२३ कात्तिक २०८३, सोमबार

‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्दै विकू बचत

२०८० साउन २९, सोमबार
‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्दै विकू बचत

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालिका वडा नम्बर ९ लाई ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्ने तयारी गरेको छ। गैंडाकोट ९ का ९३.९६ प्रतिशत घर परिवारका सदस्य विकू बचतमा आवद्ध भएसँगै संस्थाले ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्ने तयारी गरेको हो । संस्थाले स्थापना दिवसको अवसर पारेर भदौ १ गते ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्न लागेको हो ।

पूर्ण वडा घोषणा पश्चात् आन्तरिक आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिए । वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैर वित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने कार्यक्रम गरिने अध्यक्ष सापकोटाले बताए ।

२०७८ जनगणना अनुसार गैंडाकोट ९ मा १ हजार ८० पुरुष र १ हजार १ सय ८ महिला गरी २ हजार १ सय ८८ जना छन् । वडामा रहेको नवजागरण सेवा केन्द्र, विकूका २४ वटा सेवा केन्द्र मध्ये तीन पटकसम्म उत्कृष्ट सेवा केन्द्रका रुपमा समेत पुरस्कृत भइसकेको सेवा केन्द्र हो ।

कर्मचारी र व्यवस्थापन उप समितिको सक्रियताले वडाका सबै विकूका सदस्य बनेका हुन् । जिल्लाका अन्य वडाहरुपनि पूर्ण सदस्य हुने अन्तिम चरणमा रहेकोले त्यस्ता वडालाई क्रमैसँग घोषणा गर्ने अध्यक्ष सापकोटाको भनाइ छ ।

विकू बचतले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिए।

यसैबीच विकूले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरेको छ । साउन ३०, ३१ र ३२ गते हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम, भदौ १ गते पूर्ण विकू सदस्य वडा घोषणा कार्यक्रम, भदौ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै भदौ ५ गते कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रम (पिओएस मेशिन शुभारम्भ) र दीप प्रज्ज्वलनका कार्यक्रम तय गरीएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले जानकारी दिए।

अभिलेख

लोकप्रिय