२० भदौ २०८३, शनिवार

उच्च शिखर सहकारी फलोअपः तरलता व्यवस्थापनमा जिल्ला संघले पहल गर्ने

२०७९ असार ३, शुक्रबार
उच्च शिखर सहकारी फलोअपः तरलता व्यवस्थापनमा जिल्ला संघले पहल गर्ने

काठमाडौं : काठमाडौंको महाबौद्ध स्थित उच्च शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. (दर्ता नं. ४३१२/०७१/०७२) को विषयमा सहकारीखबरमा समाचार प्रकाशित भएसँगै काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले चासो देखाएको छ ।

संस्थाका अध्यक्षलाई संघको कार्यालयमा बोलाई संस्थाको बारेमा अपडेट लिएको हो । संस्था अहिले चरम तरलता संकटमा छ । संस्था १०/१५ हजार रुपैयाँ पनि फिर्ता गर्न सक्ने अवस्थामा छैन ।

संघले संस्थाको बारेमा आईतबार थप अध्ययन समेत गर्ने भएको छ । संस्थामा देखिएको तरलता अभावलाई संबोधन गर्न जिल्ला संघले पहल गर्ने संघका सञ्चालन तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो । ‘संस्थाका अध्यक्ष स्वंयम संघको कार्यालयमा आएर संस्थाका बारेमा जानकारी गराउनु भएको छ’, उहाँले भन्नुभयो, ‘आईतबार हामी संस्थाको कार्यालयमा गएर थप अध्ययन गर्ने छौं ।’

सदस्यहरुबाट महंगो ब्याजदरमा उठाएको पैसा जथाभावी लगानी गर्न संस्था संकटमा गएको हो । ‘तपाईको भविष्यको बलियो आधार, उच्च शिखरले बनाउँछ सपना साकार’ भन्ने नाराका साथ संचालित सहकारी हाल सदस्यलाई घरको न घाटको बनाएको छ । भविष्यको लागि भनेर खाई नखाई गरेको बचत अहिले न भविष्यको बलियो आधार भयो न सपना नै साकार बनायो ।

संस्थाले बचत फिर्ता गर्न नसकेपछि विभिन्न बहाना बनाएर सदस्यलाई चेक दिएको थियो । संस्थाका कर्मचारीले आफ्नै चेक सदस्यलाई वितरण गरे पनि साटिएको छैन । त्यस्तै नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको चेक दिएपनि साटिएको छैन । संघमा संस्थाको नाममा रहेको खातामा ३ हजार रुपैयाँ पनि पैसा नभएको स्रोतले जानकारी दियो ।

संस्थाले रकम फिर्ता नगरेको गुनासो केन्द्रीय संघमा पनि नपुगेको छैन । संस्थाको नाममा चेक आएको र खातामा पैसा नभएपछि केन्द्रीय संघका प्रतिनिधिले सञ्चालक तथा कर्मचारीलाई सम्पर्कको धेरै प्रयास गर्यो तर सम्पर्क नभएपछि संघका प्रतिनिधि कार्यालयमै गएको थियो । तर, कार्यालय भने बन्द थियो । कार्यालयमा सूचना टाँस गरी कार्यालय बन्द गरेको जानकारी गराएको थियो ।

सहकारीखबरमा समाचार प्रकाशित भएसँगै संस्थाका अध्यक्ष आफै जिल्ला संघको कार्यालयसम्म पुगेको हो ।

अभिलेख

लोकप्रिय