२३ कात्तिक २०८३, सोमबार

२० प्रतिशत माथी तरलता रहेका काठमाडौं उपत्यकाका पाँच सहकारी !

२०८० जेठ ६, शनिवार
२० प्रतिशत माथी तरलता रहेका काठमाडौं उपत्यकाका पाँच सहकारी !

काठमाडौं : यतिबेला केही सहकारी संस्थाको कारणले सिंगो ‘सहकारी अभियान’ नै बदनाम छ । औलामा गन्न सकिने मात्रै सहकारी संस्थामा आंशिक समस्या छ । वर्तमान आर्थिक अवस्थाले पनि सहकारीमा तरलता अभाव देखिएको छ । त्यसो त सहकारी मात्र नभई बैंक तथा वित्तीय संस्थाहरुमा पनि तरलता अभाव छ ।

विशेष गरी काठमाडौं उपत्यका केन्द्रीत सहकारीहरुमा तरलता अभाव छ । सदस्यहरु एकैपटक बचत फिर्ता गर्न जाने प्रवृतीले पनि सहकारीमा तरलता अभाव देखिएको हाे । सहकारी संस्थाले सदस्यलाई गरेको लगानी समयमै उठ्न नसक्नु, सदस्यहरु एकैपटक बचत फिर्ता माग्नु, नयाँ बचत नभित्रिनु नै तरलता अभावको मुख्य कारण हो । तर, पनि काठमाडौं उपत्यका भित्रै सदस्यहरुमा विश्वास जितेर ढुंगसँग वित्तीय कारोबार गर्ने सहकारीहरु प्रयाप्त छन् । सदस्यको विश्वास जितेका र समुदाय केन्द्रीत भएर कारोबार गर्दै आएका सहकारी संस्थाहरुको वित्तीय अवस्था राम्रो देखिन्छ ।

वर्तमान अवस्थामा पनि ती सहकारीको कारोबारमा समेत बृद्धि भएको छ भने सदस्यमा वृद्धि, नियमित ऋण लगानी, प्रयाप्त तरलता समेत रहेको छ । हामीलाई प्राप्त २० प्रतिशत माथी तरलता रहेका पाँच सहकारी संस्थाको वित्तीय विवरण प्रस्तुत गरेका छौं । जसको तरलता प्रयाप्तसँगै वित्तीय विवरणमा पनि उल्लेख्य वृद्धि भएको छ ।

आईएमई को-अपरेटिभसँग तरलता मात्रै १ अर्ब ७७ करोड ६१ लाख (२०.९७ प्रतिशत)
आईएमई को-अपरेटिभ सर्भिस लिमिटेडले बैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार संस्थासँग लगानी योग्य रकम (तरलता) २०.९७ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ६१ लाख ९ सय ९३ रुपैयाँ रहेको छ। सामान्यतया संस्थाले १० देखि १५ प्रतिशत तरलता कायम गर्नुपर्ने हुन्छ । हालको परिस्थितीमा संस्थासँग रहेको तरलताले संस्था मजबुद रहेको देखाउँछ ।

विवरण अनुसार संस्थाको सेयर पुँजी ६२ करोड ३६ लाख ७५ हजार रुपैयाँ, जगेडा कोष ३० करोड ५ लाख ३३ हजार ९६ रुपैयाँ, कूल संस्थागत पुँजी १ अर्ब ७ लाख १५ हजार ४ सय २५ रुपैयाँ र अन्य कोषहरुमा ९ करोड ८३ लाख १८ हजार ५ सय ९१ रुपैयाँ रहेको छ ।

त्यस्तै संस्थाको कुल बचत ८ अर्ब ४६ करोड ८३ लाख ८ हजार ८ सय ३७ रुपैयाँ, लगानी ७ अर्ब ८९ करोड ४४ लाख ३४ हजार ४ सय ८६ रुपैयाँ र कुल सम्पत्ती १० अर्ब ५३ करोड १४ लाख १४ हजार २ सय ६० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

नवकान्तिपुर बचतसँग ४३.१४ प्रतिशत तरलता
काठमाडौंको बत्तिसपुतली स्थित नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४३.१४ प्रतिशत तरलता रहेको छ । मुद्दतीमा रहेको लगानी समेत गरेर संस्थासँग १ अर्ब ७ करोड १४ लाख ६३ हजार रुपैयाँ तरलता रकम छ ।

