३ वैशाख २०८३, बिहिबार

वित्तीय सहकारीमा तरलता व्यवस्थापनका आन्तरिक पक्षहरु

२०७९ चैत २६, आईतवार
वित्तीय सहकारीमा तरलता व्यवस्थापनका आन्तरिक पक्षहरु

सन् २००८ को वित्तीय संकटको समयमा अमेरिकी इतिहासमा सबैभन्दा ठूलो बैंक Washington Mutual (Wa Mu) बन्द भएको थियो । जसको सम्पत्ति ३०७ बिलियन अमेरिकी डलर थियो । बचतकर्ताले दुई हप्ता भित्र १६.७ बिलियन डलर बचत फिर्ता गरे । जसको मुख्य कारण घर जग्गामा मन्दीको कारण बचत फिर्ता गर्न नसक्नु थियो । त्यस्तैगरी अमेरिकामा दोस्रो ठूलो बैंक असफलता बनेको १६ औं ठुलो सिलिकन भ्याली बैंक २०२३ मार्च १० मा बन्द पुग्यो । जसको मुख्य कारण ठुलो मात्रामा ट्रेजरी बन्ड, क्रिप्टो र अन्य दीर्घकालीन क्षेत्रमा ऋण लगानी हो । जसमा बचतकर्ताले ४८ घण्टाभित्र ४२ मिलियन डलर निकालेका थिए । त्यतिबेला बैंकको सम्पत्ति २०९ मिलियन अमेरिकी डलर थियो ।

नेपालको इतिहासमा पनि यस्ता थुप्रै उदाहरणहरु छन् । चार अर्ब भन्दा बढी पुँजी परिचालन गरेको ओरियण्टल सहकारी, ८ अर्ब भन्दा बढी पुँजी परिचालन गरेको सिभिल सहकारीको अवस्थाले त्यही संकेत गर्दछ । यसबाट के बुझ्न सकिन्छ भने वित्तीय संस्थाहरु टाट पल्टनुको मुख्य कारण एउटै क्षेत्रमा ठुलो पुँजी परिचालन भई तरलता व्यवस्थापन गर्न नसक्नु हो । त्यसैले वित्तीय कारोबार गर्ने सहकारी हुन् वा बैंक तथा वित्तीय संस्था तरलता व्यवस्थापनको लागि पुँजी संकलनको स्रोत र लगानीमा नै विशेष ध्यान दिनु पर्दछ ।

तरलता भन्नाले कुनै पनि सम्पत्ति वा सुरक्षालाई यसको बजार मूल्यमा असर नगरी नगदमा रुपान्तरण गर्न सकिने सहजतालाई जनाउँदछ । नगदलाई सार्वभौम रुपमा सबैभन्दा तरल सम्पत्ति मानिन्छ किनभने यो छिटो र सजिलो रुपमा अन्य सम्पतिमा रुपान्तरण गर्न सकिन्छ । वित्तीय संस्थाहरुले आफ्नो अल्पकालीन दायित्वहरु भुक्तानी गर्न सक्ने सक्षमतालाई तरलताको रुपमा हेरिन्छ । अर्को शब्दमा संस्थामा सदस्यहरुले चाहेको बखत वा समयमा बचत फिर्ता गर्ने सक्षमता नै तरलता हो ।

तरलता = तरल सम्पति + तरल लगानी
तरल सम्पति = नगद, बैंक चल्ती खाता
तरल लगानी = बैंक बचत खाता, संघहरुमा रहेको ऐच्छिक बचत खाता, ९० दिनभन्दा कममा परिपक्क हुने आवधिक बचत

तरलतालाई लगानी योग्य पुँजीको रुपमा पनि बुझिन्छ जसले भुक्तानी क्षमता तथा लगानी क्षमता वृद्धि भई विश्वसनियतमा वृद्धि हुन्छ । वित्तीय संस्थाहरुमा लगानी योग्य पुँजीको अभाव हुँदा बचत र ऋणको ब्याजदर बृद्धी हुने, लगानी योग्य सक्षमता ह्रास हुन्छ । यसैगरी लगानी योग्य पुँजी बढी हुँदा बचत र ऋणको ब्याजदर घट्छ भने संस्थासँग अधिक श्रोत हुँदा संस्थाको खुद बचतमा नकारात्मक प्रभाव पर्दछ । त्यसैले तरलता व्यवस्थापन भनेको तरलता माग र आपूर्ति दुबैको सन्तुलित व्यवस्थापन गर्नु हो ।

सामान्यतयाः सहकारी संस्थाहरुले कुल बचतको कम्तीमा १५ प्रतिशत तरलताको रुपमा व्यवस्थापन गर्नुपर्दछ । तर PEARLS अनुगमन प्रणाली अनुसार तरलता व्यवस्थापन गर्दा पनि PEARLS कै मापदण्ड अनुसार वित्तीय सन्तुलन कायम भए नभएको भन्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ । जसका लागि कुल सम्पतिको अनुपातमा संस्थागत पूँजीको अनुपात, शेयर पूँजीको अनुपात, बाह्य ऋण, भुक्तानी दिनुपर्ने दायित्वको अवस्था, पाउनु पर्ने हिसाव आदि कुरालाई ध्यान दिनुपर्ने हुन्छ । वित्तीय सहकारीमा तरलता व्यवस्थापन गर्दा तपशिल बमोजिम आन्तरिक पक्षहरु ध्यान दिनपर्ने हुन्छ ।

बचत : वित्तीय संस्थाहरुको पुँजी परिचालनको मूख्य श्रोत बचत हो । सामान्यतया कुल सम्पत्तिको ७० देखि ८० प्रतिशत बचत संकलन गर्न PEARLS अनुगमन प्रणालीले राम्रो मान्दछ भने सोही बचतको १५ प्रतिशत भन्दा बढी तरलता व्यस्थापनका लागि सिफारिस गर्दछ । सहकारी संस्थामा तरलता व्यवस्थापन गर्दा बचतको संरचनाको अनुसार निम्नानुसार ध्यान दिनु पर्ने देखिन्छ ।
नियमित बचत कुल बचतको कम्तिमा ३० प्रतिशत रहेको,
कम्तिमा ९० प्रतिशत सदस्यले नियमित बचत गरेको,
आवधिक बचत कुल बचतको २० प्रतिशत भन्दा कम रहेको,
एउटै व्यक्ति वा एकाघरको परिवारको ठुलो बचत नभएको,
कम्तिमा ६० प्रतिशत सदस्यको कारोबार बचत भएको,
लामो अवधिको धन सिर्जना गर्ने बचतमा सदस्यहरुको सहभागिता रहेको,
आवधिक बचतको Maturity र सोको फिर्ता हुने अवस्थाको एकिन गर्ने,

सेयर : सहकारी संस्थामा सदस्य हुन अनिवार्य सेयर खरिद गरेको हुनुपर्दछ । वित्तीय सहकारीमा दोस्रो ठुलो पूँजीको श्रोत सेयर हो । सहकारी संस्थाहरुमा सेयर सदस्यको स्वामित्व हो । सामान्यतया वित्तीय सहकारीमा कुल सम्पत्तिको १० देखि २० प्रतिशत सेयर पुँजी राख्नु राम्रो मानिन्छ ।
कुनै एक व्यक्तिको सेयर कुल सेयर पुँजीको २० प्रतिशत भन्दा बढी नरहेको,
कम्तिमा ६० प्रतिशत सदस्यको औसत सेयर कायम रहेको,
आंशिक शेयर फिर्ताको व्यवस्था नभएको,
सम्पतिको अनुपातमा नियमित सेयर वृद्धिको योजना रहेको,

संस्थागत पुँजी (कम्तिमा १० प्रतिशत) : स्वस्थ सहकारी संस्थामा शुद्ध संस्थागत पुँजी कम्तिमा १० प्रतिशत हुन जरुरी हुन्छ, जुन संस्थाको लागतरहित पुँजी हो । संस्थागत पुँजी जति मजबुद बन्छ वित्तीय लागत कम हुन्छ भने तरलता व्यवस्थापन कम गर्दा पनि खासै फरक नपर्ने हुन्छ ।

ऋण लगानी : वित्तीय सहकारीको मुख्य कार्य आफ्ना सदस्यसँग बचत संकलन गरि सही तरिकाले सदस्यलाई ऋणको रुपमा लगानी गर्नु हो । वित्तीय सहकारीहरुले आफ्ना सदस्यबाट संकलित श्रोत ऋणको रुपमा सदस्यलाई नै परिचालन गरेको हुनुपर्दछ । यसो भएन भने श्रोतमा सदस्यको अपनत्व गुम्ने र सदस्यहरु उद्यमी बनी स्वावलम्वनको अवसरबाट बन्चित हुन्छन । PEARLS अनुगमन प्रणालीले कुल सम्पत्तिको अनुपातमा शुद्ध ऋण लगानी ७० देखि ८० प्रतिशत हुनु राम्रो मान्दछ । वित्तीय संस्थामा तरलता व्यवस्थापनको मुख्य चुनौती नै प्रभावकारी रुपमा ऋण व्यवस्थापन गर्न नसक्नु हो । त्यसैले वित्तीय सहकारीमा ऋण लगानी गर्दा तपशिल बमोजिम ध्यान दिनुपर्ने हुन्छ ।
प्राथामिक पुँजिकोषको १० प्रतिशत भन्दा बढी प्रति सदस्य (प्रति परिवार) लगानी नगर्ने,
कम्तिमा ९० प्रतिशत ऋण किस्ताबन्दीमा लगानी गर्ने,
ऋणको समयगत र क्षेत्रगत भार निर्धारण गरि लगानी गर्ने,
कम्तिमा ४० प्रतिशत सदस्यलाई ऋणको सेवा उपयोग गराउने,
ऋण असुली दर सम्भव भएसम्म १०० प्रतिशत कायम गर्ने,
भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम कायम गर्ने,

समुदायमा संस्थाको छवि : आफ्नो समुदायमा संस्थाको छवि कस्तो छ भन्ने कुरा समुदायले संस्थालाई कुन दृष्टिकोणले हेर्छन् भन्ने कुराले निर्धारण गर्दछ । छवि समय सँगै संस्थाले दिने सेवा र सुविधा, सुशासनको अवस्था, नेतृत्व परिवर्तनको अभ्यास, प्रतिस्पर्धी स्थान जस्ता कुराहरुले विकसित हुन्छ । यदि समुदायमा संस्थाको छवि राम्रो छ भने, सदस्यको विश्वास जागृत हुने हुँदा कम तरलता व्यवस्थापन गर्दा पनि खासै फरक पर्दैन ।

संचालकको प्रतिनिधित्व : यदि संस्थामा सञ्चालकको प्रतिनिधित्व सबै समुदाय, भूगोल, उमेर समुह, लिङ्ग भाषाको छ भने संस्थामा सबैको अपनत्व हुन्छ । जसले तरलता व्यवस्थापनमा सहज हुन्छ ।

मौसमी व्यवस्थापन : कहिले कहीँ निश्चित स्थान, समय, चाडपर्व, संस्कृति हेरेर नियमित भन्दा बढी तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । उदाहरणको लागि नेवारी समुदायको बिस्केट जात्राको समयमा भक्तपुरमा बढी तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसको अलवा तरलता व्यवस्थापनमा भुक्तानी दिनुपर्ने वा पाउनुपर्ने अवस्था, वित्तीय लगानीको ऋण पाउने सहजताको सुनिश्चितता, बाह्य ऋणको किस्ता अथवा तिर्नपर्ने समय आदि कुराहरुमा समेत ध्यान दिनुपर्ने हुन्छ ।

तरलता आफै बढ्ने वा घट्ने भन्ने हुँदैन । यो त संस्थाका वित्तीय कारोबारमा भएको उतार चढावको असर मात्र हो । उदाहरणको लागि संस्थामा बचत वृद्धि भयो भने तरलता वृद्धि हुन्छ । तरलता आएको कारण बचत वृद्धि भन्ने हुँदैन । ऋण लगानी हुँदा तरलता कमी हुने हुन्छ । त्यसैले तरलता निर्भर चर (Dependent Variable) हो जुन लेखाका घटनाहरुमा निर्भर रहन्छ । त्यसैले तरलता व्यवस्थापन हाम्रो आन्तरिक बहसमा निर्भर हुन्छ । हाम्रा प्रयासहरुले तरलता व्यवस्थापन सम्भव छ । यसरी तरलता व्यवस्थापन गर्दा गर्दै पनि संस्थामा हुने वित्तीय जोखिमलाई न्युनिकरण गर्न सहकारी ऐन २०७४ बमोजिम स्थापित बचत तथा ऋण सहकारीहरुको सामुहिक संरक्षण प्रणाली स्थिरिकरण कोषमा आवद्ध भई जोखिम व्यस्थापनमार्फत अभियानको छवि उच्च राख्न आवस्यक देखिन्छ ।

(लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा कार्यरत छन्)

अभिलेख

लोकप्रिय