२२ भदौ २०८३, सोमबार

पशुपति सहकारीलाई कारबाही गर्ने तयारीमा विभाग

२०७९ असोज ३१, सोमबार
पशुपति सहकारीलाई कारबाही गर्ने तयारीमा विभाग

काठमाडौं : सहकारी विभागले पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई सदस्यको हित विपरित कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवं सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको भन्दै कारबाही गर्ने तयारी गरेको हो ।

विगत तीन वर्षदेखि संस्थाले सदस्यको बचत फिर्ता गर्न सकेको छैन । संस्थाका ७८ जना सदस्यले २०७९ साउन २ गते संस्था विरुद्ध सहकारी विभागमा उजुरी दिएका थिए ।

विभागले सोही उजुरीको आधारमा सचालकलाई बोलाएर बचत फिर्ता गराउन निर्देशन दिँदै आएको छ । तर, संस्थाले भने विभागको निर्देशनलाई समेत अटेर गर्दै आएको छ ।

सहकारीका अध्यक्ष सिबी लामाले सदस्यको बचत फिर्ता गर्ने प्रतिवद्धता जनाए पनि फिर्ता भने गरेका छैनन् । सदस्यबाट उठाएको बचतले जग्गा किनेको र उक्त जग्गा विक्रि गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाए थिए । तर, जग्गा विक्रि गरेपनि बचत भने फिर्ता गरेका छैनन् ।

स्रोतका अनुसार संस्थाका सञ्चालकलाई पक्राउ गर्न प्रहरीमा पत्र लेख्ने तयारी सहकारी विभागको छ । त्यस्तै संस्थालाई समस्याग्रस्त सहकारीको रुपमा घोषण गर्न मन्त्रालयमा सिफारिस समेत गर्ने विषयमा विभागमा छलफल भईरहेको छ ।

आईतबार संस्थाका अध्यक्ष, सदस्य र सहकारी विभाग बीच छलफल समेत भएको थियो । उक्त छलफलमा समेत विभागले कारबाही गर्ने चेतावनी पनि अध्यक्ष लामालाई दिएका थिए ।

अभिलेख

लोकप्रिय