बैशाख मसान्न सम्मको अपरिष्कृत वित्तीय विरण अनुसार संस्थाको सेयर पुँजी ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १९ करोड २५ लाख, कुल संस्थागत पुँजी २९ करोड ५६ लाख, विभिन्न कोषहरुमा ५ करोड ६६ लाख, कुल बचत २ अर्ब ४८ करोड ३४ लाख र कर्जा लगानी १ अर्ब ५४ करोड ७५ लाद रुपैयाँ रहेको छ ।

१० हजार १ सय ३ जना सदस्य रहेको संस्थाको कुल सम्पत्ती २ अर्ब ९५ करोड ३१ लाख ८४ हजार २ सय २५ रुपैयाँ रहेको छ।

बालकुमारी सहकारीमा २६ प्रतिशत तरलता
बालकुमारी बचत तथा ऋण सहकारी संस्थासँग २६.३१ प्रतिशत तरलता छ । संस्थाका अनुसार ४१ करोड ५६ लाख ७८ हजार तरलता रकम रहेको छ ।

संस्थाले प्रकाशित गरेको बैशाख मसान्तको विवरण अनुसार १३ करोड ५३ लाख ४६ हजार शेयर पुँजी, ४ करोड ८२ लाख ७८ हजार जगेडा कोष र १ अर्ब ९० करोड ६८ लाख कूल सम्पत्तिपुगेको छ । त्यसैगरी संस्थाले १ अर्ब ५८ करोड बचत संकलन गरी १ अर्ब ३४ करोड ५५ लाख ऋण लगानी गरेको छ । ५ हजार ५०५ जना सदस्य मध्ये ६३४ जना सदस्यले ऋण लिएका छन् । विभिन्न कोषमा ४४ लाख ९४ हजार रकम रहेको संस्थाको कुल संस्थागत पुँजी ४ करोड ८९ लाख ४१ हजार रहेको छ ।

शुभकामना साकोसमा २४.८६ प्रतिशत तरलता
भक्तपुरको शुभकामना बचत तथा ऋण सहकारी संस्थामा २४.८६ प्रतिशत तरलता रकम रहेको छ ।

सहकारी विभागको निर्देशन अनुसार संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार २२ करोड ५६ लाख ६३ हजार तरलता रकम रहेको छ । त्यस अवधिमा संस्थाको शेयर पुँजी १० करोड ६८ लाख ९८ हजार,बचत संकलन ९० करोड ७६ लाख ६१ हजार, जगेडा कोष १२ करोड ८१ लाख ४८ हजार र संस्थागत पुँजी १३ करोड ४ लाख रहेको छ ।

संस्थाको अन्य कोषहरुमा ८१ लाख १४ हजार, कुल सम्पत्ति १ अर्ब २५ करोड १८ लाख र ऋण लगानी ९३ करोड ४५ लाख २४ हजार रहेको छ । संस्थामा ९ हजार २८५ सदस्य रहेका छन् । संस्थाका अनुसार ६ सय ५४ जना सदस्यले ऋण लिएका छन् ।

शंखधर साकोसमा ३७.३७ प्रतिशत तरलता
भक्तपुरको शंखधर बचत तथा ऋण सहकारीमा ३७.३७ प्रतिशत तरलता छ । संस्थाले प्रकाशित गरेको बैशाख सम्मको वित्तीय विवरण अनुसार संस्थासँग तरलता रकम १५ करोड ७६ लाख २९ हजार रहेको छ ।

संस्थाको शेयर पुँजी ४ करोड ५७ लाख ३५ हजार, जगेडा कोष २ करोड ५९ लाख र कुल सम्पत्ति ५३ करोड ७४ लाख ७६ हजार पुगेको छ । त्यसैगरी संस्थामा ४२ करोड १८ लाख २८ हजार कुल बचत, ऋण लगानी ३१ करोड ८४ लाख ५१ हजार र संस्थागत पुँजी २ करोड ६४ लाख ४३ हजार रहेको छ ।

सहकारीमा ३ हजार १३९ जना सदस्य आवद्ध रहेका छन् । त्यसमध्ये ४ सय ७५ जना सदस्यले संस्थाबाट ऋण लिएको प्रकाशित प्रतिवेदनमा जनाइएको छ ।

अभिलेख

लोकप्रिय