२२ भदौ २०८३, सोमबार

अध्यक्ष र व्यवस्थापक मिलेर एकता बुद्ध सहकारीमा करोडौं हिनामिना

२०७९ कात्तिक २, बुधबार
अध्यक्ष र व्यवस्थापक मिलेर एकता बुद्ध सहकारीमा करोडौं हिनामिना

काठमाडौं : बुढानिलकण्ठ–९, मण्डिखाटार स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थामा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य खुलेको छ । संस्थाका अध्यक्ष भानु शर्मा र व्यवस्थापक शम्भु कार्कीले संस्थाको करोडौं रकम हिनामिना गरेका हुन् ।

संस्थाका अध्यक्ष शर्मा र व्यवस्थापक कार्की मिलेर करिब ७ करोड रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ । तर के कती रकम हिनामिना भएको हो भन्ने एकीन तथ्यांक भने आउन सकेको छैन । करिब १२ करोडको कारोबार रहेको संस्थाले ५ करोडको हाराहारीमा मात्र सदस्यलाई लगानी गरेको स्रोतको दाबी छ । बाँकी रकम संस्थाका अध्यक्ष शर्मा र व्यवस्थापक कार्की मिलेर हिनामिना गरेको स्रोतको दाबी छ । सदस्यलाई लगानी गरेको रकमको सावा, ब्याज समेत नउठेपछि संस्था अहिले चरम आर्थिक संकटमा छ ।

अध्यक्ष र व्यवस्थापक मिलेर उक्त रकम हिनामिना गरेको सञ्चालकहरु समेत बताउँछन् । केही समय अघि अध्यक्ष र व्यवस्थापकले रकम हिनामिना गरेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेशलाई अन्य सञ्चालकले गुहारेका थिए । केही सदस्यहरुले मन्त्रालयको सहकारी महाशाखामा बचत रकम र्फिता नदिएको भनदै उजुरी समेत दिएका छन् ।

सहकारीका सञ्चालकहरुले नै संस्थाको एकीन छानविन गर्न माग गरेपछि मन्त्रालयले संस्थाको विशेष साधारण सभा बोलाउन निर्देशन दिएको थियो । तर, संस्थाका अध्यक्षले भने सञ्चालक समितिको बैठक समेत बोलाएका छैनन् ।

संस्थाले विगत १ वर्षदेखि सदस्यको बचत फिर्ता दिन सकेको छैन । संस्थाले उठाएको बचत, कर्जा लगानीको एकीन हिसाब अध्यक्ष र व्यवस्थापक बाहेक अरु सञ्चालकको जानकारीमा छैन । संस्थाले सफ्टवेयर समेत राखेको छैन । संस्थाको सम्पूर्ण कागजात अध्यक्ष र व्यवस्थापक बाहेक अरुको एक्सेसमा छैन ।

मन्त्रालयले विषेश साधारण सभा बोलाई नयाँ सञ्चालक समिति गठन गर्न र हिनामिनाको छानविन गर्न निर्देशन दिए पनि यस विषयमा केही काम अघि बढेको छैन । मन्त्रालयले दिएको समय सिमा सकिने केही दिन मात्र बाँकी हुँदा सञ्चालक समितिको बैठक समेत बस्न सकेको छैन । संस्थाका अध्यक्ष र व्यवस्थापकले अनेक बहाना बनाई सदस्य र स्वंयम सञ्चालक समितलाई समेत छल्दै आएको स्रोतको दाबी छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेशका सहकारी रजिष्ट्रार नारायण ज्ञवालीले संस्थाका सञ्चालक समितिलाई बोलाएर छलफल समेत गराएको बताए । विशेष साधारण सभा बोलाउन निर्देशन दिएको समेत उनले बताए । ‘संस्थाका अध्यक्ष र व्यवस्थापक मिलेर रकम हिनामिना गरेको प्रारम्भिक रुपमा देखिन्छ’, उनले भने, ‘तिहार लगत्तै एक्सनमा जाने छौं ।’

अभिलेख

लोकप्रिय