२३ कात्तिक २०८३, सोमबार

तिलोत्तमा बहुमुखी सहकारीलाई लुम्बीनी प्रदेश स्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार

२०८० असार १७, आईतवार
तिलोत्तमा बहुमुखी सहकारीलाई लुम्बीनी प्रदेश स्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, शंकरनगर स्थित श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था लुम्बीनी प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७९ बाट पुरस्कृत भएको छ ।

राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार यस पटक लुम्बीनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारीले पाएको हो । शनिबार १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संस्थालाई नगदसहित पुरस्कृत गरेको हो । पुरस्कार ग्रहणमा संस्थाका अध्यक्ष माधवलाल देवकोटासहित सञ्चालक र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था एक सय ६० जना सदस्यको ८० हजार सेयर पुँजीबाट २०५५ सालमा स्थापना भएको थियो । २०५५ बाट २०८० सम्म आईपुग्दा संस्थामा ३५ सय सदस्य आवद्ध छन् । ६ करोड रुपैयाँ सेयर पुँजी रहेको यस संस्थाको कुल वासलात ६२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । जगेडा कोषमा २ करोड रुपैयाँ रहेको संस्थाको विभिन्न कोषहरु ४ प्रतिशतभन्दा बढी छ ।

संस्थाको सञ्चालक समितिमा ५४ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । पछिल्लो विवरण अनुसार संस्थासँग २० प्रतिशत तरलता रहेको छ । संस्थाको बाह्य ऋण भने शून्य रहेको छ । श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था संस्था समुदायमा आधारित सदस्य केन्द्रित संस्था हो । संस्थाले रसायनिक मल, उन्नत बिउ बिजन बिक्री बितरण गर्दै आएको छ । कृषि विज्ञहरूद्वारा समय समयमा कृषकहरूलाई उन्नत बालिनाली र रोगबाट बचाउने सम्बन्धी तालिम समेत संस्थाले प्रदान गर्दै आएको छ ।

May be an image of 10 people, dais, newsroom and text

संस्थाले महिलाहरुलाई आत्मनिर्भर बन्न, स्वरोजगार बन्नका लागि सिपमूलक तालिम, वित्तीय साक्षरता कार्यक्रम, कोखदेखि शोक सम्मको कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै सुत्केरी सम्मान कार्यक्रम अन्तर्गत प्रति सन्तान २ हजार रुपैयाँ, मृत्यु हुँदा शोक अनुदान ५० हजार, दुर्घटना हुँदा परिवारलाई आर्थिक अनुदान २ लाख रुपैयाँ, सदस्य बिरामी हुँदा विभिन्न अस्पतालको सहकार्यमा १० देखि २५ प्रतिशतसम्म छुट संस्थाले प्रदान गर्दै आएको संस्थाका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिए ।

संस्थाले फोहरमैला व्यवस्थापनका लागि किचनबाट निस्कने फोहर कम्पोष्टमल, गड्यौला मल बनाउने तालिम, महिलाहरुका लागि नेतृत्व विकास तालिम संस्थाले नियमित रुपमा सञ्चालन गर्दै आएको छ । त्यस्तै विभिन्न संघ संस्थाहरुमा महिलालाई नेतृत्वमा प्रतिष्पर्धा गर्न र नेतृत्व लिनका लागि प्रोत्साहन समेत संस्थाले गर्दै आएको छ । संस्थाले वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम समेत नियमित रुपमा गर्दै आएको छ।

अभिलेख

लोकप्रिय