२ भदौ २०८३, मङ्गलबार

सहकारीकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै

२०८३ भदौ २, मङ्गलबार
सहकारीकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुँदै

काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले १६औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

सीजेएनले फिनएक्स सीबीएसको मुख्य प्रायोजनमा भदौ १६ गते ‘स्वास्थ्यका लागि खेलकुद’ शीर्षकको नाराका साथ सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच एक दिवसीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने तय गरेको हो।
काठमाडौंको थापागाउँस्थित रोयल फुट्सलमा बिहान साढे १० बजेदेखि सञ्चालन हुने प्रतियोगितामा सहकारीकर्मी र सीजेएनका सदस्यहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताको मुख्य विशेषताका रुपमा महिला र पुरुष खेलाडीहरुका लागि छुट्टाछुट्टै टिम नबनाई दुवै समावेश भएको मिश्रित साझा टिम बनाएर प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

सीजेएनको साउन २९ गते बसेको कार्यसमितिको बैठकले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेर हर्षोल्लासपूर्वक स्थापना दिवस मनाउने निर्णय गरेको थियो ।

खेलकुदको माध्यमबाट स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नुका साथै सहकारीकर्मी र सञ्चारकर्मीहरुबीच आत्मीय सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ समाजले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि, हकहित संरक्षण र वृत्ति विकास गर्ने मुख्य उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको समाज यही भदौ १९ गते देखि १६औं वसन्तमा प्रवेश गर्न लागेको हो।

अभिलेख

लोकप्रिय