२३ कात्तिक २०८३, सोमबार

‘सदस्यको अनुहारमा खुशी खोज्नु संस्थाको कर्तव्य हो’

२०७९ चैत १३, सोमबार
‘सदस्यको अनुहारमा खुशी खोज्नु संस्थाको कर्तव्य हो’

बेनी : राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीहरुले संस्थाका शेयर सदस्यहरुको अवस्थाको पहिचान गर्नु पर्ने बताएका छन्। बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा बोल्दै जिसीले सदस्यसँगै समुदाय प्रति पनि चासो देखाउनु पर्ने भएकोले सहकारी संस्था थप चनाखो र चलायमान हुन पर्ने बताए ।

‘सहकारीहरुले गर्ने गतिविधिले उनीहरुको मात्रै नभएर समग्र सहकारी क्षेत्रकै शाखलाई प्रभाव पार्छ’, उनले भने, ‘त्यसैले त्यसतर्फ पनि सोच्दै सदस्यकेन्द्रीत कार्यक्रमहरुमा जोड दिनु पर्छ।’ अहिले सहकारी विभागले दिएको निर्देशन अनुरुप कतिपयले कार्यक्रम गरेको र कतिपयले नगरेको भन्दै उनले विभागको निर्देशन कानुन सरह हुने भएकाले सबै सहकारीले मान्नै पर्ने बताए।

स्थानीय मानिसहरु मिलेर चलाएको व्यवसाय सहकारी भएकोले आफ्नै हितका लागि हामीले काम गर्नु पर्ने उनको कथन थियो । लोकदिप बचत तथा ऋण सहकारीले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा आयोजना गरेको वित्तीय साक्षतामा सहकारी बैंकका सञ्चालक जिसीले पैसा कसरी आम्दानी, खर्च र बचत गर्ने थाहा पाउनु पर्ने बरेमा सहजिकरण गरेका थिउ । पैसा आम्दानी गरेको वा खर्च गरेको मात्रै तथ्याङ्क राख्न सकियो भने पनि बचत बढाउन सकिने भएकोले पैसाका सबै शिर्षकमा भएका खर्च चुस्त राख्ने प्रयास गर्दा राम्रो हुने धारणा व्यक्त गरे । उनले भने, ‘चुस्त हामीले राख्नु पर्दैन, सबै कारोबार सहकारीबाट गर्नुस् तपाइको सबै हिसाव सहकारी संस्थाले नै राखिदिन्छ ।’

सहकारीले स्थापना दिवसको अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी छात्रा गृष्मा जिसी प्रथम, लिटल गार्डेन एकेडेमीकी विदीसा सुवेदी द्वितिय, न्यूहोराइजन बोर्डीङ पर्वतकी स्मृती जिसी तृतीय भएकी छिन् । त्यसैगरी निवन्ध लेखनमा धौलागिरी मावि सिंगाकी सिता गुरुङ र बेनी सामुदायिक विद्यालयकी सजिना शर्माले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुका साथै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरीएको थियो ।

संस्थाले स्थापना दिवसका अवसरमा बालगृह म्याग्दीमा खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोशीको स्वागत तथा सचिव ओमप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय