फलोअप १ : जग्गा र मिटर ब्याजले डुब्यो देउराली सहकारी
ललितपुर : सदस्यहरुबाट उठाएको बचत संस्थाका सञ्चालकले आफूखुसी लगानी गर्दा अन्ततः देउराली बहुउद्देश्यीय सहकारी संस्था डुबेको छ ।
संस्थाका अध्यक्ष र सञ्चालहरुले सहकारी ऐन, नियमावली विपरित आफूखुसी रुपमा जग्गा, अन्य व्यवसायमा लगानी गर्दा संस्था डुबेको हो । स्रोतका अनुसार संस्थाको पैसा मिटर ब्याजमा समेत लगानी गरेको पाईएको छ ।
संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईले संस्थाको पैसा आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफै चलाउने गरेको समेत संस्थाको प्रतिवेदनबाट प्रष्ट हुन्छ ।
भाडाको घरमा बसेर आफ्नै घर भनी सदस्यलाई लोभ्याउने काम संस्थाले गरेको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको हातबाट संस्थाको भवन उद्घाटन गरिएको थियो । ठुलै तामझामको बीच संस्थाको कार्यालय २०७८ कात्तिक १७ गते उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा अतिथि रहेका सम्पूर्णलाई सम्मान गरेर लोभ्याउने समेत काम भएको थियो ।
संस्थाले ६ महिने आवधिक बचतमा १६ प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्ने गरी निक्षेप संकलन गरेको थियो । संस्थाले १ वर्षे आवधिक बचतमै २२ प्रतिशतसम्म ब्याजदर दिनेगरी बचत उठाएको थियो । सहकारीको सन्दर्भ ब्याजदरले १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन नपाउने व्यवस्था गरेको अवस्थामा उक्त संस्थाले २२ प्रतिशतसम्म ब्याज दिनेगरी बचत उठाएको थियो ।
संस्थामा सात जनाको सञ्चालक समिति रहेको छ । सात जना मध्ये २ जना सञ्चालक विदेशमा छन् । संस्थाका केही कर्मचारी अहिले सम्पर्कविहिन बनेका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १३ करोड १७ लाख ४९ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा ३३ लाख २५ हजार रुपैयाँ छ । उक्त प्रतिवेदन अनुसार ८ करोड ४५ लाख ७६ हजार ९ सय १३ रुपैयाँ नगद र २० लाख ३१ हजार १ सय ७ रुपैयाँ बैंकमा देखिन्छ । नगद देखिएको उक्त रकम अध्यक्ष तथा सञ्चालकहरु आफैले चलाउने गरेको समेत यसैबाट प्रष्ट हुन्छ । अघिल्लो असारमै संस्थाको स्थिती बिजोक रहेको प्रतिवेदनले प्रष्ट देखाउँछ ।
संस्थाले २०७८ पौष २४ गते ७ औं वार्षिक साधारण सभा गरेको देखिन्छ । तर, साधारण सभामा संस्थाका सञ्चालक, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी र केही सदस्य मात्र उपस्थिती रहेको देखिन्छ । संस्था कै कार्यालयमा सम्पन्न गरेको साधारण सभामा १०० जनाको पनि उपस्थिती थिएन । तर, संस्थाको सदस्य भने २० हजारको हाराहारीमा छन् । साधारण सभा गर्न ५१ प्रतिशत सदस्यको उपस्थिती अनिवार्य हुनुपर्छ ।
२०७६/०७७ देखि संस्थाले नियामक निकायमा समेत विवरण समेत बुझाएको छैन । साधारण सभा गरे नगरेको, कति कारोबार गरिरहेको छ, संस्थाको अवस्था के छ? भन्ने विषयमा नियामक निकाय बेखबर छ ।
संस्थाले राष्ट्रिय सहकारी बैंकबाट २३ करोड ५ लाख रुपैयाँ चालु पुँजी कर्जा लिएको छ । संस्थाले १ महिनादेखि उक्त कर्जाको ब्याज समेत तिरेको छैन । संस्था संकटमा परेसँगै राष्ट्रिय सहकारी बैंकको २३ करोड ५ लाख रुपैयाँ समेत उच्च जोखिममा परेको छ ।
२०७८ असार ३१ गतेसम्म संस्थाको कुल वासलात २ अर्ब ३६ करोड ३१ लाख ९२ हजार १ सय ३२ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल वासलास जम्मा १ अर्ब ४३ करोड ७१ लाख १० हजार ६ सय ६० मात्र थियो । एक वर्षको अवधिमै संस्थाले झण्डै १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीले निक्षेप संकलन गरेको देखिन्छ । हाल संस्थाको कुल वासलात ३ अर्बको हाराहारिमा रहेको बुझिएको छ ।
संस्थाको बारेमा प्रतिक्रिया लिन खोज्दा संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईले आफूहरुले कारोबार मिलाई रहेको बताउँदै समाचार नलेख्न र लेखेको समाचार डिलिट गर्न आग्रह गरे ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार