ।

( लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अधिकृत हुन् )

 

अभिलेख

लोकप्रिय