२० भदौ २०८३, शनिवार

साकोस शिखर गोष्ठीः सहकारीको रोजगारी भरपर्दो र मर्यादित हुन सकेन

२०७९ जेठ ३०, सोमबार
साकोस शिखर गोष्ठीः सहकारीको रोजगारी भरपर्दो र मर्यादित हुन सकेन

काठमाडौं : श्रम ऐन, नियमावली तथा सामाजिक सुरक्षा क्षेत्रका सेवा सुविधा तथा पारिश्रमिक सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीले पाउन नसकेको बताईएको छ । सोही कारण सहकारी क्षेत्रको रोजगारी भरपर्दो र मर्यादित समेत हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बताउनुभएको छ ।

आज (आईतबार) बाट काठमाडौंमा सुरु भएको चौथो साकोस शिखर गोष्ठी-२०७९ मा कार्यपत्र प्रस्तुत गर्नुहुँदै थपलियाले दिगो विकास लक्ष्य प्राप्त गर्न पनि श्रम मर्यादित हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।

‘मर्यादित काम र दिगो आर्थिक विकास’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै थपलियाले कर्मचारीले पाउनुपर्ने परिश्रमिक न्यून हुँदा रोजगारी केका लागि? भन्ने प्रश्न उठेको बताउनुभयो । ‘सहकारी क्षेत्रमा श्रम अडिट समेत हुन सकेको छैन’, उहाँले भन्नुभयो । आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा दैनिक १ हजार ५ सय युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउँदै थपलियाले सहकारीले रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँ रहे पनि सहकारीबाट अपेक्षाकृत रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो ।

शिक्षण संस्थाबाट बेरोजगार उत्पादन भएको भन्दै रजिष्ट्रार थपलियाले सहकारी र उद्योगसँग सहकार्य गरेर आवश्यक जनशक्ति तयार गरिनुपर्ने बताउनुभयो । सहकारीले सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्न ध्यान नदिएको समेत उहाँले गुनासो गर्नुभयो ।

कार्यपत्रमा टिप्पणी गर्दै डा. नरेन्द्र राज पौडेलले सहकारी आफैमा मर्यादित हुन नसकेको बताउनुभयो । च्याउसरी उमे्रका सहकारीले समस्या सिर्जना गरेको समेत उहाँको भनाई थियो । ‘भोको पेटको सहकारीबाट आर्थिक सम्मृद्धि हासिल गर्न सकिन्न’, उहाँले भन्नुभयो । श्रम शोषण हुँदा युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उहाँको भनाई थियो । यान्त्रिक विधिबाट मात्रै मर्यादित पेशा हुन नसक्ने उहाँको दाबी थियो ।

त्यस्तै अर्का टिप्पणीकर्ता नेपाल कृृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले सदस्य तथा कर्मचारीको जीवनस्तर सुधार गरेको बताउनुभयो । ‘सहकारीले गरेको राम्रो कामको प्रचार प्रसार हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘सहकारीले राउटे, वन करियाजस्ता समुदायको उत्थान गरेको छ ।’ सहकारीमार्फत उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरण गरी आर्थिक सम्मृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले अध्यक्षता गरेको सत्रमा सहकारीकर्मी अनिता कोइराला, सरु राणा, भेषराज बडालगायतले सहकारीमा मर्यादित श्रम र यसबाट आर्थिक सम्मृद्धि हासिल खासै हुन नसकेको गुनासो गर्नुभयो ।

युवाहरु रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान बाध्य भएको र उद्योग तथा सहकारीले दक्ष जनशक्ति नपाएको भन्दै रजिष्ट्रार थपलियाले विश्वविद्यालयले सहकारी, उद्योगलाई चाहिने जनशक्ति उत्पादन गर्न क्रियाशील रहेको बताउनुभयो ।

अभिलेख

लोकप्रिय