सहकारीको छवि सुधार, सुशासन र सुदृढ अभियान मेरा मुख्य एजेण्डा (केशव सापकोटाको अन्तर्वार्ता)

राष्ट्रिय सहकारी बैंकको आसन्न निर्वाचनमा लेखा सुपरिवेक्षण समिति सदस्य (खुला) पदमा उम्मेदवार हुन् सहकारी विज्ञ केशवप्रसाद सापकोटा । यही पुस १६ गते हुने बैंकको निर्वाचनसहितको १९औं वार्षिक साधारण सभामा सापकोटाले विकू बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनी गैंडाकोट-८, विजयनगर नवलपुर स्थित विकू बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् ।
देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा परिचित विकूको अन्तर्राष्ट्रिय छवि दिनप्रतिदिन फैलदो छ । संस्थालाई आजको स्थितिसम्म ल्याइपुर्याउन सापकोटाको नेतृत्वदायी भूमिका छ । सापकोटा २०५० सालदेखि विकू बचतमा आवद्ध छन् । सञ्चालक सदस्यबाट सुरु भएको विकूसँगको उनको नाता सहसचिव हुँदै अध्यक्षसम्म प्रगाढरुपमा जोडिएको थियो । सबै भूमिकालाई उत्तिकै न्याय गर्दै उनले संस्थाको साख वृद्धिमा आफ्नो कौशल प्रदर्शन गरेका थिए । सापकोटा हाल विजयीश्री उपभोक्ता सहकारी संस्थाका अध्यक्ष हुन् । संस्थाले मार्ट सञ्चालन गर्दै आएको छ ।
यस्तै, विजय सामुदायिक शिक्षा सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेका सापकोटा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका संस्थापक सचिव समेत हुन् । उनीसँग संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य कार्यक्रममा तीन वर्ष सहकारी विज्ञको रुपमा काम गरेको अनुभव पनि छ । ५ सयभन्दा बढी सहकारी सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेका सापकोटासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकारी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको अनुभव पनि छ ।
कृषि तथा वन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका सापकोटाको अनुसन्धानको विषय ‘सहकारीको गुणस्तरियता र सदस्य सन्तुष्टि’ रहेको छ ।
सहकारी क्षेत्रमा हासिल गरेको २५ वर्षभन्दा बढी लामो अनुभवलाई सहकारी बैंकमा प्रयोग गरी थप उचाईमा पुर्याउने उम्मेदवारी दिएको उनी बताउँछन् । उम्मेदवारी क्रम संख्या ३ रहेका सापकोटासँग सहकारीखबरका सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी ।
राष्ट्रिय सहकारी बैंकमा तपाईको उम्मेदवारी किन?
विगत २५ वर्षदेखि सहकारी अभियानमा आवद्ध छु । अनुभव, क्षमता र कार्यशैलीलाई राष्ट्रिय सञ्जाल भएको सहकारी क्षेत्रको एक मात्र बैंक ‘राष्ट्रिय सहकारी बैंक’ मा जोडिन खोजेको हुँ । सहकारी क्षेत्रको छबी सुधार गर्न, सहकारी क्षेत्रलाई सशक्त र सुदृढ बनाउन, सहकारी क्षेत्रमा सुशासन कायम गर्न, ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बढाउन, ग्रामिण र शहरी क्षेत्रका जनतामा वित्तीय तथा गैरवित्तीय पहुँच पुर्याएर जिविकोपार्जन असल बनाउन र गरिबीबाट मुक्त गराउनको लागि मेरो उम्मेदवारी हो ।
लेखा सुपरिवेक्षण समिति नै किन रोज्नुभयो ?
सहकारी क्षेत्र राजनीतिबाट अछुतो रहन सकेन । राजनीतिक दलको भागवण्डाका आधारमा नेतृत्व छनोट हुने रहेछन् । खासमा सहकारी पार्टी हुनुपर्ने हो । तर, राजनीतिक पार्टी हाबी भयो । म लेखा सुपरिवेक्षण समितिमै जानुको कारण चाँही सञ्चालक समितिले गरेका कामहरु र व्यवस्थापनले गरेका कामहरु नीति संगत छन् कि छैनन्? कार्यविधिभन्दा बाहिर छन् कि? भन्ने हो । जसले गर्दा सहकारीलाई सुशासन युक्त बनाउन सहयोग पुग्छ । लेखा सुपरिवेक्षण समिति एक महत्वपूर्ण समिति भएको हुँदा यही समितिमा काम गर्नु पर्छ भनेर नै यो समिति रोजेको हुँ ।
राष्ट्रिय सहकारी बैंकमा तपाईको भूमिका के रहन्छ?
म ड्राईभिङ सिटमा त हैन । म सहयोगीको रुपमा रहन्छु । सहकारीहरुले घरदैलो सेवा कसरी दिन सक्छ?, घरमै सेवा दिने अवधारणहरु कसरी आउन सक्छ?, तरलताको अभावलाई कसरी पुरा गर्न सकिन्छ? भन्ने विषय मेरा एजेण्डाहरु रहेका छन् ।
नेतृत्वमा पुगेपछि सहकारी क्षेत्रमा देखिएको समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ?
अहिले विश्व नै आर्थिक मन्दीमा छ । सबै क्षेत्रमा आर्थिक पिडाहरु बढेका छन् । यही बिचमा सफल नेतृत्वले धेरै काम गर्न सक्छ । अहिलेको स्थितीमा संस्थालाई कसरी जोगाएर अघि बढाउन सकिन्छ? कस्ता रणनीतिहरु आवश्यक पर्छ? लगायतका कुराहरुमा मेरो महत्वपूर्ण भूमिका रहन्छ । चर्को ब्याजदरबाट अहिले बैकिङ क्षेत्र पिडिमा छन् । यो विषयमा राज्यले गर्नुपर्ने कामहरु र भूमिकाका विषयमा लविङ गर्ने काम मेरो रहन्छ ।
सहकारीमा विश्वासको खरेडी देखा परेको छ । सहकारीको साख जोगाउन के गर्नुपर्छ?
सबैभन्दा पहिला सहकारी कसको हो भन्ने कुराबाट सुरुवात हुन्छ । फलानो व्यक्तीको हो भन्ने सहकारी धेरै लामो समय टिक्दैन । सहकारी सदस्यको हुनुपर्छ । सहकारी सदस्य र जगेडा कोषमा आधारित हुनुपर्दछ । संस्थाको गुणस्तरियता र सदस्यको सन्तुष्टीका कुरा मापन गरेर अघि बढ्न सक्यौं भने सहकारीको साख जोगिन्छ ।
देशभरका मतदाता सहकारीकर्मीलाई के भन्न चाहनुहुन्छ?
यो अवसर हो । अवसरलाई राम्रोसँग प्रयोग गरौं । सक्षम नेतृत्व चयन गर्न सकौं । धेरै पदमा निर्विरोध भैसकेको अवस्था छ । निर्विरोध नभएका पदमा सक्षम र सवल व्यक्तीलाई चयन गर्न सक्यौं भने मात्र सहकारी क्षेत्रको सुशासन र छबी सुधार गर्न सहयोग पुग्छ । त्यसैले यो मौका र अवसर हो । व्यक्तिको प्रोफाईल हेर्नुहोस् । शिप र दक्षताको आधारमा मतदान गर्नुहोस् ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार