२४ कात्तिक २०८३, मङ्गलबार

नयाँ सहकारी ऐन लागू गर्दै युएई, सहकारी स्थापना र प्रर्वधन मुख्य उद्देश्य

२०७९ कात्तिक २८, सोमबार
नयाँ सहकारी ऐन लागू गर्दै युएई, सहकारी स्थापना र प्रर्वधन मुख्य उद्देश्य

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) मा सहकारी क्षेत्रलाई प्रर्वधन गर्ने उद्देश्यले बनेको नयाँ सहकारी ऐन अर्को महिनादेखि लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।

नयाँ सहकारी कानूनले समुदायका सदस्यहरूलाई प्रविधि, वित्त, स्वास्थ्य, पर्यटन, सृजनात्मक उद्योगका साथै उपभोक्तासँग सम्बन्धित क्षेत्रलगायतका क्षेत्रमा सहकारी स्थापना गर्न प्रोत्साहित गर्ने रहेको छ । नयाँ सहकारी ऐन मुख्यतया सहकारी क्षेत्रको विस्तार र नयाँ सहकारी संस्थाको स्थापनालाई प्रोत्साहनका लागि रहेको अर्थ मन्त्रालयमा सहकारी र रणनीतिक रिजर्भका निर्देशक सामह अलहजेरीले बताएका छन् ।

केही दिन अघि अर्थ मन्त्रालयका उपसचिव अब्दुल्लाह अल सालेह र मन्त्रालयमा सहकारी तथा रणनीतिक रिजर्भका निर्देशक समह अलहजेरीले अबु धाबीमा नयाँ सहकारी कानूनको बारेमा ब्रीफिङ गरी जानकारी गराएको हो ।

युएईको यस अघिको सहकारी ऐनले परम्परागत सहकारीलाई समर्थन गरेको थियो । ‘अहिले बनेको सहकारी ऐन धेरै चुस्त, धेरै लचिलो छ’, उनले भनिन्, ‘उत्पादन सहकारी, उपभोक्ता सहकारी, खेलकुद सहकारीहरू लगायत नयाँ सहकारीहरूलाई प्रर्वधन प्रोत्साहन गर्नेछ ।’

नयाँ सहकारी ऐनले गैर अरबी नागरिकहरुले पनि सहकारीको सदस्यता लिन पाउने बाटो खुला गरेको छ । सहकारी कानूनको कार्यान्वयन यूएईले आफ्नो अर्थतन्त्रलाई बढावा दिनको लागि ल्याएको हो ।

हाल युएईमा एक लाख नागरिक सहकारीमा आवद्ध भएका छन् । नयाँ सहकारी ऐन लागू भएको एक वर्षमा ५ लाख नागरिक सहकारीमा आवद्ध हुने विश्वास अलहजेरीले गरेकी छिन् ।

नयाँ सहकारी ऐनले सहकारी संस्थाहरूलाई सम्बन्धित अधिकारीहरूको स्वीकृतिको अधीनमा शाखा खोल्न पाउने व्यवस्था गरेको छ । त्यस्तै सहकारी संस्थालाई कानूनको कार्यकारी नियमावलीमा तोकिएका शर्तहरु बमोजिम कम्पनीमा परिणत हुने अधिकार प्रदान समेत गरेको छ । साथै, कुनै सहकारी संस्थाले सम्बन्धित निकायको स्वीकृति लिएर अर्को संस्थामा समेत गाभिन सक्ने व्यवस्था गरेको छ ।

ऐनले दण्ड जरिवाना पनि तोकेको छ । सहकारीहरु कानुन अनुसार सञ्चालन नगरेमा, वार्षिक विवरण, सेयर विवरण लगायतका विवरणहरु भ्रामक रुपमा प्रस्तुत गरेमा २ लाखदेखि १० लाग दिरामसम्म जरिवाना गर्ने उल्लेख छ ।

२०२० को अन्त्य सम्ममा युएईमा ४२ वटा सहकारी संस्था मात्र थिए । ती संस्थाको देशभर २ सय वटा शाखाहरु रहेका थिए । ती सहकारीहरुको कुल पुँजी ८४० बिनियन अमेरीकी डलर रहेका थिए ।

(एजेन्सीको सहयोगमा)

अभिलेख

लोकप्रिय