२१ भदौ २०८३, आईतवार

पोखरा रोयलको आयोजना प्रोवेसन गण्डकी क्लस्टरको गोष्ठी

२०७९ साउन २३, सोमबार
पोखरा रोयलको आयोजना प्रोवेसन गण्डकी क्लस्टरको गोष्ठी

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) गण्डकी क्लस्टर प्रथमको १६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला पोखरामा सम्पन्न भएको छ ।

पोखरा रोयल साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा कास्की, लमजुङ्ग र गोर्खाका गरि १० वटा बचत तथा ऋण सहकारीका सञ्चालक र व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा नेफ्स्कूनका कार्यक्रम अधिकृत सूर्यप्रसाद तिमिल्सनाले समसामयिक वित्तीय बजारको समीक्षा सहित नेफ्स्कूनले जारी गरेको मार्गनिर्देशन र क्लस्टरमा आवद्ध साकोसहरुको वित्तीय अवस्थाको बारेमा तुलनात्मक जानकारी दिनुभएको थियो ।

त्यसैगरि पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले पोखरा रोयल साकोसले सदस्य र समुदायको लागि गरेका असल अभ्यासहरुको प्रस्तुतिकरण गर्नुभएको थियो भने सहभागी संस्थाका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको प्रगति प्रतिवेदन र भावी रणनीति सहितको प्रस्तुतीकरण गर्नुभएको थियो ।

गण्डकी क्लस्टर प्रथम समूहमा कास्कीका पोखरा रोयल साकोस, आस्था साकोस, हितैसी साकोस, दुधपोखरी साकोस, संगम साकोस, सनसाईन साकोस र गौरीशंकर साकोस त्यसैगरि लमजुङ्गबाट जनकल्याण साकोस र हातेमालो साकोस र गोर्खाबाट हिमचुली साकोस आवद्ध रहेका छन् । नेफ्स्कूनले विगत केहि वर्षदेखि नेपालको बचत तथा ऋण सहकारी अभियानमा वित्तीय अनुशासन र गुणस्तर मापन गर्ने कार्यका लागि सहकारी विभागसंगको सहकार्यमा नेपाल स्टाण्डर्डको प्रोवेसन कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

कार्यशाला गोष्ठीमा पोखरा रोयल साकोसको सचिव एवं प्रोवेसन कार्यदल संयोजक केशवप्रसाद ढकालले स्वागत तथा संस्थाका मूख्य प्रवन्धक मीलन ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले सहभागी संस्थाका प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गनुभयो । क्लस्टरको १७औं सिकाई तथा कार्यकुशलता गोष्ठी जनकल्याण साकोसको आयोजनामा लमजुङ्गमा गर्ने समेत निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय