४ भदौ २०८३, बिहिबार

सहकारी इतिहास समेटिएका मेरा डायरीहरु

२०८० असार ३०, शनिवार
सहकारी इतिहास समेटिएका मेरा डायरीहरु

शिव अधिकारी
मेरो अधिकांश समय सहकारी, बचत ऋण सहकारी र सबैभन्दा बढी नेफ्स्कूनको बारेमा विचार विमर्श, बहसपैरवी र छलफलमा बित्छ । १९ वर्ष नेफ्स्कूनको सक्रिय जागिरे जीवनबाट अलग्गिएपनि नेपालको सहकारी र साकोस अभियानबाट आफुलाई आजीवन अलग राख्न सक्दिनँ । आवरणमा यदाकदा मन विरक्तिए पनि अन्तःस्करणले मलाई अलग्गिन दिदैन । यो मलाई भन्दा बढी अरु कसैलाई पो थाहा होला र !
अभियानले बाटो बिराउँदा, नेतृत्वमा बिचलन आउँदा, सुशासनका सैयौं सवालमा सञ्चारमाध्यम अनि सरोकारवालाहरुले प्रश्नहरुको पर्खाल लगाउँदा मन कुडिन्छ, पोल्छ र भतभती हुन्छ । सहन सहज हुँदैन । नेफ्स्कूनमा फिल्ड कार्यक्रम अधिकृत, कार्यक्रम अधिकृतहुँदै कामु प्रमुख कार्यकारी अधिृकत सम्म भएर अधिकांश समय उच्च व्यवस्थापनको गहनतम् जिम्मेवारी बोकेका कारण पनि अभियानको नेतृत्वले लीक छोड्दा दुःखी हुन्छु । एक्लै भक्कानिन्छु, बर्बराउँछु र अत्यधिक चित्त नबुझेपछि कहिलेकाही सामाजिक सञ्जालमा शालिन असहमति जनाउँछु । यो कसैप्रति रिस वा द्वेष भन्दा पनि मुलुकको सहकारी अभियानप्रतिको स्नेहले जन्माएको स्वाभाविक प्रतिक्रिया हो । मजस्तै अभियानलाई माया गर्ने अनगिन्ती व्यक्तिहरुको भावना पोखेको हुँ । जागिर वा जिम्मेवारीका कारण चाहेर पनि बोल्न नसक्नेहरुको प्रतिनिधि आवाज म बनेको हुँ ।
साकोस अभियानसँग जोडिएदेखिनै डायरी लेखन सुरु गरेँ । दिनभरी भएका महत्वपूर्ण र भविष्यमा काम लाग्न सक्ने र अर्थ बोक्ने घटनाक्रमलाई डायरीमा उतार्ने संस्कृति बनाएँ जसका कारण जागिरसँग अलग हुन्जेलसम्म घरमा एक अँगालो डायरी भए । लेखनलाई मलजल गर्ने, अक्षरलाई कलात्मक बनाउने र महत्वपूर्ण घटनाक्रमलाई मर्न नदिने काम डायरी लेखनले गर्दछ भन्ने विद्यार्थी कालमै पढेका कारण त्यसैलाई व्यावहारिकता दिन थालेँ । डायरी लेखन दैनिकी बन्यो ।

डायरीहरुसँगको प्रेम र लगावप्रति परिवार र आफ्न्तजन पनि बेलाबेलामा आश्चार्यमा पर्छन् । श्रीमती र छोराछोरी भन्दा पनि प्यारो लाग्छन् यी डायरीहरु जसरी घरपालुवा जनावर, महंगो सवारी साधन वा भौतिक आर्जनप्रति मानिसहरुको प्रेम हुन्छ । यी डायरीका अक्षरहरुले मलाई सहकारी चिनाए, बुझाए, सिकाए र पढाए । कहीलेकाही यी डायरीमा नखोजेका र नचाहेका कुराहरु पनि लेखेको छु किनकि ती मेरो सीमाभन्दा परका विषयहरु थिए । मैले चाहेर पनि भए गरेका ती निर्णयप्रतिको मेरो भाव अभिव्यक्त नगरिरहन सक्तिन थिएँ । तर, यो पक्का हो, डायरीका अधिकांश विचारहरु बलिया र अभियानलाई दिशाबोध गर्ने खालका छन् ।

समय मिल्ने बित्तिकै डायरीहरुको याद आउँछ र हत्तनपत्त पाना पल्टाउन थाल्छु । मौन सम्वाद (मोनोलग) मा सामेल हुन्छु । यी डायरीहरु हेर्दा आफुलाई मनपर्ने चलचित्र हेरे जस्तो लाग्छ, यी डायरीहरु पढ्दा मनले मज्जा मानेको कुनै पुस्तक पढे जस्तो हुन्छ, यिनका शब्द शब्दहरुसँग सम्वाद गर्दा रंगमञ्चमा नाटक हेरे जस्तो लाग्छ र यी डायरीहरु कोठाको कुनामा सजाएर राख्दा घरको शोभा नै बढे जस्तो हुन्छ । यी डायरीहरुसँग मेरो शान, साख, सफलता, सोच, संवेदना, सहानुभूति, समर्पण र सद्भाव ‘फलाममा चुम्बक टाँसिएझै’ टपक्क टाँसिएका छन् ।

