‘आफ्नो जिम्मेवारी बहन गर्ने कार्यमा चुकेकाले सहकारीमा समस्या’
काठमाडौं : सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको सहकारी सम्बन्धी तालिम कार्यक्रम आजबाट राजधानीमा सुरु भएको छ ।
समाजले काठमाडौं महानगरपालिका सहकारी विभागको सहयोगमा ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक चार दिवसीय तालिम कार्यक्रम आयोजना गरेको हो ।
नयाँ बानेश्वर स्थित आनन्द भूमि ईभेन्ट भेन्यूमा जारी तालिम कार्यक्रमको काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले उद्घाटन गरेका थिए ।
तालिम कार्यक्रममको उद्घाटन सत्रमा बोल्दै पोखरेलले सकारी संस्थाका संचालक, सहकारी अभियन्ता, शेयर सदस्य र नियामक निकाय सबै पक्ष आफ्नो जिम्मेवारी बहन गर्ने कार्यमा चुकेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए ।
उनले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि आगामी दिनमा सरोकारवाला सबै पक्षले आत्मसमिक्षा गरेर कदम चाल्ने हो भने सकारात्मक परिणाम निस्कने बताए । सहकारी अभियानको प्रवद्र्धन गर्नका लागि विभागले जिल्ला संघ, नेपाल सहकारी पत्रकार समाज, हकहित समाज लगायतका विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य गरेर तालिम कार्यक्रम आयोजना गरेको बताए ।
यसैगरी पोखरेलले विभागले सहकारी अभियानका छाता संघहरुसँग छलफल गरेर काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी सम्बन्धी कार्यक्रम तय गर्ने प्रतिवद्धता प्रकट गरे ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का कोषाध्यक्ष दिपक पनेरुले केही नराम्रा सहकारीले गरेको बद्मासीका कारण सिंगो सहकारी अभियानको शीर निहुरिएको दुःखेसो पोख्खे ।
काठमाडौं जिल्ला भित्र हजारौं सहकारीले राम्रो काम गरिरहेको भएपनि केही नराम्रा सहकारीले गरेको गलत कामको असर अन्य सहकारीमा परेको उनको गुनासो थियो । ‘सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्न हुँदैन । सहकारीमा देखिएका समस्या समाधान गर्न सबै पक्षबीच सहकार्यको आवश्यकता छ’, उनले भने ‘यहाँ गल्ती गर्ने सहकारीलाई गलत भन्न पाईंदैन । गलत काम गर्ने सहकारीलाई गलत भनौं । राम्रा काम गर्ने सहकारीलाई संरक्षण र प्रवद्र्धन गरौं ।’
अध्यक्ष पनेरुले मुलुकमा सांसद, मन्त्री, प्रोफेसर, ईन्जिनियर लगायतका विभिन्न पेशा, व्यवसाय र जिम्मेवारीमा गरेका व्यक्तिहरुले घरजग्गाको कारोबार गरेर देखेर केही सहकारी संस्थाका संचालकहरु पनि घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए ।
यस्ता सहकारीका सदस्यहरुले ठूलो मात्रामा बचत फिर्ता माग्न थालेपछि त्यसको असर अन्य सहकारीमा पनि परेको उनले बताए । अध्यक्ष पनेरुले सहकारी संस्थाका संचालकहरुलाई समस्या पहिचान गरेर सुधारका लागि प्रभावकारी योजना तर्जुमा गरेर लागू गर्न आग्रह गरे । साथै सञ्चालकहरुले शेयर सदस्यहरुलाई नडराई संस्थाका समस्याबारे वास्तविक जानकारी दिएर उनीहरुको विश्वास जित्नुपर्ने भनाई राखेका थिए । ‘अरुको चियो चर्चा गर्नुभन्दा पहिले आफ्नो संस्थाको बारे चिन्ता गरौं । आफ्ना सदस्यहरुतर्फ फर्कौं’, उनले भने ।
यसैगरी उनले सेयर सदस्यहरुले वास्तविकता नबुझी हल्लाको पछाडि लागेर सहकारीबाट निक्षेप निकालेर अन्यत्र लानु गलत भएको बताए ।
‘सहकारीलाई अप्ठ्यारो बेलामा सदस्यले काँध थाप्नुपर्छ । संस्थालाई विश्वास गर्नुपर्छ । हिजो दशतिर भौंतारिँदा पनि ऋण नपाउँदा सहकारीले सहयोग गरेको थियो । हिजो सहकारीले विश्वास गरेर सारा ब्यवहार फुकाईदिएको थियो । उसको वित्तीय आवश्यकता पुरा गरिरिदिएर समाजमा हिँड्न सक्ने बनाईदिएको थियो’ उनले प्रश्न गर्दै भने, ‘अहिले आएर उसले हल्लाका पछाडि लागेर शंकाको भरमा सहकारीबाट पैसा निकालेर लान मिल्छ ? यस्ता सदस्य पनि अपराधी हुन् ।’
यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोलाले काठमाडौं महानगरपालिका सहकारी विभागले सहकारी अभियानसंग सरोकार राख्ने विभिन्न निकायलाई सहयोग गरेर सहकारी भित्र जागरणको सुरुवात गरेको धारण राखेका थिए । उनले भने, ‘काठमाडौं महानगरपालिकाले सहकारीलाई प्राथमिकतामा राखेको छ । जिल्ला संघलाई पनि तालिम कार्यक्रमका लागि सहयोग गरेको छ ।’

हकहित समाजले सहकारीको प्रवद्र्धनसं सम्वन्धित विभिन्न क्रियाकलाप गरेर छाता संघहरुले गर्ने काम गरेको भन्दै सचिव बास्तोलाले तालिम कार्यक्रम सहकारीका समस्या निराकरण गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । यसैगरी जिल्ला सहकारी संघ, काठमाडौंका संचालक हेम कार्कीले मानिसको जीवनमा सिकाई प्रकृया मृत्युपर्यन्त निरन्तर चलिरहने उल्लेख गर्दै तालिम कार्यक्रममले सहकारीकर्मीहरुको ज्ञानमा नवीनता ल्याउन सहयोग पुग्ने भनाई राखे ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष काजी श्रेष्ठले तालिम कार्यक्रममा विषय विज्ञहरुले दिने प्रशिक्षणबाट सहकारीकर्मीहरुलाई नयाँ ज्ञान प्राप्त हुने विश्वास प्रकट गरे ।
सहकारी हकहित राष्ट्रिय समाजका निवर्तमान अध्यक्ष अर्जुन खतिवडाले समाजले स्थापना कालदेखि सहकारी अभियानको प्रवद्र्धन गर्न राज्य र सहकारी अभियान दुबै पक्षसंग मिलेर काम गदै आएको उल्लेख गरे ।
उद्घाटन कार्यक्रम समाजका अध्यक्ष गोविन्द गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । समाजका सचिव ऋषिराम ढकालले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई समाजका सदस्य केदार बास्कोटाले स्वागत गरेका थिए । तालिम कार्यक्रममा काठमाडौंका विभिन्न सहकारी संस्थाका संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।
तालिमको पहिलो दिन संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेले ‘सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ कार्यान्वयको अवस्था र सरोकारवाला निकायको भूमिका’ विषयमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयमा कार्यपत्र सहित प्रशिक्षण गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
