जथाभावी लगानी गर्दा सहकारी समस्यामा परेको गोपीनाथ मैनालीको ठहर
काठमाडौं : नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीले कानुनले तोकेको भन्दा अन्य क्षेत्रमा लगानी गर्न नहुने बताएका छन् ।
सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागको सहयोगमा आयोजना गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक तालिम कार्यक्रममा प्रशिक्षण गर्दै उनले सहकारीलाई कानुनले निर्धारण गरेको क्षेत्र भन्दा बाहिर गएर जुनसुकै क्षेत्रमा लगानी गर्दा कर्जा असुलीमा जोखिम उत्पन्न हुनसक्नेतर्फ सचेत गराए ।
‘सहकारी अभियानका साथीहरुले पाँच ओटा क्षेत्र बाहेक जहाँपनि लगानी गर्न पाईन्छ भन्नुहुन्छ,’ कर्जा प्रवाह गर्दा सदस्यको आवश्यकता र सुरक्षामामा सजगता अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘त्यसो गर्न हुँदैन । ऐनले जहाँ लगानी गर्न पाईन्छ भनेको छ त्यहीँ लगानी गरौं । होईन भने ऐन संशोधन गरौं ।’
केही सहकारी संस्थामा संचालक समितिको अध्यक्ष र टाठाबाठा संचालकहरुले समितिका अन्य पदाधिकारीहरुलाई समेत जानकारी नदिई जथाभावी लगानी गर्ने गरेकाले समस्यामा परेको धारणा राखे । उनले सहकारीमा बाह्य निकायबाट हुने नियमन प्रतिक्रियामूलक (रियाक्टिभ) हुने भएकाले सहकारी संस्था आफैं स्वनियमनमा बस्नुपर्ने आवश्यकता औंल्याए ।
यसैगरी पूर्व सचिव मैनालीले सबै सहकारी संस्थाले संस्थाको उद्देश्य र नियामक निकायमा दर्ता गरेको नाम अनुरुपको काम गर्नुपर्ने आवश्यकता औंल्याए । ‘मैले यसो भन्दा तपाईंहरुलाई चित्त दुख्नसक्छ तर सहकारीले आफ्नो नाम अनुुसारको काम गर्नुपर्छ वा काम अनुसारको नाम राख्नुपर्छ,’ उनले भने, ‘यसो गर्दा तपाईंहरुलाई रिपोर्टिङ गर्न, सिद्धान्त अवलम्बन गर्न र नियामक निकायलाई नियमन गर्न सजिलो हुन्छ ।’
मुलुकमा संघीयताको कार्यान्वयन गर्ने क्रममा सहकारी हेर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट भएपनि सहकारीको नियमन कमजोर भएको उनको भनाई छ । प्रदेश र स्थानीय तहमा सहकारीलाई ब्यवस्थापन गर्न दिगो संरचना निर्माण भईनसकेको संक्रमणकालीन अवधिमा पनि प्रदेश र स्थानीय तहले हाम्रो क्षेत्राधिकार भित्रका सहकारीलाई संघले नियमन गर्न हुँदैन भन्नु गलत भएको विचार राखे ।
‘संघ, प्रदेश र स्थानीय तहको भूमिका बाबु र छोराछोरीको जस्तो हुनुपर्छ,’ उनले भने, ‘छोराछोरी हुर्किएर जवान भएपछि बाबुको भूमिका निर्वाह गर्न मिल्छ । तर उनीहरु आफ्नो खुट्टामा उभिने नहुन्जेल सम्म छोराछोरीले गर्ने काम बाबुले गर्नुपर्छ ।’
विगतमा सहकारीको नियमन गर्ने एकल जिम्मेवारी पाएको संघीय सहकारी विभाग र मातहतका डिभिजन कार्यालयहरुमा छोटो अवधिमै कर्मचारीहरुको सरुवा हुनेगरेकाले पनि सहकारीको नियमन फितलो भएको बताए । यसैगरी पूर्व सचिव मैनालीले सहकारीको अनुगमन निरीक्षण गर्न जाने सरकारी कर्मचारीहरु पनि लोभलालचमा पर्ने गरेकाले नियमन प्रभावकारी हुननसकेको भनाई राखे ।
यसैगरी उनले अहिले धेरै प्रारम्भिक सहकारी संस्थाहरुले विभिन्न तहका छाता संघहरुमा सदस्य बनेर सदस्यता शुल्क बुझाईरहेको भएपनि छाता संघहरुले भने प्रभावकारी काम नगरेको गुनासो समेत गरे । उनले भने, ‘सहकारीका छाता संघहरुमा अभियानको बारेमा अध्ययन, अनुसन्धान गर्ने र सदस्य संस्थाहरुलाई बाटो देखाउने काममा कमजोरी रहेको छ ।’
पूर्व सचिव मैनालीले सहकारी संस्थामा समस्या उत्पन्न हुँदा सहकारी अभियानका साथै सरकार र समग्र शासकीय प्रणालीको विश्वास र प्रभावकारिता माथि समेत प्रश्न उठ्ने धारणा राखे ।
‘सहकारीलाई असजिलो भएको समयमा सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘धेरै सहकारी संस्था समस्यामा परेभने सरकारमाथि नियमन गर्न नसक्ने भए किन सहकारी दर्ता गरेको भनेर प्रश्न उठ्न सक्छ ।’

कार्यक्रममा सहभागीको तर्फबाट छलफलमा भाग लिँदै आश्रय बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले विगत छ–सात महिना देखि आफ्नो संस्थाले संघमा बचत गरेको पैसा फिर्ता नदिएको गुनासो गरे । उनले केन्द्रीय संघले चार–पाँच वटा संस्थाको करिव तीन करोड रुपैयाँ निक्षेप फिर्ता नदिएर तरलताको संकटमा थप समस्या थपिदिएको दुःखेसो पोखेका थिए । उनले भने, ‘संघले हामीलाई महिनाको पाँच दश हजार रुपैयाँ मात्र फिर्ता दिन्छु भन्छ । यसले हामीलाई तरलता ब्यवस्थापन गर्न ठूलो समस्या परेको छ ।’
यसैगरी सहस्रधारा बचत तथा ऋण सहकारी संस्थाका गणेश बहादुर खड्काले संस्थाले शेयर सदस्यलाई प्रवाह गरेको पचास हजार–एक लाख रुपैयाँको बिना धितो कर्जा समयमा भुक्तानी नभएको गुनासो विभागमा लिएर जाँदा सहयोग नपाएको गुनासो गरे । सहकारीले लगानी गरेको कर्जाको सुरक्षामा जोखिम उत्पन्न हुनेगरेको जानकारी गराउँदै उनले सहकारीको कर्जा सूचना केन्द्र स्थापना हुने हो भने अहिले सहकारीमा देखिएका ९५ प्रतिशत समस्या समाधान हुने दावी गरे ।
नयाँबानेश्वर स्थित आनन्द भूमि पार्टी भेन्यूमा सोमबारबाट सुरु भएको तालिम कार्यक्रम बैशाख १४ गते समापन हुँदैछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
