सहकारीमा बढ्दो विकृतिको नियन्त्रण कसरी?
बिष्णु प्रसाद पाठक
सहकारीमा विकृति देखिनुमा धेरै कारणहरु मध्ये प्रमुख कारण सहकारीका निर्वाचित सञ्चालक र लेखा सुपरिबेक्षण समितिका सदस्यहरुले सहकारीको रकम नियम विपरित आफैले व्यापार व्यवसाय तथा घर जग्गामा प्रयोग गरेको तथा सहकारी आफैलेनै विभिन्न क्षेत्रमा प्रयोग गरेको पाइन्छ । विकृति देखिएका सहकारीहरुमा विभिन्न कारणले बचत राख्ने सदस्यहरुले सहकारीले रकम के कसरी प्रयोग गरेकोे छ हेर्ने गरेको पाइदैन । सहकारी दर्ता भएको भन्ने आधार र व्याजको प्रलोभनमा परि बचत जम्मा गरेको पाइन्छ । सहकारीको नियमन र अनुगमन अत्यन्त कमजोर रहेको छ र यो तत्काल सुधिर्ने अवस्था देखिदैन । नेपालको अहिलेको अवस्थामा सहकारीलाई सदस्यहरुले मात्र बचाउन सक्दछन् । नियमन र अनुगमन सदस्यहरुले मात्र गर्न सक्दछन् । ऐन कानुन अनुसार दर्ता, नियमन तथा अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय तह, प्रदेश तह र सहकारी विभागबाट सहकारीको बचत सुरक्षित हुने अवस्था छैन । प्रहरी, अदालत तथा सरकारले गर्न सक्ने भनेको रकम अपचलन गरेकालाई ठगीको मुद्दा चलाउने हो जुनबाट अपचलन भएका रकम उठी सदस्यको बचत तत्काल फिर्ता हुन सक्ने देखिदैन ।
सहकारीमा विकृति कसरी भित्रिन्छ?
सहकारीमा विकृति भित्रिनुका धेरै कारणहरु छन् । सहकारीमा शेयर खरिद गर्ने, बचत र ऋणको कारोबार गर्ने सबैले सहकारीमा विकृति भित्रिने कारणहरु बुझ्न अत्यन्त जरुरी छ ।
१) सहकारीमा समुदायहरुले स-साना बचत नियमित जम्मा गर्दछन र यसरी जम्मा भएका बचतहरुलाई नियमित बचत गर्ने सदस्यहरु मध्येबाट ऋणको आवश्यक पर्नेलाई स-साना ऋण दिने गरिन्छ । तर यहाँ त नियमित बचत नगर्नेसँग व्याजको प्रलोभन देखाई एक मुष्ठ ठुलो बचत लिने र सञ्चालकहरु आफै वा कुनै निश्चित व्यक्तिलाई ठुलो ऋण दिइन्छ । ओरियन्टल सहकारी, सिभिल सहकारी, गौतम श्री सहकारी, शिवशिखर सहकारी, तुलसी सहकारी, सुमेरु सहकारीहरुमा विकृति हुनुका प्रमुख कारणहरु यीनै देखिन्छन् ।
२) धेरै विकृति देखिएका सहकारीहरुमा विना धितो ऋण दिने वा उचित धितो समेत लिइदैन । विना धितो कतिसम्म दिने? कसरी दिने? दिएको ऋण असुली हुने पक्का आधार के छ हेरिदैन । यसरी जोखिममा वितरण गरेको ऋण उठने सम्भावना कम हुन्छ ।
३) सहकारीमा वितरण गरेको सबै ऋणको मासिक किस्ता गर्नुपर्ने र ऋणको अवधि सकेसम्म छोटो हुनु पर्दछ । विना धितो भएमा बढीमा ६ देखि १८ महिना र धितोमा बढीमा २४ देखि ६० महिना तर सहकारीमा व्याज मात्र लिने र व्याज लिएर ऋणको म्याद थप गर्ने प्रचलन छ जुन अत्यन्त जोखिम कार्य हो ।
४) सहकारीले बैंक तथा वित्तीय संस्थाको सेवा नपुगेका विपन्न, कमजोर, धितो दिन नसक्नेहरुलाई स–साना बचत र ऋणको सेवा दिने हो तर यहॉ त व्याजको प्रलोभन देखाएर ठुला ठुला बचत दिने, र ठुला ठुला ऋण दिने गरिन्छ । सहकारीले ठुलो शेयर, ठुलो बचत र ठुलो ऋणको कारोवार गर्नालेनै विकृति भित्रिएको हो ।
५) वित्तीय कारोवार गर्नेले मासिक ऋणको वर्गिकरण गर्ने र नियमअनुसार जोखिम कोष छुट्टयाउनु पर्दछ । सहकारीले संस्थागत पुजि‘ (जगेडा कोष) मा जोड दिएमा जोखिम कम हुन्छ तर यसको कमिले गर्दा सहकारीमा जोखिम बढदै गएको हो । जगेडा कोष बढी हुने सहकारीलाई आर्थिक मन्दी हुदॉ पनि कमै प्रभाव पर्दछ ।
६) सहकारीका सञ्चालकहरु, लेखा समितिका संयोजक र सदस्यहरु र कर्मचारीहरुलेनै ऋण लिएर ऋण नतिरेको पाइन्छ । यसको साथै सहकारी आफैले सदस्यको बचतको घर जग्गा खरिद निर्माण आदीमा प्रयोग गरेको पाइन्छ । सहकारीमा विकृति आउनुको प्रमुख कारण यही देखिन्छ ।
७) कमजोर नियमन र अनुगमनले सहकारीलाई केही व्यक्तिहरुले अनुचित तवरले प्रयोग गरिरहेका छन् । स्थानिय तह, प्रदेश तह र सहकारी विभागले कडा नियमन र अनुगमन गर्ने स्थिति देखिदैन । नेपाल राष्ट्र बैंकबाट यो हुने अवस्था छैन । हालको स्थितिमा बचत र शेयर राख्ने सदस्यहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष अनुगमन गरेको पाइदैन । यसबाट विकृति बढदै गइरहेछ ।
सहकारीमा विकृति कसरी नियन्त्रण गर्ने?
सहकारीमा भइरहेका विकृतिहरु नियन्त्रण गर्न नसकिने होइन । यसको लागि सहकारीका शेयर खरिद गर्ने, बचत र ऋणको कारोवार गर्ने, केन्द्र, प्रदेश, तथा जिल्लामा रहेका संघहरु, महासंघ र राष्ट्रिय सहकारी बैंकले मिलेर काम गर्नुपर्ने हुन्छ । सरकारले जिम्मा लिनु पर्दछ भनेर उम्किनु सहकारी अभियानलाई मार्नु हो ।
१) नियमित बचत गर्नेसंग मात्र स-साना बचत लिने र उनीहरुलाई मात्र स-साना ऋण दिने । ठुलो र लामो बचत नलिने र ऋण नदिने । सबै ऋण मासिक किस्तामा मात्र दिने । बचत र ऋणको कारोवार केन्द्रीय कार्यालयसंग जोडिएको तोकिएको क्षेत्रमा मात्र गर्ने ।
२) ब्याज मात्र लिएर कुनै पनि ऋण प्रवाह नगर्ने ।
३) साधारणतया ऋणको म्याद थप नगर्ने र गर्नु परेमा म्याद थप गरेको रकम जोखिमकोषमा राख्ने ।
४) सञ्चालकहरु, लेखा समितिका संयोजक र सदस्यहरु र संस्थाका कर्मचारीहरुलाई ऋण दिन बन्द गर्ने । सहकारीले सदस्यको बचत शेयर, घर जग्गा खरिदमा प्रयोग नगर्ने ।
५) प्रयाप्त धितो लिएर मात्र ऋण प्रवाह गर्ने । लघुवित्तको हकमा प्रकृया अपनाएर बढीमा ३ लाखमात्र ६ देखि १८ महिनाको लागि मासिक किस्तामा ऋण प्रवाह गर्ने ।
६) ऋणको वर्गिकरण मासिक गरि नियमअनुसार जोखिम कोषमा रकम राख्ने । भाखा नाघेको रकमको मासिकनै व्यवस्थापन गर्ने (जोखिम कोष, ऋण अपलेखन, कडा ऋण असुली ताकेता) । संस्थागत पुजि‘ (जगेडा कोष) मा जोड दिने ।
७) औसत शेयर लिने (एकै जना संग धेरै शेयर नलिने) र शेयर भन्दा संस्थागत पुँजिमा जोड दिने ।
८) सहकारीमा शेयर खरिद गर्ने, शेयर लिएर बचत र ऋणको कारोवार गर्ने सबैले प्रत्यक्ष वा प्रतिनिधि मार्फत अप्रत्यक्ष कम्तिमा मासिक सहकारीको अवस्था बुझने र जोखिम कार्य भएको भए सो गर्न रोक लगाउने (संस्थामा वा नियमनकारीमा उजुरी दिएर) ।
९) महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय संघहरु, प्रदेश संघहरु र जिल्ला संघहरु मिलेर देशभरिकै सहकारीको वर्गिकरण गर्न आवश्यक कार्यदलहरु गठन गर्ने । वर्गिकरणको आधार सुशासन, ऋण र बचतको प्रकृया/सिमा/अवधि, ऋणको अवस्था/वर्गिकरण/जोखिम कोष र संस्थागत पुँजी हुने । उत्तमलाई नियमित अनुगमन, सन्तोषजनकलाई सतर्क, खराब उन्मुख र खराबलाई बचत लिन र नयाँ ऋण दिन रोक लगाउने र संकटग्रस्तलाई खारेजी गर्ने तर्फ कारबाही चलाउने । ऋण अपचलन गर्नेको चल अचल सम्पति रोक्का राखि विक्री गर्न लगाई बचत फिर्ताको कार्य गर्ने । यसको लागि सहकारी संस्था र संघहरुले स्थानिय तहको सहयोग लिने ।
१०) वित्तीय सहकारीहरुलाई प्राप्ती/मर्जरमा जान अनिवार्य गर्ने । यसको लागि न्यूनतम प्रारम्भिक पुँजी बृद्धि गर्ने ।
११) नियन्त्रण प्रणाली विकास गर्न मध्यकालिन कार्यको रुपमा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा व्यवस्था भएको कर्जा सुचना केन्द्र, ऋण असुली न्यायाधिकरण, कर्जा तथा बचत सुरक्षण कोष, र सहकारी प्रवद्र्धन कोषको सञ्चालन गर्न नियमकारी निकायलाई महासंघ, राष्ट्रिय सहकारी बैंक र संघहरुले बहस पैरबी मार्फत दबाब दिने ।
१२) दीर्घकालिन रुपमा नियमन र अनुगमन प्रणाली मजबुद बनाउन राष्ट्रिय सहकारी विकास बोर्डलाई ऐन कानुन संसोधन गरेर वित्तीय कारोबार गर्ने सहकारीको नियमन र अनुगमनको प्राधिकरणमा परिणत गर्ने वा अलगै स्वतन्त्र निकायको गठन गर्ने ।
(लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून), डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि.का पूर्व कार्यकारी प्रमुख हुन् । साथै राष्ट्रिय सहकारी बैंक, प्रवुद्ध समुहका सदस्य समेत हुन् ।)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार