सीएमसी काभ्रेपलाञ्चोकले मनायो छैटौँ वार्षिकोत्सव, व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्वमा जोड
बनेपा (काभ्रे) : सहकारी व्यवस्थापनलाई थप प्रभावकारी र व्यावसायिक बनाउँदै कर्मचारीको क्षमता अभिवृद्धि तथा संस्थागत सिकाइमा सक्रिय रहँदै आएको को–अपरेटिभ मेनेजर्स क्लव, काभ्रेपलाञ्चोक (सीएमसी काभ्रेपलाञ्चोक) छैटौँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा क्लवले शुभकामना आदानप्रदानसँगै खुला रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत निरन्तरता दिएको छ।
२०७८ साल भदौ २ गते नौ जना व्यवस्थापकको पहलमा स्थापना भएको क्लवले स्थापनाकालदेखि नै सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धि, संस्थागत सिकाइ, अनुभव आदानप्रदान तथा सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल र अन्तरक्रियालाई प्राथमिकता दिँदै आएको छ।

स्थापना दिवसकै अवसरमा यसअघि क्लवले सहकारी संस्थामा अग्रभागमा रहेर काम गर्ने कर्मचारीका लागि ‘सहकारी सेवा संस्कार रूपान्तरण’ कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।
क्लवका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहकारी संस्थाको व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धिसँगै संस्थागत सिकाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले जिल्लाका सहकारी संस्थाबीच सहकार्य, अनुभव आदानप्रदान र असल अभ्यासको विकासमा क्लवले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सहकारी क्षेत्र निरन्तर परिवर्तनको क्रममा रहेकाले व्यवस्थापक तथा कर्मचारीलाई समयअनुकूल ज्ञान, सीप र क्षमता विकासका अवसर उपलब्ध गराउनु आवश्यक छ। यही आवश्यकतालाई पहिचान गरी क्लवले आगामी दिनमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै जाने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष अमन पोटेले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न संस्थाहरू थप व्यवस्थित, पारदर्शी र सुशासनयुक्त बन्नुपर्नेमा जोड दिनुभयो। सहकारीको दिगोपनका लागि ऐन, नियम तथा सरकारले ल्याएका पछिल्ला नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यस्तै, जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष उदयराम कायश्थले सहकारी संस्थाको अभिलेखीकरण, व्यवस्थापन प्रणाली तथा वित्तीय अनुशासनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। सक्रिय र संस्थागत रूपमा सबल सहकारीले मात्रै सदस्यको विश्वास कायम राख्न सक्ने भन्दै उहाँले सहकारी व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले सहकारी क्षेत्रको गतिविधिमा पारदर्शिता र सूचनाको महत्व रहने बताउनुभयो। सहकारी संस्थाले आफ्ना गतिविधि तथा वित्तीय अवस्थालाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै सदस्य तथा सरोकारवालालाई आवश्यक सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा क्लवका उपाध्यक्ष ठाकुरानाथ अधिकारीले स्वागत मन्तव्य राख्दै स्थापना कालदेखि क्लवले सहकारी व्यवस्थापकहरूको क्षमता विकास, संस्थागत सिकाइ र अनुभव आदानप्रदानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । क्लवका संस्थापक अध्यक्ष विवेकराज ठकुरी र निवर्तमान अध्यक्ष मदन बस्नेत लगायतले सहकारी संस्थाको वर्तमान अवस्था, व्यवस्थापन, कर्मचारीको क्षमता अभिवृद्धि, अभिलेखीकरण, संस्थागत सुशासन तथा सहकारीसम्बन्धी ऐन–नियमका विषयमा सुझाव दिनुभएको थियो। कार्यक्रमको सञ्चालन क्लवका सचिव सुवास वैद्यले गर्नुभएको थियो ।
क्लवले स्थापना दिवसलाई केवल शुभकामना आदानप्रदानमा सीमित नराखी क्लवले सामाजिक उत्तरदायित्वलाई समेत जोडेको थियो। स्थापना दिवसकै अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको व्यवस्थापन तथा संयोजन बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट गरिएको थियो । सहकारी क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा सर्वसाधारणको सहभागितामा सम्पन्न रक्तदान कार्यक्रमलाई क्लवले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको जनाएको छ ।
सहकारी व्यवस्थापन र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै क्लवले आफ्नो छैटौँ वर्षको यात्रा तय गरेको छ। सहकारी संस्थाको व्यवस्थापन केवल वित्तीय कारोबारमा सीमित नभई दक्ष जनशक्ति, संस्थागत ज्ञान, पारदर्शिता, सुशासन र सामाजिक जिम्मेवारीसँग समेत जोडिनुपर्ने सन्देश स्थापना दिवसका गतिविधिले दिएको छ।
पछिल्लो समय सरकारले सहकारी क्षेत्रलाई लक्षित गरी ल्याएका विभिन्न नीति तथा व्यवस्थाबारे समेत कार्यक्रममा चर्चा गरिएको थियो। सहभागीहरूले सहकारी संस्थाले कानुनी प्रावधानको पालना गर्दै सुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
आगामी दिनमा पनि सहकारी व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धि, संस्थागत सिकाइ, अनुभव आदानप्रदान तथा सहकारी क्षेत्रका समसामयिक विषयमा नियमित कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष दाहालले बताउनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै
२ भाद्र २०८३, मंगलवार
सहकारीको साख फर्काउने अभियानमा जुट्ने कि?
२ भाद्र २०८३, मंगलवार