यी डायरीहरु एक हदसम्म प्रसिद्ध साहित्यकार विप्लव ढकालको लोकप्रिय कविता संग्रह ‘प्रोफेसर शर्माको डायरी’ जस्तै हुन् । यसैले यिनलाई मैले आफैले न्वारन गरेको छु ‘अभियन्ता अधिकारीको डायरी’ । अभियानको उन्नति र श्रीवृद्धिमा समय खर्चेका कारण पनि यति भन्ने हक मलाई मेरो प्यारो अभियानले प्रदान गर्छ भन्ने विश्वास गर्न सक्छु । यिनको प्रयोगले अरुका लागि शिक्षा, सूचना र सञ्चारको काम गर्छन् र यिनका सम्पूर्ण अक्षरहरुले अनुभूति दिन्छन्, इतिहास बताउँदछन् र प्रायः अक्षरहरुले आशा र अपेक्षा जगाउँदछन् । यसबाहेक प्रोफेसर शर्माको डायरीको अन्तरनिहित आशय जस्तै यसलाई समयसापेक्ष बनाउँदै अभियानको हितका लागि प्रयोग गर्ने तर्फ सचेत समेत रहेको विश्वास दिलाउन चाहन्छु । त्यसतर्फ काम पनि गरिरहेको छु ।

मलाई कसैले ‘यसो गर’ भनेर होइन, मनमा स्वतःस्फूर्त सहकारी स्नेह उद्वेलित भएर डायरीहरु बनाएको हुँ । अरुले अर्थोपार्जन गरे होलान् मैले कहिल्यै भुल्न र मेट्न नसक्ने बैभवपूर्ण अनुभवहरु समेटिएका डायरीहरु आर्जन गरेँ । अभियानप्रतिको आस्था, आकर्षण र आसक्तिको आडमा यसो भएको हो । समय मिल्नासाथ (कतिपय अवस्थामा समय निकालेरै भएपनि) सहकारी अनि साकोस अभियानको इतिहासलाई मर्न नदिई सामिप्यताको सिरानी हालेर सँगाली राखेका डायरीहरुको पाना पल्टाउने गर्छु । यी डायरीका घटनाक्रमहरुसँग मन बहलाउछु । अगाध प्रेमका साथ संरक्षण गरेका यी डायरीहरु मुर्साछु, ओल्टाउछु, पल्टाउँछु, माया गर्छु । डायरीहरुसँगको डेटिङले मन बहलिन्छ । यी डायरीहरुसँग मेरो जागीर, जाँगर अनि जीवन जोडिएको छ । साँच्चै भन्ने हो भने यी डायरीहरु छन् र त म छु । म अर्थात् मेरा डायरीहरु ।

‘डायरीसँग डेटिङ’ (डेटिङ विथ डायरी) बौद्धिक विचरण वा इन्टलेक्चुअल डेटिङ पनि हो भन्ने लाग्छ । यस्तै विचरणको क्रममा साकोस ऐनको बहस पैरवीका लागि नेफ्स्कूनबाट भएका प्रयासहरुमा आँखा अट्कियो । बहसपैरवीहरु विस्मृतिमा नजाउन र अविचलित प्रयासहरु मर्न नदिइ मलजल र गोडमेलको निरन्तर प्रयास भैरहोस् भनेर नेफ्स्कूनले जारी गरेको विज्ञप्ति र त्यससँग सम्बन्धित तस्बिर पोष्ट गरेको थिए । आज यसो क्यालेन्डर पल्टाएर हेर्छु त मिठो संयोग पो जुरेछ ! नेफ्स्कूनले बृहत्तर छलफलसहित तयार पारेको साकोस ऐनको मस्यौदा तत्कालिन सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ र सहकारी विभागका रजिष्ट्रार बिष्णुहरि पौड्याललाई संघका अध्यक्ष ऋषिराज घिमिरेको नेतृत्वमा सञ्चालक तथा उच्च व्यवस्थापनको टोलीले बुझाएको आज ९ वर्ष पूरा भएर १० वर्ष लाग्यो । आशा गरौं, सच्चा मन र मस्तिष्कले गरेको यो प्रयासले ढिलो चाँडो अवश्य सफलता मिल्नेछ । सफलता प्राप्त गरेको त्यो ऐतिहासिक दिन म मेरो डायरीमा केही नयाँ शब्दहरु थप्न सकूँ ।

अभियानप्रति अमिट आदरभावसहित जय सहकारी ।

(अधिकारी नेफ्स्कून पूर्व का.मु प्रमुख कार्यकारी अधिकृत/प्रशासन प्रमुख हुन् । अधिकारी हाल सिटिजन लाईफ ईन्स्योरेन्सका लघुवित्त विज्ञको रुपमा कार्यरत छन्)

अभिलेख

लोकप्रिय