२३ कात्तिक २०८३, सोमबार

सहकारी सहकार्यको गतिलो उदाहरण सगरमाथा डेरी विशिष्टिकृत संघ

२०८० असार ४, सोमबार
सहकारी सहकार्यको गतिलो उदाहरण सगरमाथा डेरी विशिष्टिकृत संघ

प्रकाश बन्जारा । इटहरी
कोशी प्रदेशको इटहरीमा प्रदेशका ५२ वटा सहकारी मिलेर नेपालकै पहिलो अवधारणा अनुरुप दुध पाउडरको प्लान्टको निर्माण अन्तिम चरणमा पुर्याएका छन् । सहकारीहरुको राम्रो सहकार्य भयो भने जे पनि गर्न सकिने रहेछ भन्ने उदाहरण बन्दै गरेको दुध पाउडर प्लान्ट यही असार महिनामा परिक्षण गरेर उत्पादन सुरु गर्ने योजनामा छ ।

दुधको निकै राम्रो उत्पादन हुने कोशी प्रदेशमा कुनै बेला दुध बिक्रि नभएर किसानले मिल्क होली डे मनाउनु पर्ने बाध्यता अन्त्य गर्न प्रदेशका ३५ वटा सहकारी मिलेर सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको स्थापना गरेको र आज त्यही अवधारणा सार्थक बन्न लागेको सहकारी अभियान्ताहरु बताउँछन् ।

किसानबाट संकलन भएको दुध लामो समय राख्न नमिल्ने तर त्यसलाई पाउडरमा परिणत गर्न सके लामो समयसम्म सदुपयोग गर्न सकिने भएकाले तरललाई ठोसमा परिणत गर्ने सपना यही असार महिना भरीमा सम्पन्न हुन लागेको हो ।
नेपालमै पहिलो पटक विशिष्टिकृत संघमार्फत सहकारी संस्थाहरुको लगानी र प्रदेश सरकारको सहयोगमा बन्दै गरेको दुध पाउडर प्लान्ट असारको तेस्रो सातासम्म परिक्षण उत्पादन थाल्न लागिएको बताइएको छ ।

पाउडर प्लान्टमा २५ प्रतिशत विशिष्टिकृत सहकारी संघ र ७५ प्रतिशत कोशी प्रदेश सरकारको लगानी छ । कोशी प्रदेश सरकारले आयोजनाको लागि १९ करोड ३० लाख भुत्तानी गरिसकेको छ भने कोशी प्रदेशका ६ जिल्लाका ५२ वटा सहकारीहरुले २ करोड ४ लाख रुपैयाँ सेयर लगानी गरेको सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका प्रमुख कार्यकारी अधिकृत मेघराज लुइटेलले जानकारी दिए ।

लुइटेलका अनुसार पाउडर प्लान्टको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँही काम सकेर असार महिनाभित्रै परिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उत्पादन भएको दुधलाई पाउडर बनाउन नीजि क्षेत्रको सहकार्यमा नेपालकै पहिलो प्रयास स्वरुप भइरहेको यो प्लान्टले १ घण्टामा दश हजार लिटर दुध प्रसोधन गर्न सक्ने र ८ घण्टामा ५ टन पाउडर निकाल्न सक्ने क्षमता राख्दछ ।

२०७७ सालमा विशिष्टिकृत सहकारी संघ स्थापना भएपछि गत साल मात्रै निर्माण सुरु भएको पाउडर प्लान्ट साउनमै निर्माण सकिनुपर्नेमा विभिन्न सरकारी नियम अनुसार एल सि खोल्नुपर्ने भएका कारण ढिलाई भएको संघको भनाई छ ।
काठमाडांैको न्यु ड्रागन एण्ड कन्ट्रक्सनले ठेक्का पाएको निर्माणको काम अन्तिम चरणमा रहेको बताइएको छ । प्लान्टका सम्पुर्ण मेसिनहरु फुड एण्ड बायोटेक इन्डिया प्रालिबाट ल्याइएको छ । प्रदेश एकका बिभिन्न सहकारी संस्थाहरुबाट न्युनतम १ लाख रुपैयाँदेखि माथि सेयर लगानी गरेर बिशिष्टिकृत सहकारी संघ सञ्चालन गरिएको हो । हाल प्रदेशका ६ वटा जिल्ला मात्रै समेटिएको भएपनि अब कोशी प्रदेशका १४ वटै जिल्लाका सहकारी संस्थाहरुलाई समेटेर लैजाने संघका अध्यक्ष बाबुराम खत्रीले बताउँछन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका स्थित आँपगाछिमा निर्माण भइरहेको यो प्लान्टको मुख्य उदेश्य भनेको आगामी दश वर्षसम्म प्रदेशलाई मिल्क होलिडे हुन नदिनुनै रहेको संघको सदस्य संस्था किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकाल बताउँछन् । पाउडर प्लान्टको निर्माण अन्तिम चरणमा पुगिरहँदा यसको बजार र प्रशस्त दुध पाउने सम्भावना पनि उत्तिकै रहेको दावी संघको छ ।

अहिले दुध अभाव हुनुपर्ने बेलामा समेत बजारमा डेढा हिसावले दुध उपलव्ध रहेको र आफुहरुले किसानलाई प्रोत्साहन गर्ने र उत्साहित बनाउने खालका कामहरु पनि सुरु गरिसकेको अध्यक्ष खत्रीको भनाई छ । त्यसो त अहिले प्रदेश सरकारले किसानलाई हरेक लिटर दुधमा २ रुपैयाँका दरले प्रोत्साहन दिन थालिसकेको छ भने त्यसलाई ५ रुपैयाँ बनाउने पहलमा आफुहरु लागेको संघका प्रमुख कार्यकारी अधिकृत मेघराज लुइटेल सुनाउँछन् ।

अभिलेख

लोकप्रिय