२० भदौ २०८३, शनिवार

बागमती प्रोस्कूनले सुरु गर्यो साकोस स्तरीकरण कार्यक्रम कोसिस

२०७९ साउन १३, शुक्रबार
बागमती प्रोस्कूनले सुरु गर्यो साकोस स्तरीकरण कार्यक्रम कोसिस

बनेपा : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले साकोसहरुको स्तरीकरण कार्यक्रम सुरु गरेको छ ।

संघले दोस्रो वार्षिक उत्सवको अवसरमा संगठनात्मक दीगोपना र संस्थागत सेवाहरुको लागि स्वःनियमन कार्यक्रम (कोसिस) [Cooperatives self-regulation program for Organizational sustainability and Institutionalized Services (COSIS)] सुरु गरेको हो ।

बनेपामा आयोजिक एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले कोसिस कार्यक्रम सञ्चालन मार्गदर्शन लोकार्पण गर्नुभयो ।

यो स्तरीकरण कार्यक्रम बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त कार्यक्रम हो । २०७८ चैत्र २० गते मन्त्रालय र बागमती प्रोस्कून बीच स्तरीकरण कार्यक्रम कोसिस सञ्चालन गर्ने सम्बन्धी १३ बुँदे सम्झौता भएको थियो ।

नियामक निकायको समेत प्रतिनिधित्व हुने नेपालको पहिलो स्तरीकरण कार्यक्रम हो कोसिस । कोसिसमा आवद्ध हुने सदस्य संस्थाको अन्तिम परिक्षण बागमती प्रोस्कून र मन्त्रालयको संयुक्त टोलीबाट हुनेछ । ब्राण्डको प्रमाणीकरण पनि संयुक्त हुनेछ ।

कोसिसमा कुल ५३ वटा सुचक निर्धारण गरिएको छ । कुल पुर्णाङ्क २३० रहेको यस स्तरीकण कार्यक्रममा तीन वटा स्तर (ब्राण्ड) हुनेछ । ६० देखि ७० प्रतिशत अर्थात् १३० देखि १६१ अंक प्राप्त गर्ने संस्थाले कोसिस वान स्टार ब्राण्ड पाउनेछन् ।

त्यस्तै ७१ देखि ८० प्रतिशत अर्थात् १६२ देखि १८४ अंक प्राप्त गर्ने सदस्यले कोसिस टू स्टार ब्राण्ड पाउने छन् भने ८१ प्रतिशत देखि माथी अर्थात् १८५ अंक माथी प्राप्त गर्ने सदस्यले कोसिस थ्रि स्टार ब्राण्ड पाउने छन् ।

स्तरीकरण कार्यक्रमको अवधि २ वर्षको हुनेछ । दुई वर्ष भित्र संस्थाले ब्राण्ड प्राप्त गर्नेछ । बागमती प्रोस्कून र प्रदेश मन्त्रालयको संयुक्त रहेको यस कार्यक्रमको लागत अत्यन्त न्यून रहेको बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जानकारी दिनुभयो ।

२ वर्षभित्र संस्थाले सूचकका मापदण्ड पुरा गरी अन्तिम परिक्षण गराउनु पर्ने र कार्यक्रमको अन्तिम परिक्षण भाद्र महिनामा हुने उहाँले बताउनुभयो ।

स्तरीकरण कार्यक्रम कोसिस नियामक निकायको समेत विश्वासमा सुरु भएको कार्यक्रम भएको हुँदा व्यवसाय नभई सदस्य सेवा भएको उहाँले प्रष्ट पार्नुभयो । यो कार्यक्रम परोपकारी पनि नभएको, नाफाको पनि नभएको बताउनुहुँदै प्रमुख दाहालले यो केवल सदस्यको सेवा भएको बताउनुभयो ।

यो कार्यक्रम साकोस अभियानमा सञ्चालन भएका अन्य स्तरीकरण कार्यक्रमको प्रतिस्पर्धी नभएको समेत उहाँको भनाई थियो ।

सदस्य संस्थाहरुमा आउने सबै किसिमको जोखिमबाट बचाउनका लागि स्तरीकरण कार्यक्रम मार्फत सम्भव भएका कारण यस कार्यक्रमको परिकल्पना गरिएको संघका अध्यक्ष उद्धव सापकोटाले बताउनुभयो । साकोस अभियानमा रहेका विद्यमान जोखिमलाई व्यवस्थापन गरी सहकारी संस्थामा आवद्ध भएका सदस्यहरुको रकमलाई सुरक्षा गर्न यस स्तरीकरण कार्यक्रमले ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

यस स्तरीकरण कार्यक्रममा आज (साउन १३) मात्रै २० वटा संस्था आवद्ध भएका छन् । संघमा आवद्ध भएका २० वटा संस्थाले आज कार्यक्रम सम्झौता गरेका छन् ।

अभिलेख

लोकप्रिय