२२ भदौ २०८३, सोमबार

सहकारीकर्मीहरुको गुनासो: राज्यले सहकारीलाई प्राथमिकता दिएन

२०७९ असोज १३, बिहिबार
सहकारीकर्मीहरुको गुनासो: राज्यले सहकारीलाई प्राथमिकता दिएन

बागलुङ : बागलुङका सहकारीकर्मीहरुले अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटोका रुपमा रहेको सहकारी क्षेत्रलाई राज्यले प्राथमिकता दिन नसकेको गुनासो गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले विजया दशमी लगायतका चाडपर्वको अवसर पारेर बुधवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सक्षम बनाउन, आयआर्जन गर्न, वचत गर्न तथा व्यवसायिक रुपमा अगाडि बढ्न सहकारी क्षेत्रले महत्वपूर्ण योगदान गरेको छ, राज्यले जनतालाई गर्नु पर्ने धेरै सामाजिक कार्यमा सहकारीले योगदान गरेका छन्, तर सरकारले सहकारीको प्रवद्र्धनमा ध्यान नदिएको उनीहरुको गुनासो थियो ।

सहकारीको प्रवद्र्धनका लागि राज्यले तथ्यांक संकलन, अनुगमन नियमन र अप्ठेरो अवस्थामा साथ दिने खालका गतिविधि गर्नु पर्नेमा सहकारीकर्मीहरुको जोड थियो । सहकारीमा पछिल्लो समयमा देखिएका समस्याहरुको समाधानका लागि सहकारी संघ संस्थाहरुले आन्तरिक रुपमा गर्न सक्ने समन्वय र सहकार्यमा प्रभावकारीता ल्याउनु पर्नेमा जोड दिदै सहभागी सहकारीकर्मीहरुले सहकारी अभियानले राज्यलाई खबरदारी गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समसामयिक अवस्था र सहकारी बैंकको सेवा सुविधा तथा पछिल्लो अवस्था बारेमा जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), जिल्ला सहकारी संघका सल्लाहकारद्वय दिपक गौतम र तोयनाथ गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर लगायतले कार्यक्रमका सम्पूर्ण सहभागीहरुले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीको अध्यक्षता र बैकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय