३ वैशाख २०८३, बिहिबार

सहकारीमा बढ्दो विकृतिको नियन्त्रण कसरी?

२०८० असार १७, आईतवार
सहकारीमा बढ्दो विकृतिको नियन्त्रण कसरी?

बिष्णु प्रसाद पाठक

सहकारीमा विकृति देखिनुमा धेरै कारणहरु मध्ये प्रमुख कारण सहकारीका निर्वाचित सञ्चालक र लेखा सुपरिबेक्षण समितिका सदस्यहरुले सहकारीको रकम नियम विपरित आफैले व्यापार व्यवसाय तथा घर जग्गामा प्रयोग गरेको तथा सहकारी आफैलेनै विभिन्न क्षेत्रमा प्रयोग गरेको पाइन्छ । विकृति देखिएका सहकारीहरुमा विभिन्न कारणले बचत राख्ने सदस्यहरुले सहकारीले रकम के कसरी प्रयोग गरेकोे छ हेर्ने गरेको पाइदैन । सहकारी दर्ता भएको भन्ने आधार र व्याजको प्रलोभनमा परि बचत जम्मा गरेको पाइन्छ । सहकारीको नियमन र अनुगमन अत्यन्त कमजोर रहेको छ र यो तत्काल सुधिर्ने अवस्था देखिदैन । नेपालको अहिलेको अवस्थामा सहकारीलाई सदस्यहरुले मात्र बचाउन सक्दछन् । नियमन र अनुगमन सदस्यहरुले मात्र गर्न सक्दछन् । ऐन कानुन अनुसार दर्ता, नियमन तथा अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय तह, प्रदेश तह र सहकारी विभागबाट सहकारीको बचत सुरक्षित हुने अवस्था छैन । प्रहरी, अदालत तथा सरकारले गर्न सक्ने भनेको रकम अपचलन गरेकालाई ठगीको मुद्दा चलाउने हो जुनबाट अपचलन भएका रकम उठी सदस्यको बचत तत्काल फिर्ता हुन सक्ने देखिदैन ।

सहकारीमा विकृति कसरी भित्रिन्छ?

सहकारीमा विकृति भित्रिनुका धेरै कारणहरु छन् । सहकारीमा शेयर खरिद गर्ने, बचत र ऋणको कारोबार गर्ने सबैले सहकारीमा विकृति भित्रिने कारणहरु बुझ्न अत्यन्त जरुरी छ ।

१) सहकारीमा समुदायहरुले स-साना बचत नियमित जम्मा गर्दछन र यसरी जम्मा भएका बचतहरुलाई नियमित बचत गर्ने सदस्यहरु मध्येबाट ऋणको आवश्यक पर्नेलाई स-साना ऋण दिने गरिन्छ । तर यहाँ त नियमित बचत नगर्नेसँग व्याजको प्रलोभन देखाई एक मुष्ठ ठुलो बचत लिने र सञ्चालकहरु आफै वा कुनै निश्चित व्यक्तिलाई ठुलो ऋण दिइन्छ । ओरियन्टल सहकारी, सिभिल सहकारी, गौतम श्री सहकारी, शिवशिखर सहकारी, तुलसी सहकारी, सुमेरु सहकारीहरुमा विकृति हुनुका प्रमुख कारणहरु यीनै देखिन्छन् ।

२) धेरै विकृति देखिएका सहकारीहरुमा विना धितो ऋण दिने वा उचित धितो समेत लिइदैन । विना धितो कतिसम्म दिने? कसरी दिने? दिएको ऋण असुली हुने पक्का आधार के छ हेरिदैन । यसरी जोखिममा वितरण गरेको ऋण उठने सम्भावना कम हुन्छ ।

