२३ कात्तिक २०८३, सोमबार

मण्डनदेउपुरमा सहकारी खोजी अभियान

२०८० साउन १२, शुक्रबार
मण्डनदेउपुरमा सहकारी खोजी अभियान

काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिकाले सहकारी संस्थाको अवस्था र गतिविधिको बारेमा जानकारी लिन सहकारी संस्था खोजी अभियान सुरु गरेको छ। नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको नेतृत्वमा वडा नम्बर ८ का तीन वटा सहकारीको स्थलगत अनुगमन गरिएको छ ।

सहकारीको अनुगमन र नियमन स्थानीय तहलाई पाएपछि नगरपालिकाले पहिलो पटक नगरपालिका भित्रका सहकारीको अनुगमन थालेको हो । करिब चार महिना अघि बसेको कार्यपालिका बैठकले सहकारी अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनका लागि नगरपालिकाले छुट्टै कार्यविधि बनाएको छ ।

सहकारीले भोगिरहेको वर्तमान समस्या, सहकारी संस्थाहरु कहाँ, कसरी सेवा दिइरहेका छन्, आफ्नो उद्देश्य अनुसार काम गरिरहेका छन् की छैनन् भनेर हेर्न समस्याको समाभान गर्नको लागि अनुगमनले सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । तत्कालिन डिभिजन सहकारी कार्यालयमा सो नगरपालिकाभित्रका १७२ वटा सहकारी दर्ता भएका थिए ।

त्यस्तै सेवा केन्द्र खोल्ने सहकारी संस्थाको संख्या पनि बढ्दो क्रममा रहेपनि नगरपालिकामा हालसम्म जम्मा ८४ वटा मात्रै सहकारी अद्यावधिक भएको नगरपालिकाले जनाएको छ । अनुगमनका लागि नगरपालिकाले विभिन्न सूचक सहितको चेक लिष्ट तयार पारेको छ । प्रत्येक सहकारी संस्थाको अनुगमनमा सो चेक लिष्ट भर्ने गरिएको सहकारी अनुगमन समितिका सदस्य सचिब लक्ष्मी काफ्लेले बताईन । सहकारीहरु कुन अवस्थामा कहाँ छन् भन्ने कुराको यकिन गर्न नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा ४ सदस्यीय अनुगमन समिति बनाएको छ ।

समितिमा सहकारीका अभियान्त दिपक प्रसाद पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष निरञ्जन विष्ट र वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य सदस्य रहेका छन् । गठित समितिले साउन ४ गतेदेखि सहकारीको अनुगमन गर्न थालेको हो ।

अहिलेसम्ममा वडा नम्बर ७ को सबै र ६ को सिपाघाट बजार क्षेत्रमा अनुगमन सकिएको छ । अबको एक महिनाभित्र नगरपालिकाभित्रका सबै सहकारी खोजी गरिसक्ने गरी काम गरिरहेको अनुगमन समितिले जनाएको छ ।

अभिलेख

लोकप्रिय