ललितपुर बचत संघमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षका तीन आकांक्षी
काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको चुनावी साधारण सभा नजिकिदो छ । चुनाव नजिकिएसँगै सहकारी अभियानमा सरगर्मी पनि बढेको छ भने अध्यक्षका लागि अहिलेसम्म ३ जना आंकाक्षी देखिएका छन् ।
संघको २८ औं वार्षिक साधारण सभा यही भदौ २७ गते लतिलपुरमा आयोजना हुँदैछ । साउन २२ गते बसेको संघको सञ्चालक समितिको १४४औं बैठकले निर्वाचन सहितको साधारण सभा भदौ २७ गते गर्ने निर्णय गरेको थियो ।
सरकारले मंसिर ४ गतेका लागि संघ र प्रदेशको निर्वाचन घोषणा गरेका कारण जिल्ला संघले यस पटक भदौ महिनामै साधारण सभा गर्न लागेको हो । अन्य अवस्थामा संघले तिहारपछि साधारण सभा गर्दै आएको थियो ।
यस पटकको साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने भएको हुँदा संघमा चुनावी रौनक सुरु भैसकेको छ । संघको नेतृत्वका लागि वर्तमान अध्यक्ष रामहरि बजगाई, बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्य र जगतलाल महर्जनले दाबी प्रस्तुत गरेका छन् । यद्यपि, अध्यक्षका तीनै आकांक्षी निर्वाचन नभई सर्वसम्मत नेतृत्व चयनको पक्षमा उभिएका छन् । सकेसम्म सर्वसम्मत नभए चुनावी प्रक्रियाका लागि पनि नेतृत्वका आकांक्षीहरु तयारीमा जुटेका छन् ।
प्रमुख राजनीतिक दलहरुमा जिल्ला संघको चुनावी विषयले प्रवेश पाएको छ । गठबन्धनको सरकार भएका कारण जिल्ला संघमा पनि गठबन्धन समर्थक दलहरु मिलेर जाने कसरत भैरहेको छ । लोकप्रिय सहकारी अभियन्ताको छवि बनाएका बजगाई नेकपा माओवादी समर्थक हुन् भने अर्का आंकाक्षी ब्रर्जाचार्य नेकपा एमाले र महर्जन नेपाली कांग्रेस समर्थक हुन् ।
२०७५ साल फागुनमा सम्पन्न संघको २४ औं साधारण सभाले बजगाईको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो । अघिल्लो पटक पनि सहमतिको प्रयास विफल भएको थियो । त्यसबेला नेकपा र नेपाली कांग्रेस प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । नेकपा पक्षधर बजगाईले कांग्रेस प्यानलका रामशरण घिमिरेलाई पराजित गरेका थिए । घिमिरे अध्यक्ष हुँदा बजगाई सचिव थिए ।
वर्तमान अध्यक्ष बजगाई अर्को एक कार्यकालका लागि आफु अध्यक्ष बन्नुपर्ने जीकिर गर्छन् । उनी पछिल्लो कार्यकालको २ वर्ष कोभिड महामारीका बाबजूद जिल्ला संघले वासलात बलियो बनाएको, संघको जग्गा खरिद गरी भवन निर्माणको कार्य अघि बढाएको, सदस्य संस्थाहरुको मन जितेको, चौमासिक रुपमा संघको वित्तीय विवरण सार्वजनिक गर्ने गरेको, अभियानका जिल्ला तथा राष्ट्रिय मुद्दाहरुमा सघन बहस पैरवी गरेको दाबी गर्दै बाँकी योजनाहरु सम्पन्न गर्न र फुल फ्लेज मा काम गर्न अर्को कार्यकाल आवश्यक रहेको बताउँछन् । ‘पुनः एक पटक नेतृत्व गर्ने चाहना हो, सकेसम्म सहमतिमै म अध्यक्ष बन्छु भन्ने विश्वास छ’ , सहकारी खबरसँग उनले भने, ‘तर दाम्लो बाँधेरै अध्यक्ष बन्ने पक्षमा म छैन ।’ उनले आफ्नो कार्यकालमा संघको वासलात ५० करोडबाट करिब २ अर्ब पुर्याउन सफल भएको बताउँदै सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्न योग्य संघ बनाएको जीकिर गरे ।
अर्का प्रत्याशी बज्राचार्य पनि अहिले चुनाव गर्ने परिस्थिति नभएको बताउँछन् । ‘अहिले सहकारीको मर्म बचाउने कुरा हो’, उनले भने , ‘म बरिष्ठ उपाध्यक्ष भएका कारण पनि अबको स्वाभाविक अध्यक्ष हुँ ।’
त्यस्तै नेपाली कांग्रेस समर्थक महर्जन पनि सर्वसम्मत नेतृत्व चयनको पक्षमा उभिएका छन् । अघिल्लो निर्वाचनमा हालका बरिष्ठ उपाध्यक्ष ब्रर्जाचार्यसँग पराजित महर्जन यो पटक अध्यक्षको आंकाक्षी बनेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
