२२ भदौ २०८३, सोमबार

पोखरा रोयल सहकारीको २१औं साधारण सभा सम्पन्न, २५% ले सदस्य वृद्धि गर्ने लक्ष्य

२०७९ असोज १३, बिहिबार
पोखरा रोयल सहकारीको २१औं साधारण सभा सम्पन्न, २५% ले सदस्य वृद्धि गर्ने लक्ष्य

कास्की : ‘सुखी सदस्य दिगो सहकारी’ भन्ने परिकल्पनालाई आत्मसात गर्दै पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले ४ वटा स्थानमा एकाई सभाहरु गरी पोखरामा एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणिकरण सभा गरी सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्ती रहेका थिए । रजिष्ट्रार घर्तीले पोखरा रोयल गण्डकी प्रदेशकै नमुना सहकारी भएको र यसले गर्ने गतिविधि अन्य सहकारीले समेत अनुशरण गर्नुपर्ने बताउँदै भावी दिनमा सहकारीको सिद्धान्त बमोजिम उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिए ।

वार्षिक साधारण सभामा उत्कृष्ठ कारोबार गर्ने सदस्यहरु मध्ये वर्ष उत्कृठ सदस्यहरु जीतबहादुर गुरुङ्ग र दुर्गा लामिछाने ढकाल, वर्ष उत्कृष्ठ कर्मचारीतर्फ रुपेन्द्र गुरुङ्ग, उत्कृष्ठ बाल बचतकर्तातर्फ मिङमार गुरुङ्ग, उत्कृष्ठ लघुवित्त केन्द्रतर्फ प्रथम हार्पुथर रोयल केन्द्र, द्धितिय चक्रदेवी रोयल केन्द्र र तृतिय जागृति रोयल केन्द्र र उत्कृष्ठ सेवाकेन्द्रतर्फ मोहरिया सेवा केन्द्रलाई प्रमुख अतिथि र अध्यक्षले नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको थियो ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ्गद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक हर्कबहादुर गुरुङ्गद्वारा प्रस्तुत वार्षिक समीक्षा प्रतिवेदन, लेखा परिक्षकको तर्फबाट कोषाध्यक्ष गीरबहादुर श्रेष्ठद्वारा प्रस्तुत लेखापरिक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गद्वारा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट र सचिव केशवप्रसाद ढकालद्वारा प्रस्तुत विनियम संसोधन तथा विशेष प्रस्ताव समेत पारित गरेको छ ।

समिक्षा आ.व.सम्ममा संस्थाको कूल सम्पत्ती २ अर्ब १८ करोड पुगेको छ भने शेयर पूँजी २० करोड ९७ लाख, जगेडा तथा अन्य कोष १९ करोड ८१ लाख, बचत निक्षेप १ अर्ब ५७ करोड, ऋण लगानी १ अर्ब ८२ करोड पुगेको छ । त्यस्तै संस्थाले ६ करोड ४८ लाख सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । सभाले आ.व. २०७८/०७९ को नाफाबाट शेयरतर्फ १०.२७ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुको कारोबारको आधारमा बचत कारोबार तर्फ ३.१६ प्रतिशत र ऋण तर्फको कारोबारमा २.७२ प्रतिशत अतिरिक्त लाभ प्रदान गर्ने निर्णय गरेको छ ।

आगामी वर्ष संस्थाले २५ प्रतिशतले सदस्य वृद्धि, १० प्रतिशतले बचत वृद्धि, १० प्रतिशतले ऋण वृद्धि र गण्डकी प्रदेशभर कार्यक्षेत्र वृद्धि गर्ने समेत प्रस्ताव पारित गरेको छ । त्यसरी नै कास्की, तनहुँ र स्याँङ्गजा गरी ९ वटा विभिन्न पालिकाहरुमा लघुवित्तको कार्यक्रम सञ्चालन गरि रहेकोमा चालु वर्ष थप २ वटा पालिकामा लघुवित्त कार्यक्रम विस्तार गर्ने योजना रहेको छ ।

साधारण सभाकै अवसरमा दुबै कान नसुन्ने तथा मुख नबोल्ने संस्थाका सदस्य सीता परियारका ४ वर्षे छोरा प्रमिश परियारको उपचारको लागि संस्थाले ५० हजार नगद सहयोग गरेको छ ।

वि.सं.२०५९ सालदेखि पोखरालाई कार्यथलोको रुपमा कारोबार गरिरहेको सहकारीको हाल कास्की, स्याँङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत जिल्ला गरी ५ जिल्ला कार्यक्षेत्र, प्रधान कार्यालयसहित ४ वटा कार्यालय, ८४०८ जना सदस्य र ४३ जना कर्मचारी कार्यरत रहेका छन् ।

संस्थाले सदस्य केन्द्रित बचत तथा ऋण सेवाको अलवा सामुदायिक गतिविधी, एटिएम, मोवाईल बैकिङ्ग, क्यू आर कोड, एस एम एस बैकिङ्ग लगायतका आधुनिक प्रविधी मार्फत छिटो छरितो सेवा प्रदान गरिरहेको सूचना अधिकारी मीलन ढकालले बताए ।

अभिलेख

लोकप्रिय