३) सहकारीमा वितरण गरेको सबै ऋणको मासिक किस्ता गर्नुपर्ने र ऋणको अवधि सकेसम्म छोटो हुनु पर्दछ । विना धितो भएमा बढीमा ६ देखि १८ महिना र धितोमा बढीमा २४ देखि ६० महिना तर सहकारीमा व्याज मात्र लिने र व्याज लिएर ऋणको म्याद थप गर्ने प्रचलन छ जुन अत्यन्त जोखिम कार्य हो ।

४) सहकारीले बैंक तथा वित्तीय संस्थाको सेवा नपुगेका विपन्न, कमजोर, धितो दिन नसक्नेहरुलाई स–साना बचत र ऋणको सेवा दिने हो तर यहॉ त व्याजको प्रलोभन देखाएर ठुला ठुला बचत दिने, र ठुला ठुला ऋण दिने गरिन्छ । सहकारीले ठुलो शेयर, ठुलो बचत र ठुलो ऋणको कारोवार गर्नालेनै विकृति भित्रिएको हो ।

५) वित्तीय कारोवार गर्नेले मासिक ऋणको वर्गिकरण गर्ने र नियमअनुसार जोखिम कोष छुट्टयाउनु पर्दछ । सहकारीले संस्थागत पुजि‘ (जगेडा कोष) मा जोड दिएमा जोखिम कम हुन्छ तर यसको कमिले गर्दा सहकारीमा जोखिम बढदै गएको हो । जगेडा कोष बढी हुने सहकारीलाई आर्थिक मन्दी हुदॉ पनि कमै प्रभाव पर्दछ ।

६) सहकारीका सञ्चालकहरु, लेखा समितिका संयोजक र सदस्यहरु र कर्मचारीहरुलेनै ऋण लिएर ऋण नतिरेको पाइन्छ । यसको साथै सहकारी आफैले सदस्यको बचतको घर जग्गा खरिद निर्माण आदीमा प्रयोग गरेको पाइन्छ । सहकारीमा विकृति आउनुको प्रमुख कारण यही देखिन्छ ।

७) कमजोर नियमन र अनुगमनले सहकारीलाई केही व्यक्तिहरुले अनुचित तवरले प्रयोग गरिरहेका छन् । स्थानिय तह, प्रदेश तह र सहकारी विभागले कडा नियमन र अनुगमन गर्ने स्थिति देखिदैन । नेपाल राष्ट्र बैंकबाट यो हुने अवस्था छैन । हालको स्थितिमा बचत र शेयर राख्ने सदस्यहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष अनुगमन गरेको पाइदैन । यसबाट विकृति बढदै गइरहेछ ।

सहकारीमा विकृति कसरी नियन्त्रण गर्ने?
सहकारीमा भइरहेका विकृतिहरु नियन्त्रण गर्न नसकिने होइन । यसको लागि सहकारीका शेयर खरिद गर्ने, बचत र ऋणको कारोवार गर्ने, केन्द्र, प्रदेश, तथा जिल्लामा रहेका संघहरु, महासंघ र राष्ट्रिय सहकारी बैंकले मिलेर काम गर्नुपर्ने हुन्छ । सरकारले जिम्मा लिनु पर्दछ भनेर उम्किनु सहकारी अभियानलाई मार्नु हो ।

१) नियमित बचत गर्नेसंग मात्र स-साना बचत लिने र उनीहरुलाई मात्र स-साना ऋण दिने । ठुलो र लामो बचत नलिने र ऋण नदिने । सबै ऋण मासिक किस्तामा मात्र दिने । बचत र ऋणको कारोवार केन्द्रीय कार्यालयसंग जोडिएको तोकिएको क्षेत्रमा मात्र गर्ने ।

२) ब्याज मात्र लिएर कुनै पनि ऋण प्रवाह नगर्ने ।

३) साधारणतया ऋणको म्याद थप नगर्ने र गर्नु परेमा म्याद थप गरेको रकम जोखिमकोषमा राख्ने ।

४) सञ्चालकहरु, लेखा समितिका संयोजक र सदस्यहरु र संस्थाका कर्मचारीहरुलाई ऋण दिन बन्द गर्ने । सहकारीले सदस्यको बचत शेयर, घर जग्गा खरिदमा प्रयोग नगर्ने ।

५) प्रयाप्त धितो लिएर मात्र ऋण प्रवाह गर्ने । लघुवित्तको हकमा प्रकृया अपनाएर बढीमा ३ लाखमात्र ६ देखि १८ महिनाको लागि मासिक किस्तामा ऋण प्रवाह गर्ने ।

६) ऋणको वर्गिकरण मासिक गरि नियमअनुसार जोखिम कोषमा रकम राख्ने । भाखा नाघेको रकमको मासिकनै व्यवस्थापन गर्ने (जोखिम कोष, ऋण अपलेखन, कडा ऋण असुली ताकेता) । संस्थागत पुजि‘ (जगेडा कोष) मा जोड दिने ।
७) औसत शेयर लिने (एकै जना संग धेरै शेयर नलिने) र शेयर भन्दा संस्थागत पुँजिमा जोड दिने ।

८) सहकारीमा शेयर खरिद गर्ने, शेयर लिएर बचत र ऋणको कारोवार गर्ने सबैले प्रत्यक्ष वा प्रतिनिधि मार्फत अप्रत्यक्ष कम्तिमा मासिक सहकारीको अवस्था बुझने र जोखिम कार्य भएको भए सो गर्न रोक लगाउने (संस्थामा वा नियमनकारीमा उजुरी दिएर) ।

९) महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय संघहरु, प्रदेश संघहरु र जिल्ला संघहरु मिलेर देशभरिकै सहकारीको वर्गिकरण गर्न आवश्यक कार्यदलहरु गठन गर्ने । वर्गिकरणको आधार सुशासन, ऋण र बचतको प्रकृया/सिमा/अवधि, ऋणको अवस्था/वर्गिकरण/जोखिम कोष र संस्थागत पुँजी हुने । उत्तमलाई नियमित अनुगमन, सन्तोषजनकलाई सतर्क, खराब उन्मुख र खराबलाई बचत लिन र नयाँ ऋण दिन रोक लगाउने र संकटग्रस्तलाई खारेजी गर्ने तर्फ कारबाही चलाउने । ऋण अपचलन गर्नेको चल अचल सम्पति रोक्का राखि विक्री गर्न लगाई बचत फिर्ताको कार्य गर्ने । यसको लागि सहकारी संस्था र संघहरुले स्थानिय तहको सहयोग लिने ।

१०) वित्तीय सहकारीहरुलाई प्राप्ती/मर्जरमा जान अनिवार्य गर्ने । यसको लागि न्यूनतम प्रारम्भिक पुँजी बृद्धि गर्ने ।

११) नियन्त्रण प्रणाली विकास गर्न मध्यकालिन कार्यको रुपमा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा व्यवस्था भएको कर्जा सुचना केन्द्र, ऋण असुली न्यायाधिकरण, कर्जा तथा बचत सुरक्षण कोष, र सहकारी प्रवद्र्धन कोषको सञ्चालन गर्न नियमकारी निकायलाई महासंघ, राष्ट्रिय सहकारी बैंक र संघहरुले बहस पैरबी मार्फत दबाब दिने ।

१२) दीर्घकालिन रुपमा नियमन र अनुगमन प्रणाली मजबुद बनाउन राष्ट्रिय सहकारी विकास बोर्डलाई ऐन कानुन संसोधन गरेर वित्तीय कारोबार गर्ने सहकारीको नियमन र अनुगमनको प्राधिकरणमा परिणत गर्ने वा अलगै स्वतन्त्र निकायको गठन गर्ने ।

(लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून), डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.का पूर्व कार्यकारी प्रमुख हुन् । साथै राष्ट्रिय सहकारी बैंक, प्रवुद्ध समुहका सदस्य समेत हुन् ।)

अभिलेख

लोकप्रिय