चर्को दबाबपछि देउरालीको कारोबार खुला, प्रति सदस्य १० हजार मात्र भुक्तानी
ललितपुर : असार १ गतेबाट पूर्ण रुपमा आर्थिक कारोबार बन्द गरेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट कारोबार खुला गरेको छ ।
शुक्रबार (असार ३ गते) सम्मको लागि कारोबार बन्द गरेको सूचना प्रकाशन गरेपनि आईतबार भने कारोबार खुला गरेको थिएन । आज (सोमबार) बाट संस्थाले कारोबार खुला गरेको छ ।
संस्थाले रकम भुक्तानीमा भने सिमा तोकी कारोबार खुला गरेको हो । प्रति सदस्य १० हजारमात्र भुक्तानी दिने गरी संस्थाको कारोबार खुला गरेको संस्थाका एक कर्मचारीले बताए ।
संस्था चरम आर्थिक संकटमा फसेपछि कारोबार नै बन्द गरेको थियो । कारोबार बन्द भएपछि सदस्यहरु आक्रोशित बनेका थिए । सदस्यहरु कार्यालयमा धर्ना दिने क्रम बढेपछि संस्थाले बाध्य भएका कारोबार खुला गरेको हो । रु १० हजार मात्र भुक्तानीको सिमा तोकेपछि सदस्यहरु थप आक्रोशित बनेका छन् ।
‘संस्था समस्यामा छैन भन्ने जानकारी हामीले पाएका छौं । तर पैसा फिर्ता दिन चाँही सकेको छैन’, आक्रोशित हुँदै एक सदस्यले भने, ‘यदी समस्यामा नभएको भए किन रकमको सिमा तोक्यो । केही बुझ्न सकिएको छैन ।’
संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँको छ। सदस्यहरूबाट उठाएको अधिकांश बचत सञ्चालकले नियमविपरित व्यक्तिगत फाइदामा चलाउँदा संस्था आर्थिक सङ्कटमा परेको हो ।
फलोअप १ : जग्गा र मिटर ब्याजले डुब्यो देउराली सहकारी
ललितपुर : सदस्यहरुबाट उठाएको बचत संस्थाका सञ्चालकले आफूखुसी लगानी गर्दा अन्ततः देउराली बहुउद्देश्यीय सहकारी संस्था डुबेको छ ।
संस्थाका अध्यक्ष र सञ्चालहरुले सहकारी ऐन, नियमावली विपरित आफूखुसी रुपमा जग्गा, अन्य व्यवसायमा लगानी गर्दा संस्था डुबेको हो । स्रोतका अनुसार संस्थाको पैसा मिटर ब्याजमा समेत लगानी गरेको पाईएको छ ।
संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईले संस्थाको पैसा आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफै चलाउने गरेको समेत संस्थाको प्रतिवेदनबाट प्रष्ट हुन्छ ।
भाडाको घरमा बसेर आफ्नै घर भनी सदस्यलाई लोभ्याउने काम संस्थाले गरेको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको हातबाट संस्थाको भवन उद्घाटन गरिएको थियो । ठुलै तामझामको बीच संस्थाको कार्यालय २०७८ कात्तिक १७ गते उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा अतिथि रहेका सम्पूर्णलाई सम्मान गरेर लोभ्याउने समेत काम भएको थियो ।
संस्थाले ६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने गरी निक्षेप संकलन गरेको थियो । संस्थाले १ वर्षे आवधिक बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । सहकारीको सन्दर्भ ब्याजदरले १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन नपाउने व्यवस्था गरेको अवस्थामा उक्त संस्थाले २२ प्रतिशतसम्म ब्याज दिनेगरी बचत उठाएको थियो ।
संस्थामा सात जनाको सञ्चालक समिति रहेको छ । सात जना मध्ये २ जना सञ्चालक विदेशमा छन् । संस्थाका केही कर्मचारी अहिले सम्पर्कविहिन बनेका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ । उक्त प्रतिवेदन अनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा देखिन्छ । नगद देखिएको उक्त रकम अध्यक्ष तथा सञ्चालकहरु आफैले चलाउने गरेको समेत यसैबाट प्रष्ट हुन्छ । अघिल्लो असारमै संस्थाको स्थिती बिजोक रहेको प्रतिवेदनले प्रष्ट देखाउँछ ।
संस्थाले २०७८ पौष २४ गते ७ औं वार्षिक साधारण सभा गरेको देखिन्छ । तर, साधारण सभामा संस्थाका सञ्चालक, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी र केही सदस्य मात्र उपस्थिती रहेको देखिन्छ । संस्था कै कार्यालयमा सम्पन्न गरेको साधारण सभामा १०० जनाको पनि उपस्थिती थिएन । तर, संस्थाको सदस्य भने २० हजारको हाराहारीमा छन् । साधारण सभा गर्न ५१ प्रतिशत सदस्यको उपस्थिती अनिवार्य हुनुपर्छ ।
२०७६/०७७ देखि संस्थाले नियामक निकायमा समेत विवरण समेत बुझाएको छैन । साधारण सभा गरे नगरेको, कति कारोबार गरिरहेको छ, संस्थाको अवस्था के छ? भन्ने विषयमा नियामक निकाय बेखबर छ ।
संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २३ करोड ५ लाख रुपैयाँ चालु पुँजी कर्जा लिएको छ । संस्थाले १ महिनादेखि उक्त कर्जाको ब्याज समेत तिरेको छैन । संस्था संकटमा परेसँगै राष्ट्रिय सहकारी बैंकको २३ करोड ५ लाख रुपैयाँ समेत उच्च जोखिममा परेको छ ।
२०७८ असार ३१ गतेसम्म संस्थाको कुल वासलात २ अर्ब ३६ करोड ३१ लाख ९२ हजार १ सय ३२ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल वासलास जम्मा १ अर्ब ४३ करोड ७१ लाख १० हजार ६ सय ६० मात्र थियो । एक वर्षको अवधिमै संस्थाले झण्डै १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीले निक्षेप संकलन गरेको देखिन्छ । हाल संस्थाको कुल वासलात ३ अर्बको हाराहारिमा रहेको बुझिएको छ ।
संस्थाको बारेमा प्रतिक्रिया लिन खोज्दा संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईले आफूहरुले कारोबार मिलाई रहेको बताउँदै समाचार नलेख्न र लेखेको समाचार डिलिट गर्न आग्रह गरे ।

यो पनि पढ्नुहोस्
देउराली बहुउद्देश्यीय सहकारी आर्थिक संकटमा, सूचना टाँसेर कारोबार बन्द
फलोअप १ : जग्गा र मिटर ब्याजले डुब्यो देउराली सहकारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
