२४ कात्तिक २०८३, मङ्गलबार

किसान कल्याण साकोसको २१ औं साधारण सभा: सदस्यलाई ११ प्रतिशत लाभांश दिने

२०७९ मंसिर १०, शनिवार
किसान कल्याण साकोसको २१ औं साधारण सभा: सदस्यलाई ११ प्रतिशत लाभांश दिने

इटहरी : इटहरीमा मुख्य कार्यलय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले रामधुनी सेवा केन्द्र अन्तर्गतको २१ औं साधारण सभा शुक्रबार रामधुनीको कल्पवृक्ष पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

वक्ता र अतिथी विनै सदस्यहरुको भव्य उपस्थितीमा भएको साधारण सभामा प्रोजेक्टरको माध्यमबाट संस्थाको गतिविधि र आय व्ययका साथै भावी कार्यक्रमको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले प्रस्टाएका थिए । सेयर सदस्यलाई संस्थाको आयव्यय र भावी कार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन प्रदान गर्नुका साथै संस्थाको गतिविधिको बारेमा संचालक अध्यक्ष शालिकराम ढकाल, कोषाध्यक्ष गोमा कुमारी गिरी तथा उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ र उपसचिव महेश कुमार रेग्मी लगायतले विभिन्न क्रियाकलापबारे जानकारी गराएका थिए ।

किसान कल्याणले आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदनमा छुट्टाएको सेयर लाभांस कोषको रकमबाट सदस्यले खरिद गरेको सेयरको आधारमा ११ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय समेत पारित गरेको छ । संस्थाका संचालक अध्यक्ष शालिकराम ढकालको सभापतित्वमा सम्पन्न भएको साधारणसभाले २० हजार रुपैयाँसम्म सेयर हुने सदस्यको लाभांश रकमलाई प्रति कित्ता १ सय रुपैयाँका दरले शेयरमै रुपान्तरण गर्ने र सो भन्दा बढि सेयर भएका सदस्यलाई सेयरको लाभांस रकम सदस्यको बचत खातामै जम्मा गरिदिने निर्णय संस्थाले गरेको छ ।

किसान कल्याणले आर्थिक वर्ष २०७८/०७९ मा ६ करोड ८४ लाख २ हजार ८११ रुपैयाँ सञ्चालन आम्दानी गरेको साधारण सभामा सदस्यलाई जानकारी गराइएको थियो । अघिल्लो आर्थिक बर्षमा साकोसले ६ करोड ८२ लाख ६ हजार हजार ३०९ रुपैयाँ संचालन आम्दानी गरेको थियो । संस्थाले आगामी वर्ष ९ करोड ६ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य राखेको छ ।

संस्थाले चालु आर्थिक वर्षमा ३ हजार ३ सय ६० जना सेयर सदस्य, ८ सय ४० जना बाल बचतकर्ता र २ सय ज्येष्ठ बचत कर्ता थप गर्ने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाले हरेक वर्ष ज्येष्ठ पिता सम्मान, ज्येष्ठ माता सम्मान, सदस्य पुरस्कार कार्यक्रम, कर्मचारी पुरस्कार कार्यक्रम, सहकारी संचारकर्मी पुरस्कार, उत्कृष्ट सेवा केन्द्र पुरस्कार, सहकारी अभियान्ता पुरस्कार लगायतका कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । हालैमात्र पनि कार्तिक १३ गते संस्थाले विभिन्न बिधामा १ सय जना भन्दा बढी सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

अभिलेख

लोकप्रिय