२३ कात्तिक २०८३, सोमबार

काभ्रेमा सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको गोष्ठी सम्पन्न

२०७९ माघ २८, शनिवार
काभ्रेमा सहकारीका अध्यक्ष र व्यवस्थापन प्रमुखको गोष्ठी सम्पन्न

काभ्रे : जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेपलाञ्चोकको व्यवस्थापनमा “संकट न्यूनीकरणका लागि सहकारी मान्यता र मापदण्डको पूनरावृत्ति’’ विषयक १ दिने गोष्ठी सम्पन्न भएको छ ।

सहकारी संस्थाहरुको खस्कदो छवीलाई सुधार गर्न वर्तमान अवस्थामा नेतृत्व र व्यवस्थापनको भूमिकाहरुको बारेमा स्पष्ट पार्ने र समग्र काभ्रेको सहकारी अभियानलाई सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठीको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गरेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यता, बागमती प्रदेश सहकारी मन्त्रालयका सचिव बलराम निरौला, रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेत, स्थिरिकरण कोषका सञ्चालक प्रकाश बन्जारा, बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, म्यानेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायत विषयगत जिल्ला संघका प्रतिनिधिहरु, संघका सल्लाहकारहरुको आतिथ्यता रहेको थियो । काार्यक्रममा ७२ वटा सहकारी संस्थाका १०० जना सहभागीहरुको सक्रिय तथा उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा मन्तब्य राख्दै मन्त्री राजेन्द्र कुमार राईले सहकारीले गाउँगाउँको वित्तीय समस्या टारेको बताए । सहकारीले परिणाममूखी कार्य गर्दै समग्र अभियानको विकास गर्नतर्फ अग्रसर हुनुपर्ने बताए । काभ्रेको सहकारी अभियान देशभरिकै नमूना सहकारी अभियान बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बि. बस्नेतले सहकारी संस्थाहरुको वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा महासंघले कार्यक्रम तथा छलफलहरु चलाईरहेको जानकारी गराउँदै चरणबद्ध रुपमा महासंघले आवाज उठाईरहेको बताए । पहिलो चरणमा वित्तीय सहकारीको तत्कालको समस्या समाधान गर्न सन्दर्भ ब्याजदर स्वचालित बनाउनु पर्ने, दोस्रो चरणमा कर्जा सूचना केन्द्र सञ्चालन गर्नुपर्ने र तेस्रो चरणमा सहकारी प्रबद्र्धन कोष बापत राज्यले संकलन गरेको रकम सहकारी महासंघ तथा संघलाई कार्यविधि बमोजिम वितरण गर्नुपर्ने तब मात्र सहकारी संस्थाहरुको अवस्था सुधार हुने बताए ।

संघका अध्यक्ष दिलिप शर्माले जिल्लाको सहकारी अभियानको शुरुवात देखि हालसम्मको अवस्था, संघले सञ्चालन गरिरहेका गतिविधिहरु, संघको वर्तमान अवस्था, यस गोष्ठी कार्यक्रम गर्नुको उद्देश्य र कार्यक्रमको आवश्यकताको बारेमा प्रष्ट्याउदै कार्यक्रमको थिम प्रस्तुती गरेका थिए ।

गोष्ठीमा साविक बागमति प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी अनुगमन र नियमनमा साझा भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी सहकारी विज्ञ डा. शिवजी सापकोटाले सहकारीको विद्यमान अवस्था र आगामी कार्यदिशाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय सहकारी बैंकका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा संकट ब्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । छुट्टा छुट्टै कार्यपत्रहरुमा सहभागीहरुले अन्र्तक्रिया गर्दै सहकारी संघ संस्था र अभियान सुदृढिकरण गर्ने प्रतिबद्धता गोष्ठीले गरेको छ ।

अभिलेख

लोकप्रिय