२३ कात्तिक २०८३, सोमबार

वित्तीय संकट समाधानका लागि सबै पक्ष जिम्मेवार बनौं : उप्रेती

२०७९ पुष २०, बुधबार
वित्तीय संकट समाधानका लागि सबै पक्ष जिम्मेवार बनौं : उप्रेती

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्यसहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नु पर्ने बताएका छन् । समग्र वित्तीय क्षेत्रमा देखिएको समस्याका बारेमा चर्चा गर्दै अध्यक्ष उप्रेतीले सहकारीसँगै मुलुकको वित्तीय संकट समाधान गर्न सबै पक्ष लाग्नु पर्ने बताएका हुन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) बीच बुधबार बैंकको कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै उप्रेतीले भने, ‘सहकारी सदस्यको सहभागितामा सञ्चालन हुने व्यवसाय हो । यसलाई जोगाउनका लागि सदस्यहरुको भूमिका बढाउन आवश्यक छ । सदस्यलाई सचेत बनाउने विषयमा सहकारी अभियान, राज्य र सञ्चारक्षेत्रले प्राथमिकता दिनुपर्छ ।’ सहकारीको समस्या समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आब्हान गर्दै उप्रेतीले अभियानका तर्फबाट समन्वयकारी भूमिका निर्वाह भइरहेको समेत बताए ।

सामुहिक प्रयासबाट सहकारी संघ/संस्थाहरुको थप विकास र प्रवद्र्धन गर्न सकिने भन्दै सहकारीको क्षेत्रसँग जोडिएका विषयवस्तुलाई सत्य–तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न अध्यक्ष उप्रेतीले आग्रह गरे । अध्यक्ष उप्रेतीले सहकारी क्षेत्रका कतिपय कमी कमजोरीहरूको खबरदारीसँगै गर्दै सकारात्मक कामहरूको सूचना तथा समाचार सम्प्रेषण हुनुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सामुहिक प्रयासबाट सहकारी क्षेत्रलाई दरिलो र विश्वास योग्य बनाउनु पर्नेमा जोड दिए । ‘सहकारी बैंक सहकारीहरुको प्रवद्र्धन र विकासका लागि सदैव क्रियाशिल छ, हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं’, गुरागाईले भने, ‘सहकारीको समस्या समाधानका लागि अभियान, राज्य र सञ्चारक्षेत्रको समेत सामुहिक भूमिका आवश्यक छ ।’

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का अध्यक्ष काजी श्रेष्ठले सहकारी क्षेत्रलाई असहज परिस्थितिबाट बाहिर ल्याउनका लागि अभियानको भूमिका थप प्रभावकारी बनाउनु पर्ने बताए ।

अभिलेख

लोकप्रिय