२४ कात्तिक २०८३, मङ्गलबार

सदस्यको नक्कली हस्ताक्षर गरी रकम निकाल्ने कर्मचारी पक्राउ, ४६ लाख हिनामिना गरेको आरोप

२०७९ असार २१, मङ्गलबार
सदस्यको नक्कली हस्ताक्षर गरी रकम निकाल्ने कर्मचारी पक्राउ, ४६ लाख हिनामिना गरेको आरोप

विराटनगर : सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका छन् ।

सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँका २४ वर्षीय विवेक खवासलाई इलाका प्रहरी कार्यालय बेलबारीले गरेको हो । उनीमाथि ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । तर, खवासले ३१ लाख रुपैयाँ हिनामिना गरेको स्वीकार गरेका छन् । छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार पारेको छ ।

खवास गोठगाउँमा रहेको सेवा केन्द्रमा कार्यरत थिए । संस्था सञ्चालक समितिले खवासलाई बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिको सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल थिए ।

बचतकर्ताको रकम आफै नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको छानबिनबाट खुलेको छ ।

अभिलेख

लोकप्रिय